कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२
अन्वेषण

एनभिडिया बन्यो विश्वकै मूल्यवान कम्पनी

सन् १९९० को दशकमा डट कम बुम आउँदादेखि नै पटक–पटक विश्वकै मूल्यवान् कम्पनी बन्दै आएको माइक्रोसफ्टजस्तो ‘हेभीवेट’ लाई समेत उछिनेर एनभिडिया अग्रपंक्तिमा आएको हो, यसले गुगल, एप्पल, अमेजन, टेस्लाजस्ता ‘जायन्ट’ कम्पनीलाई यसअघि नै पछि पारिसकेको थियो
सजना बराल

काठमाडौँ — विश्व सूचना प्रविधिको क्षेत्रमा अहिले दुई विषय निकै चर्चामा छन्– पहिलो, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र दोस्रो एनभिडिया । यी दुवै आपसमा सम्बन्धित पनि छन् । एआईको उछालले एनभिडियाको बजार अकासिएको छ । विश्वभर एआईको तरंग ल्याउन एनभिडियाका ग्राफिक्स प्रोसेसिङ युनिट (जीपीयू) र ‘कुडा’ प्रोग्रामिङ ल्यांग्वेजजस्ता हार्डवेयर तथा सफ्टवेयरले महत्त्वपूर्ण भूमिका खेलेका छन् । 

एनभिडिया बन्यो विश्वकै मूल्यवान कम्पनी

सन् १९९० को डट कम बुमपछि अहिले प्रविधि क्षेत्रमा एआई बुमको अपेक्षा गरिएको छ । एनभिडियाले चाहीँ अहिले नै आफ्नो बजारमा बुम (द्रुत वृद्धि) अनुभूत गरिसकेको देखिन्छ । यो साता पहिलोपटक एनभिडिया विश्वकै सबैभन्दा मूल्यवान् कम्पनी बन्न सफल भयो । सन् ९० को दशकमा डट कम बुम आउँदादेखि नै पटक–पटक विश्वकै मूल्यवान् कम्पनी बन्दै आएको माइक्रोसफ्टजस्तो ‘हेभीवेट’ लाई समेत उछिनेर एनभिडिया विश्वका मूल्यवान् सार्वजनिक कम्पनीहरूको अग्रपंक्तिमा आएको हो ।

गुगल, एप्पल, अमेजन, टेस्लाजस्ता ‘जायन्ट’ कम्पनीलाई एनभिडियाले यसअघि नै पछि पारिसकेको थियो । मंगलबार कुल बजार आकार (पुँजीकरण) मा पहिलो पटक संसारको सबैभन्दा मूल्यवान् कम्पनी बन्दा एभिडियाको प्रतिसेयर मूल्य ३.५ प्रतिशतले बढेर १३६ डलर पुगेको थियो भने यसको कुल बजार आकार ३.३३५ ट्रिलियन (३३ खर्ब ३५ अर्ब) डलर थियो । बिहीबार यो सामग्री तयार गर्दासम्म एनभिडिया पहिलो स्थानमै कारोबार भइरहेको थियो । कम्पनीको आय ४९.१४ अर्ब डलर पुगेको छ ।

यसअघि कुनै न कुनै रूपले विश्वभरका आममानिसको दैनिक जीवनसँग जोडिएका वा सर्वसाधारणले सुनिआएका माइक्रोसफ्ट, एप्पल, कोकाकोला, जेनेरल मोटर्स, पेप्सिको, मेटा, टेस्लाजस्ता ब्रान्ड विश्वको सबैभन्दा मूल्यावान् कम्पनीको माथिल्लो सूचीमा रहँदै आएका थिए । यसपटक त्यति नसुनिएको र एक/दुई वर्षअघिसम्म व्यावसायिक रूपमा खासै दृश्यमा नदेखिको एनभिडिया एकाएक चर्चाको शिखरमा पुगेको छ । धेरैलाई एनभिडिया के हो, यसले खास के काम गर्छ भन्ने स्पष्ट थाहा छैन । कतिले त एनभिडिया शुद्धसँग उच्चारणसमेत गर्न जानिसकेका छैनन् । तथापि, द्रुत गतिमा कम्पनीको बजार बढिरहँदा यसप्रति सर्वत्र चासो छ ।

कम्पनीका सहसंस्थापक एवं अध्यक्ष जेनसेन हुआङ अहिले प्रविधि दुनियाँका विख्यात सेलेब्रिटी बनेका छन् । उनलाई बीबीसीले ‘प्रविधि क्षेत्रको टेलर स्विफ्ट’ घोषित गर्दै केही समयअघि समाचार प्रकाशित गरेको थियो । टेलरले मनोरञ्जन दुनियाँमा साँच्चैको ‘भूकम्प’ ल्याएझैं हुआङले पनि प्रविधि दुनियाँलाई व्यापक चलायमान बनाएका छन् । हुआङ जहाँ पुग्छन्, त्यहाँको भीड उनीप्रति उल्लासमय ढंगले झुम्मिन आउँछ । उनीसँग सेल्फी र अटोग्राफ लिनेको लर्को लाग्छ । कुनै रकस्टारको जस्तो प्रशंसक बटुलेका यी ६१ वर्षीय इलेक्ट्रिकल इन्जिनियर, हुआङले आफ्नो लोकप्रियतालाई एनभिडियाकै प्रवर्द्धनमा लगाइरहेको प्रविधि विश्लेषक बब ओडनेलले बीबीसीसँग बताएका छन् ।

कम्प्युटरको ग्राफिक्स प्रोसेसिङ युनिट वा चिप डिजाइनमा विश्वकै अग्रणी कम्पनीका रूपमा एनभिडियाको उदय भएसँगै यसका प्रमुख हुआङको लोकप्रियता चुलिएको हो । अक्सर कालो छालाको ज्याकेट र कालै टिसर्ट–जिन्समा देखिने ताइवानी मूलका यी अमेरिकी टेक–टाइकुन एआई क्षेत्रका विशेष हस्ती कहलिन थालेका छन् । ताइवान सरकारले उनीप्रति गर्व गर्दै एनभिडियालाई ताइवानमा व्यवसाय सञ्चालनका लागि विशेष सहजीकरणको गरिदिएको छ । एनभिडियाले आफ्ना उन्नत एआई चिप उत्पादनकर्ताका रूपमा सुरुदेखि नै ताइवानको प्रख्यात चिप निर्माता कम्पनी, टीएसएमसीलाई रोजेको छ ।

हुआङ वर्तमान एआई क्रान्तिलाई विगतको औद्योगिक क्रान्तिसँग समानान्तर जोडेर व्याख्या गर्छन् । परम्परागत औद्योगिक कारखानामा कच्चा पदार्थ प्रशोधन गरेर मूल्यवान् उत्पादन तयार पारेझैं अहिले डेटा सेन्टरमा डेटा र विद्युत्को सहयोगमा एआई प्रविधि विकास गरिने उनको भनाइ छ । डेटा सेन्टरलाई उनले एआई कारखानाका रूपमा परिभाषित गर्दै आएका छन् । हुआङका अनुसार अबका दिनमा नयाँ प्रविधि निर्माण गर्न चाहने सरकार र निजी क्षेत्रका कम्पनीहरूले डेटा सेन्टरको स्तरोन्तिमा मनग्गे लगानी गर्नुपर्छ ।

‘अर्को औद्योगिक क्रान्ति सुरु भइसकेको छ,’ अघिल्लो महिना कम्पनीको पछिल्लो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने क्रममा हुआङले भनेका थिए, ‘खर्बौं डलरको आधारभूत लगानीमा स्थापना भएका परम्परागत डेटा सेन्टरहरूलाई द्रुत गतिको कम्प्युटिङ प्रणालीमा रूपान्तरण गर्नुका साथै नयाँ किसिमका डेटा सेन्टर, एआई कारखाना र आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि विकास गर्न विश्वभरका कम्पनी र सरकारहरू एनभिडियासँग साझेदारी गरिरहेका छन् ।’ पाँच वर्षअघि ४ अर्ब डलर कुल सम्पत्तिसहित विश्वको ५४६ औं धनी व्यक्ति रहेका हुआङ अहिले ११८.७ अर्ब डलर कुल सम्पत्तिसहित ११ औं धनी व्यक्ति बनेका छन् ।

रोचक कुराचाहिँ हुआङसगै एनभिडियाका अन्य सेयरधनीहरूको कुल सम्पत्ति पछिल्लो एक महिनामै ३६ अर्ब डलरले बढेको छ । कम्पनीका प्रमुख वित्तीय अधिकृत कोलेट क्रेस, सल्लाहकार टिम टिटर र अन्य चार स्वतन्त्र बोर्ड सदस्य पनि एनभिडियाको सेयर मूल्यमा आएको उछालबाट सबैभन्दा बढी लाभान्वित बनेका छन् । बोर्ड सदस्य मार्क स्टेभेन्स, टेन्च कोस्क, हार्भे जोन्सलगायतको सम्पत्ति १० अर्ब डलरभन्दा बढी पुगेको छ । सेमिकन्डक्टर चिप निर्माणका क्रममा सन् ११९३ देखि १९९७ को अवधिमा तीन पटक टाट पल्टिने अवस्थाबाट गुज्रिएको एनभिडिया आखिर को हो, के गर्छ, किन यसको सेयर मूल्य र कारोबार संख्या यसरी अकासिएको हो ? कम्पनीका सदस्य कसरी अर्बपति बन्न पुगे ? यसबारे चर्चा गरौं ।

एनभिडियाले मुख्यतः दुई क्षेत्रमा काम गर्छ । पहिलो, यसले गेमिङ कम्प्युटर र भिडियो सम्पादन, थ्रीडी डिजाइनजस्ता व्यावसायिक प्रयोजनलाई आवश्यक पर्ने शक्तिशाली जिफोर्स ग्राफिक प्रोसेसिङ युनिट (जीपीयू) अर्थात् सेमिकन्डक्टर चिप उत्पादन गर्छ । दोस्रो, एआई एप्लिकेसन बनाउन प्रयोग हुने कुडा ल्यांग्वेज मोडल र टेन्सरआरटीजस्ता सफ्टवेयर डिभलप्मेन्ट टुल एनभिडियाले विकास गर्छ । एनभिडियाका एआई प्रोसेसरहरू अत्याधुनिक डेटा सेन्टरमा एआईसम्बन्धी जटिल प्रक्रिया द्रुत गतिमा अघि बढाउन पनि विशेष रूपमा प्रयोग हुन्छन् ।

सन् २००० को सुरुमा विश्वको पहिलो जीपीपू विकास गरेसँगै एनभिडियाको बजार मौलाउन थालेको थियो । सुरुवाती दिनमा भिडियो गेमहरूको इमेज रेन्डर गर्ने प्रयोजनमा सो जीपीयू चर्चित बन्यो । व्यावसायिक र शैक्षिक क्षेत्रका एआई अनुसन्धानकर्ताहरूले उक्त जीपीयू न्युरल नेटवर्क (एआई विकासको प्रारम्भिक आधार) विकास गर्नेदेखि सुपरकम्प्युटर निर्माणमा प्रयोग गर्न थाले । ‘यो कुरा थाहा पाएपछि नै एनभिडियाले बजार तयार नहुँदै एआई कम्प्युटिङमा बाजी लगाउने निर्णय गरेको थियो,’ फोर्ब्सले लेखेको छ, ‘त्यही जोखिम मोलेको हुनाले नै अहिले एनभिडियालाई फलिफाप भएको हो ।’

सन् १९९३ मा हुआङ, क्रिस मालाचोवक्सी र कर्टिस प्रिम गरी ३ जना इन्जिनियरहरूले समय क्रममा कम्प्युटरहरूलाई जटिल किसिमका ग्राफिक्स प्रोसेस गर्न सक्ने बनाउनुपर्छ भन्ने भिजनका साथ एनभिडिया स्थापना गरेका थिए । एनभी अर्थात् नेक्स्ट भर्सन र इन्भिडिया अर्थात् ल्याटिन भाषामा ईर्ष्या शब्द जोडेर एनभिडिया बनाइएको हुआङले बताउँदै आएका छन् । सन् १९९९ मा एनभिडियाले विश्वको पहिलो प्रोग्रामेबल जीपीयू, जिफोर्स–२५६ सार्वजनिक गरेको थियो । त्यो बेला पर्सनल कम्प्युटर गेमिङ बजार माथि उठिरहेकाले उच्च रिजोलुसनसहितको भिजिअलका लागि गेमरहरूमाझ जीफोर्स २५६ औधी लोकप्रिय बन्यो ।

सन् २००० मा माइक्रोसफ्टको एक्सबक्स गेमिङ कन्सोल बनाउने अवसर पाएपछि कम्पनी आर्थिक रूपमा थप मजबुत बनेको थियो । अझै पनि ग्राफिक कार्ड बजारमा यसको एकाधिकारसरह छ । यो कम्पनी भिडियो गेमहरू लगायत जटिल डिजिटल ग्राफिक्समा विश्वव्यापी रूपमा प्रयोग हुने जीपीयूको प्रमुख निर्माता हो ।

लामो समय भिडियो गेमहरू र एनिमेसनलगायतमा आफूलाई केन्द्रित राखेको भए पनि सन् २०१० पछि जब रिसर्चरहरूले एनभिडियाको जीपीयू एआई विकासमा प्रयोग गर्न थाले, कम्पनीले एआई एप्लिकेसनकै लाग भनेर जीपीपू डिजाइन गर्न थाल्यो । एनभिडियाको अहिलेको उछाल एआई प्रविधि र प्लाटफर्महरूप्रतिको विश्वव्यापी आकर्षणले नै ल्याएको हो । सन् २०१७ मा रिलिज गरिएको एनभिडियाको टेन्सर कोर आर्किटेक्चरलाई एआईको हार्डवेयरतर्फको पाटोमा ‘गेम–चेन्जर’ का रूपमा लिने गरिन्छ । यसले डेटा सेन्टर, स्वचालित सवारी साधान, साइन्टिफिक कम्प्युटिङजस्ता क्षेत्रमा एनभिडियाका लागि नयाा बजार खुला गरिदिएको छ ।

गुगल पाल्म–२, च्याट जीपीटी–४ लगायत लार्ज ल्यांग्वेज मोडलमा आधारित कम्पनीहरूसँगै एआई तस्बिर र भिडियो जेनेरेटिङसम्बन्धी अनेकौं एआई प्लाटफर्महरूले ठूलो आकारको डेटाबेस र ग्राफिक्सहरू व्यवस्थापन गर्न एनभिडियाको जीपीयू प्रयोग गर्न थालेपछि यो कम्पनीको पनि बजार फस्टाएको हो । सन् २०१६ यता स्थिर तवरले आफ्नो एआई बजार विस्तार गर्दै आएको एनभिडियाले सो वर्ष टेस्ला पी १०० जीपीयू, २०१८ मा डिप लर्निङमा प्रयोग हुने भोल्टा जीपीयू आर्किटेक्चर र सन् २०२० मा अहिले धेरैजसो एआई प्लाटफर्मले प्रयोग गर्ने एम्पियर जीपीयू आर्किटेक्चर सार्वजनिक गरेको थियो । पछिल्लो प्रविधिको घोषणापछि यो कम्पनी एआईको उन्नतिबाट सबैभन्दा लाभान्वित कम्पनी बन्न सफल भएको हो ।

एआई प्रविधिको दौडमा को अगाडि रहने भन्ने विषय गएको एक वर्षयता सधैंभरि चर्चामा रहँदै आएको छ । ती सबै चर्चाको प्रत्यक्ष फाइदा एनभिडियाले भरपुर उठाएको छ । गत मार्चमा आयोजित एआई कन्फेरेन्समा ओपनएआई र गुगलका पूर्वइन्जिनियर तथा एआई स्टार्टअप एडेप्ट ल्याबका सह–संस्थापक डेभिड लुआनले एनभिडियाका प्रमुख हुआङतर्फ संकेत गर्दै भनेका थिए, ‘तपाईंहरू जो पनि एआईको नयाँ सोच लिएर आउनुभएको छ, आफ्नो व्यावसायिक सफलता चाहनुहुन्छ भने जेन्सेनलाई चेक पठाउन सुरु गरिहाल्नुस् ।’ प्रतिगोटा १० हजार डलरदेखि ८ थानको एक सेटको ३ लाख डलरसम्म पर्ने एनभिडियाका यी एडभान्स्ड चिपहरू प्रविधि कम्पनीहरूले हजारौंको संख्यामा किन्ने गरेका छन् । त्यसको ९५ प्रतिशतसम्मको बजार हिस्सा एनभिडियाले ओगटेको छ ।

बिजनेस इन्साइडरको एक रिपोर्टअनुसार आफ्ना नयाँ एआई स्टार्टअपका लागि गएको अप्रिल महिनामा मात्रै प्रविधि कम्पनीहरूले १० हजार यस्ता चिप खरिद गरेका थिए । अमेजन वेब सर्भिस, अल्फाबेट, माइक्रोसफ्ट, मेटा, टेस्लालगायत सबैजसो ठूला टेक कम्पनीको जीपीयूलगायत अन्य चिपको प्रमुख निर्माता बन्न सफल एनभिडिया आगामी दिनमा अझै फस्टाउने एकथरीको विश्लेषण छ । सिलिकन भ्यालीमा एक–अर्काका सामान खरिद गर्नेदेखि साझेदारीका विषयमा अघोषित गुटबन्दी गर्दै आएका कम्पनीहरूले एनभिडियाको सन्दर्भमा भने विकल्प पाइरहेका छैनन् । एआईमा छलाङ मार्न सबैले एभिडियासँगै सामान किन्नुपर्ने अहिलको अवस्था छ । सबैलाई घुर्की लाउँदै र आलोचना गर्दै हिँड्ने इलन मस्कले समेत एनभिडियासँगै सामग्री किन्छन् ।

तथापि, बजारमा एकाधिकार त्यति रुचाइने विषय होइन । एआई उद्योगमा विशेषतः एनभिडियाको प्रभुत्वलाई लिएर अमेरिकी नियामकहरूले अनुगमन गर्ने चर्चा चलिरहेको छ । बीबीसीसँगको कुराकानीमा प्रविधि विश्लेषक बब ओडनेलले एएमडी, इन्टेलजस्ता कम्पनीहरू पनि एआई बजारमा आक्रमक ढंगले आइरहेका हुँदा एनभिडियाले आगामी दिनमा निकै तेजिलो प्रतिश्पर्धात्मक वातावरण सामाना गर्नुपर्ने धारणा राखेका छन् । ‘कुनै पनि उद्योगले एकाधिकार मन पराउँदैन,’ उनले भनेका छन्, ‘एनभिडियाको ठूलो बजार आकार छ तर अन्य प्रतिस्पर्धीहरू पनि सँगै माथि आइरहेकाले अबको दिनमा व्यापक चुनौती थपिनेवाला छ ।’

एनभिडियाका उत्पादनहरूको माग बढेपछि पछिल्ला वर्षहरूमा यसको बिक्री र मुनाफा पनि स्वाट्टै उकालो लागेको भए पनि कतिपय लगानीकर्ताहरूले सेयरको उच्च मूल्यांकनमा प्रश्न उठाउन थालेका छन् । सन् २०२३ को पहिलो त्रैमासिकयता झन्डै १८६ प्रतिशतले कमाइ बढाएको यो कम्पनीले अहिले ऊर्जा, क्लाउड र थप नयाँ हार्डवेयर उत्पादन व्यवसायमा हात हालेर आफूले भविष्यमा लगानीको विविधीकरण गर्ने जनाउ त दिएको छ तर एनभिडियाकै प्रमुख ग्राहकहरू कम्पनीका प्रतिस्पर्धी बन्ने स्थिति देखापरेको छ ।

अहिलेसम्मको अवस्थामा एआईमा ठूलो लगानी खन्याएका मुख्य प्रविधि कम्पनीहरू सबैले एनभिडियालाई रिझाउने रणनीति लिएका छन् । सबैसँग मुखामुख गर्ने टेस्ला मालिक मस्कले समेत चिपको मामिलामा बोल्ने गरेका छैनन् । तर, अमेरिकी सरकारले अध्यादेश ल्याएर र जापान, चीन, युरोपेली संघका कतिपय देशले उन्नत चिप प्रविधिमा बढाएको लगानीका कारण एकाधिकार लामो समया नरहने संकेत देखापरेको बिजनेस इन्साइडरको आँकलन छ ।

एनभिडियाको झन्डै–झन्डै एकाधिकारमा कानूनी उल्झन पनि सुरु हुन थालेको देखिन्छ । पोलिटिकोका अनुसार अमेरिकी न्याय मन्त्रालयले एनभिडियाको पछिल्लो उछालले प्रतिस्पर्धाविरोधी कानून उल्लंघन त गरेको छैन भन्ने विषयमा अनुसन्धान गर्ने संकेत दिएको छ ।

एक ताइवानी अमेरिकीले स्थापना गरेको कम्पनी भएका कारण चीन र रूसले एनभिडियाको बजारलाई कसरी हेर्छन् र भविष्यमा आउने नीतिले नै कम्पनीको आगामी वृद्धिदर कता जान्छ भन्ने छिनोफानो हुने देखिन्छ । तर, प्रविधि बजार बुझेकाहरूले एनभिडियाको आगामी दिशा नवप्रवर्तन, बजार विस्तार र एआई प्रविधिको क्षेत्रमा आउने नयाँ मागबीचको सन्तुलन कायम राख्नुमा रहने याहु फाइनान्सको निष्कर्ष छ ।

प्रकाशित : असार ७, २०८१ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×