कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

चुरे चढ्दै ‘बाजेको पेडा’ 

चतरा, सुनसरी — रुपेशकुमार साहको भव्य पेडा पसल थियो, सप्तरीको बरमझिया क्षेत्रमा । विगत डेढ दशकदेखि साह परिवारले पेडा पसल चलाएरै मनग्ये आम्दानी पनि गरेको थियो । कोभिड महामारीताका लामै समय पसल बन्द गर्दा धेरै घाटा ब्योहोर्नु पर्‍यो, जसरी अन्य व्यवसायीहरुले ब्योहोरे । 

चुरे चढ्दै ‘बाजेको पेडा’ 

कोभिड लगत्तै पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गतको कञ्चनपुर–कमला सडक निर्माण आयोजना सुरू भयो । चाइना रेल्वे नम्बर-२ इन्जिनियरिङ कम्पनीले १५ अर्ब ६६ करोडमा ठेक्का लिएको कञ्चनपुर–कमला सडक २०८० कात्तिक ११ भित्र निर्माण सकिसक्नुपर्ने सम्झौता थियो । तर, अहिलेसम्म आधा पनि काम सकिएको छैन ।

यो सडक समृद्धिले साह परिवारलाई भने विस्थापित गर्‍यो । लथालिंग सडक, धुलो लगायतका समस्याले साह परिवार दसौं वर्षदेखि गर्दै आएको व्यवसाय बन्द गरेर धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली सडक उक्लिएको छ । अर्थात मधेश छाडेर चुरे उक्लिएको छ । ‘विगत १० महिना यता हामी चतरा तिरै छौं’, साहले कान्तिपुरसँग भने,‘हामीलाई एउटा विकासले लखेट्यो, अर्कोले स्वीकार्‍यो ।’

२०७४ बाट निर्माण सुरू भएको धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली सडकमा दुई वर्षयता चहलपहल बढ्दो छ । २०६५ मा कोशीमा बाढी आएपछि यो सडकलाई सरकारले पूर्वपश्चिम राजमार्गको विकल्पको रुपमा अघि सारेको थियो । काठमाडौंबाट–सिन्धुली बीपी राजमार्ग भएर गुड्ने अधिकांश साना ठूला सवारीले अहिले यही बाटो प्रयोग गर्छन् । जसले पेडा व्यापारसँगै अन्य व्यापारतिर पनि चहलपहल बढाएको छ ।

साह परिवारझैं बरमझियाका धेरै पेडा पसले यतिबेला चतरा पुल नजिकै राजमार्ग किनारमा केन्द्रित भएका छन् । उहि लोकप्रिय ‘बाजेको पेडा’ पसल थापेर बसेका छन् । जसरी पूर्व–पश्चिम राजमार्गको बरमझियामा उनीहरु ग्राहकको पर्खाइमा हुन्थे । वर्षौं पहिले सप्तरीका वैजनाथ साहले पहिलोपटक पेडा पसल सुरु गरेका थिए । त्यो यति लोकप्रिय भयो कि, उनको शेषपछि सयौं यस्ता पसलहरु खुलेका थिए । ती पसलहरु अहिले धमाधम चुरेतिर सर्न थालेका छन् ।

‘उता भन्दा यता बिक्री बढी हुन थालेको छ’, अर्का पसले मनोजकुमार साहले खुसी हुँदै सुनाए,‘उता त बेहाल छ । बाटो बन्दैछ । गाडीका यात्रुहरु ननिस्किएपछि कसरी हुन्छ व्यापार ?’ मनोजकुमार गत दसैं ताका नै चतरा सडक खण्डतिर सरेका हुन् । ‘यतातिर अलि राम्रो व्यापार छ । त्यताभन्दा ठीक छ’, मनोजकुमारले भने,‘यता गाडीको आउजाउ पनि बढी नै छ । ग्राहक पनि धेरै आइरहेका छन् पेडा किन्न ।’

मनोजले चाहीँ रुपेशले झैं बरमझियाको पसल पुरै बन्द गरेका छैनन् । त्यता दाईलाई छाडेर उनी यता सरेका हुन् ।

मनोजकाअनुसार बरमझिया क्षेत्रका अधिकांश पेडा पसलहरु क्रमशः यता सर्दैछन् । जसले त्यो क्षेत्रको रौनकता नै हराउन थालेको छ । ‘विगतमा सय डेढ सय पसलहरु थिए’, उनी थप्छन्,‘अहिले ५० हाराहारी मात्रै त्यता छन्, अरु सबै चतरा र बेल्टार क्षेत्रतिर उक्लिएका छन् ।’

चतरा र बेल्टारमा उदयपुरको रामपुर क्षेत्रबाट दूध आपूर्ति हुन्छ । बरमझियामा पनि रामपुरतिरैबाट दूध जान्थ्यो । दूधलाई पकाएर बनाइने स्वादिलो पेडा प्रति किलो ८ सय रुपैयाँका दरले बिक्री भइरहेको छ । ‘अहिले त हामीलाई रामपुरको दूधले पुगिरहेको छ, केही समयपछि भने दूधले नपुग्ने अवस्था पनि आउन सक्छ’, अर्का व्यापारी हरेराम साहले सुनाए,‘पसलहरु थपिएका थपियै छन् । जसले दूध खपत पनि बढाइरहेको छ ।’

सप्तरीको पसल छाडेर चतरामै परिवारसहित पेडा वेच्न वसेकी किरणदेवी गुप्ताका अनुसार अहिले दैनिकी १० किलो दूध खपत भइरहेको छ । अन्य पसलेले पनि १०,१५ किलोका दरले दूध खपत गर्दा चतरा क्षेत्रका पेडा पसलमा मात्रै २ सय किलो भन्दा वढी दूध दैनिक खपत भइरहेको छ ।

उनका अनुसार पेडा दूधबाट बन्छ । कम्तिमा ५ घन्टा जति दूध तताएर बाक्लो बनाएपछि चिनी चिनी हालिन्छ । त्यसलाई थप ताप दिएर सुकाइन्छ । यसरी बनेको दूधको खुवालाई हातले डल्लो पारेर पेडा बनाइन्छ । ‘पेडामा दूध र चिनी वाहेक अरु केही पनि मिसावट गरिदैन’, किरणदेवीले दाबी गरिन्,‘त्यही भएर ग्राहकले पेडालाई मिठो मानेर खान्छन् ।’

प्रकाशित : असार ७, २०८१ १५:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

x
×