छोरीलाई बाटो देखाउने निरक्षर रणकुमारी

‘छोरीलाई पढाएर आँखा देख्ने बनाउनुपर्छ भन्ने आमाको सोचकै कारण म यहाँसम्म आइपुगें । आमाको सोच दूरगामी थियो,’ रामकुमारी भन्छिन्, ‘आमाले पनि २० औं पटक प्रौढ शिक्षा पढ्नुभयो तर कहिल्यै अक्षर चिन्नुभएन ।’

असार ४, २०८१

दीपक सापकोटा

An illiterate Rankumari who shows the way to her daughter

काठमाडौँ — आफू हुर्के–बढेको गाउँको जंगल, गोरेटोमा समयको कथा ढुकेर बसेकी आमा सम्झिँदा रामकुमारीलाई यस्तो लाग्छ– आमा एक विशाल बटवृक्ष हुन्, जसको छहारीमा सन्तानले सुखभोग गरे । सर्लक्कै फेरिएको कालजमानाको साक्षी बसेकी छन्– रणकुमारी झाँक्रीमगर (८३) । बेग्लै संसारबाट अर्को संसारमा प्रविष्ट भएझैं लाग्छ उनलाई । १९ नातिनातिना, दर्जन पनाति–पनातिना, ७ छोराछोरीले घेरिएकी रणकुमारी वर्तमान देखेर विस्मित छिन्, समयको बदलावले झन् आश्चर्यचकित । 

‘उबेला शौच–कर्म गर्न रातबिरात डरैडरमा जंगल–पाखामा जानुपर्थ्यो, अहिले घरैभित्र शौचालय छ । उबेला खरानीले भाँडा माझ्नुपर्थ्यो, अहिले साबुन छ,’ नाकमा बुलाकी, कानमा ढुंग्री, घाँटीमा रातो पोते लगाएकी र टाउकामा मजेत्रो ओढेकी रणकुमारी भन्छिन्, ‘यी साना–साना कुराले पनि भोगे–बाँचेका उहिलेका दिन सम्झाउँदा रहेछन् । उबेला हेरीकन अहिलेका मान्छे कति सुखी–सुखी । जमाना के आयो आयो !’ 

An illiterate Rankumari who shows the way to her daughterआमा रणकुमारीसँग रामकुमारी झाँक्री । तस्बिरहरू : दीपक केसी/कान्तिपुर

ढिकी–जाँतो–डोको–नाम्लोमै जीवनका स्वर्णिम वर्षहरू बितिगए । ऋतुचक्रझैं आफ्नो जीवनमा जति बदलाव आए, उनी जन्मे–हुर्केको गुल्मी पुर्कोटको म्यालपोखरी (हाल मदाने गाउँपालिका–४) पनि उसैगरी फेरियो । गाउँमा परिवर्तनका चिह्नहरू त जताततै छन् तर किशोरकालमै देखेको कुनै विरही गायकले सुसाइरहेजस्तो सालघारी छ, जो साक्षी बसेझैं लाग्छ उनलाई– आफ्नै संघर्ष, दुःख र फेरिएको समयको । 

उनको स्मृति–लोकमा अनेक आकृति ब्युँझन्छिन् आजकाल । ‘संसार बदल्ने’ छोरीको रूमानी सपना र लालटिन बालेर जंगल विचरण गरेका ती कालाम्मे रातका कमला यादहरू झन्–झन् गाढा भएर आउँछन् । स्मरणका छालहरूमा पुराना दुःखहरू ओहोरदोहोर गर्छन् । 

***

रणकुमारीकी नेता–छोरी रामकुमारी झाँक्रीसँग प्रश्नहरूको चाङ छ, प्रश्नहरूमा थपिँदै जान्छन् अन्य प्रश्न । पूर्वमन्त्री, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) की सचिव रामकुमारीको प्रगति ग्राफ देखेर सन्तोष लाग्छ आमा रणकुमारीलाई । 

जुलुसमा टाउको फुट्दा वा आन्दोलनमा प्रहरी दमन हुँदा रामकुमारीलाई आमा भनिरहन्थिन्– ‘छोरी मान्छे भएर जुन भुंग्रामा पस्यो, त्यही भुंग्राबाट निस्किन सक्नुपर्छ । सबै समस्यासँग जुध्न सक्नुपर्छ । भुंग्रोकै दाउरासँग बल्ने पनि कहीँ छोरीमान्छे हुन्छ ?’ छोरीलाई उनले दोहोर्‍याइरहने एउटै वाक्य छ– ‘सक्दिन’ भन्ने शब्दै हुँदैन बुझिस् !’ 

किशोरकालमै राजनीतिको तातो भुंग्रोमा पसिसकेकी छोरीबारे गाउँलेहरू टिप्पणी गर्थे– यसले बाटो बिराई । मान्छेहरू रणकुमारीलाई भन्थे– छोरीले तिमीलाई थालमा मागेर खाने बनाउँछे । ‘कसौंडीमा मुख हुलेर पनि कसैले भात खान्छ र ? थालै थापेर खाने त हो नि !’ तिनलाई रणकुमारीको जवाफ हुन्थ्यो । तर, छोरीको पीर त नहुने कुरै भएन । ‘गाउँलेहरू तिमीले छोरी बिगार्छौ भन्थे । म ‘बिग्रे बिग्रिन्छे चिन्ता नगर’ भन्थें,’ रणकुमारी भन्छिन् । ०६२/६३ को जनआन्दोलनमा रामकुमारीको टाउको फुट्दा छोरीको पीरले हुर्रिएर गाउँबाट काठमान्डु आएकी थिइन् रणकुमारी ।

An illiterate Rankumari who shows the way to her daughter०४७ सालमा १२ वर्षको उमेरमा मालेबाट विद्यार्थी राजनीति सुरु गरेकी थिइन् रामकुमारीले । र, उनी नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्ष पनि भइन् । उनले राजनीति सुरु गर्दा बाटोमा ढुकेरै कांग्रेसले कम्युनिस्ट, कम्युनिस्टले कांग्रेस कुट्ने दिन थिए ती । आफन्तहरू पनि कोही कांग्रेस, कोही राप्रपा थिए । हाईस्कुल पढिरहेकी रामकुमारी स्कुलबाटै निष्कासित हुने अवस्था निर्माण भयो । तर, उनको राजनीतिलाई भने आमा–बुबाको टेको थियो । 

रामकुमारी गाउँकै पहिलो पार्टी सदस्य हुन् । संगठन विस्तारमा रातबिरात हिँड्नुपर्थ्यो, केटा मान्छेहरूसँग । रणकुमारी टर्चलाइट, लालटिन वा राँको बालेर छोरीको पछिपछि हिँड्थिन् जंगलैजंगल । मिटिङ हुँदा रातैभरि छोरी कुरेर बस्थिन्, छोरीसँग आमा जान नभ्याउँदा बा जान्थे, बा पनि नभ्याउँदा दाइ । ‘उसबेला राजनीति नबुझेकी आमाले रातबिरात कहाँ हिँडेको ? यतातिर नलाग् भनेको भए राजनीतिबाट म पछि हट्नुपर्थ्यो, मेरो पाइला त्यहीँ रोकिन्थ्यो,’ रामकुमारी भन्छिन्, ‘आमा, बा र दाइको योगदान हो मेरो राजनीतिक–यात्रा ।’

रामकुमारीको जीवनमा केही घुम्तीहरू छन्, जहाँ आमा रणकुमारीको निर्णयले नै उनले बाटो हिँड्न सिकिन् । उनका लागि आमा एक शिक्षक हुन् । 

रणकुमारी छोराछोरीलाई कथाहरू सुनाउँथिन्, पिँढी वा अगेनो वरिपरि राखेर । र, कथामा हुन्थ्यो नैतिक शिक्षा । जस्तो ‘एकादेशमा एउटी बूढी मान्छे थिई । उसको छोराले एक दिन सियो चोरेर ल्याएछ, एवं रीतले धेरै कुरा चोरेछ । तर सधैं आमाले स्याबास भनिछिन् । एक पटक त गल चोरेर ल्याएछ र छिमेकीको घर फोर्न गएछ । त्यसपछि पुलिसले आमा–छोरा दुवैलाई पक्रेर लगेछ ।’ यसरी ‘चोर्नु हुँदैन’ भन्ने सिकाउँथिन् नानीहरूलाई कथा सुनाएर । ‘आमाले सुनाएका तिनै कथा मेरा पथप्रदर्शक हुन्,’ रामकुमारी भन्छिन् । 

जीवनमा अँध्यारा दिन आउँछन्/जान्छन्, तर उज्यालो पनि आउँछ भन्छिन् छोरीलाई रणकुमारी, ‘बर्खापछि पनि घाम लाग्छ, जाडो पछि फेरि न्याना दिन आउँछन् । आत्तिनु हुन्न, जीवन मौसमजस्तै चक्र हो, चक्र त बदलिइरहन्छ ।’

***

रामकुमारीलाई लाग्छ– आमा रणकुमारीको जीवनमा कहिल्यै उछार अर्थात् अवकाश थिएन । केवल काम–काम र फेरि काम नै उनकी आमाको जीवन थियो । 

घरमा थिए– गाई, गोरु, लैना–बकेर्ना भैंसी, पाडा–पाडी, भेडा, कुखुरा, बाख्रा । २२, २५ त गाई, गोरु मात्रै । चारजना गोठालै लाग्नुपर्थ्यो । पशुपालनमै अडिएको आर्थिक समाज थियो त्यो, खेतीपाती पनि उत्तिकै व्यापक । बाह्रै महिना काम हुन्थ्यो । ‘आमा काम नगरी एकैछिन मात्र पनि हात खाली बस्नुभएको एउटै पनि दृश्य सम्झना छैन मलाई,’ रामकुमारी भन्छिन्, ‘अँध्यारो झमक्कै हुने बेला पनि आमा घर आइपुग्नु हुन्नथ्यो । हामीलाई ओछ्यानमै छोडेर जानुहुन्थ्यो । र, घर पस्दा रात छिप्पिइसकेको हुन्थ्यो ।’ 

मेलापात, घाँसदाउरा, पानीका लागि टाढै पुग्नुपर्थ्यो । त्यसैले आमा जहिल्यै फतक्कै गलेको देखिन् रामकुमारीले । ‘यसो आमासँग एकछिन गफ गरेर बसौं न भन्ने रहरै थियो उबेला,’ रामकुमारी भन्छिन् ।

रामकुमारीसँग बालापनका केही सम्झना छन्, जसले दुखाउँछ । एउटा स्मृति धागोले खैंचेर अर्को पीडादायी परिधिमा पुर्‍याउँछ । त्यो धागो थियो, आमाको दैनिक–परिधि । त्यसको स्मृति रामकुमारीको हृदयमा चिसो भएर बसेको छ । त्यसैले आजकाल पनि उनलाई चिसा महिना मन पर्दैनन् । 

An illiterate Rankumari who shows the way to her daughterहिउँदमा छिट्टै झमक्कै साँझ पर्नु, झम्के साँझमा झ्याउँ–झ्याउँ एकोहोरो झ्याउँकिरी कराउनु, छोराछोरी पिँढीमा आमाको बाटो हेरिरहनु तर आमा नआउनु, आँखा थाक्नु, मुख सुक्नु तर अहँ ! काममा गएकी आमा आउँदै नआउनु । असलमा ती दिन थिए– उनी र दाजु–दिदीहरूका लागि असाध्यै अत्यासलाग्दा । मकै बढेर त्यसले घर ढाकेको हुन्थ्यो । घरअघिको बाँसमा उक्लेर ‘आमा आमा...’ भनेर बोलाएका साँझहरू रामकुमारीको मस्तिष्कमा थपक्क बसेकै छन् । असिना–पानी दर्केको तर आमा घर नआइपुगेको मसी पोखिएका रातमा रामकुमारी खुट्टा बजारेर रोएकी छन् । ‘हो, त्यसैले मलाई अहिले पनि झमक्क साँझ मन पर्दैन ।’ 

आजकाल साँझ पर्ने बेला रामकुमारीका पाइला हतार–हतार घरतिर अघि लाग्छन्, छोरा सम्झेर । ‘मलाई कुरिरहेको होला’ सम्झेर । यसरी बाल्यकालको ‘फुटेज’ ले अहिले पनि अत्याउँछ । 

***

रामकुमारीका अनुसार, समय फेरिँदै गएको थाहा थियो आमा रणकुमारीलाई । ‘छोरीले कम्तीमा यो जमानामा कागज चिन्नुपर्छ’ सोच्थिन् उनी । घरमा रामकुमारीका दिदीहरूको बिहे भइसकेको थियो, कहिल्यै स्कुलको आँगनै टेकेनन् तिनले । त्यसैले घरका लागि रामकुमारी नै थिइन्– काम गर्ने बलियो जनशक्ति । काम र काम नै थियो, जीवन निर्वाहको साधन । समाज खुला हुँदै गरेको त्यो समयमा रामकुमारीले घरमा दैनिक झगडा गरिन् । ‘स्कुल जान्छु’ भनेर खुट्टा बजारिन् । भनिन्, ‘म भेडा हेर्दिनँ ।’ बुबा रत्नबहादुर झाँक्रीले सोधे, ‘कसले हेर्छ त ?’ रामकुमारीको अडान भने कडा थियो, ‘मलाई थाहा छैन, जसले हेर्ने हो हेरोस्, तर म स्कुल जान्छु ।’

त्यसबेला अनुहार मुजा पार्दै रणकुमारीले श्रीमान्सँग भनेको याद छ रामकुमारीलाई, ‘अहिले पो तिरोभरो, लालपुर्जा, तमसुकको कागज छ, पछि के–के कागज आउने हो ? सिक्काबाट कागज भयो । पैसा पनि के–के–कस्तो आउने हो ? कालजमाना यस्ता आए, पढ्नु त पर्छ, नपढे कसरी पैसा र कागज चिन्नु ?’ 

An illiterate Rankumari who shows the way to her daughterर, रामकुमारी स्कुल जान थालिन्, ६ वर्षको उमेरमा । रणकुमारीले काठको पाटीलाई अँगारले चिल्लो पारेर सुकाइदिइन् । पाटी बोकेर स्कुल गइन् उनी, दाइको पछिपछि– श्री म्यालपोखरी प्राविमा । आमाको यही निर्णयले रामकुमारीको जीवनमा भयंकर अर्थ राख्यो । 

‘छोरीलाई पढाएर आँखा देख्ने बनाउनुपर्छ भन्ने आमाको सोचकै कारण म यहाँसम्म आइपुगें । आमाको सोच दूरगामी थियो,’ रामकुमारी भन्छिन्, ‘आमाले पनि २० औं पटक प्रौढ शिक्षा पढ्नुभयो तर कहिल्यै अक्षर चिन्नुभएन ।’

उनी कक्षामा सधैं फर्स्ट भइन् । ६ कक्षामा पुगेपछि स्कुल छुट्यो, प्रावि तहमाथि पढ्न निकै टाढा पुग्नुपर्थ्यो । त्यसमाथि घरको अर्थतन्त्र कमजोर । आम्दानीको स्रोत उही डिँगा । तर, हातमा रकम हुँदैनथ्यो । त्यसैले घरमा जाँड–रक्सी बनाएर बेचिन्थ्यो पनि । स्कुल छुटेकै बेला रणकुमारीको आँखामा मोतियाबिन्दु भयो, एकै पटक झ्याप्पै आँखा देख्न छाडिन् । उपचार गर्न बटौली जानुपर्‍यो । त्यसैले रामकुमारीको ६ महिना पढाइ बिग्रियो । 

लगत्तै रामकुमारीका बुबाले गाउँको पुरानो घर बेचेर, गाउँभन्दा परको गाईबस्तु बस्ने गोठनेर घर सारे । गाउँमा पानी, दाउरा, घाँस बोक्नुपर्थ्यो टाढाबाट । गोठमा सरेपछि दुःख कम भयो, नजिकै थियो– स्कुल, पानी, दाउरा, घाँस । रामकुमारीलाई स्कुल जान पनि सहज भयो । शिक्षा रहरले मात्रै नहुने रैछ, जीवनशैली र भूगोलले कति धेरै फरक पार्दोरहेछ । रामकुमारीको शिक्षा–संघर्षले यही भन्छ । 

***

गाउँमा थियो मिश्रित समाज– बाहुन, दमाईं, कामी, मगरहरूको । सधैं नेपाली भाषा बोलिन् रणकुमारीले । त्यसैले उनलाई मगर भाषाको कुनै भेउ छैन । भन्छिन्, ‘बाहुनसँगै हुर्केकाले हो कि हाम्रो भाषा बोल्नुपर्ने आवश्यकता नै परेन ।’ 

रणकुमारीको १३ वर्ष छँदै बिहे भयो, घर नजिकै । जेठी श्रीमती बितेपछि २१ वर्षे रत्नबहादुरले भित्र्याएका थिए उनलाई । रणकुमारीकी आमा पनि सानैमा बितेकी थिइन्, उनका बुबाले पनि दोस्रो बिहे गरेका थिए । 

An illiterate Rankumari who shows the way to her daughterछोरी किशोरावस्था प्रवेश गर्दैगर्दा रणकुमारीले रामकुमारीलाई रजस्वलाबारे बताएकी थिइन् । उनी धोतीको कपडा र सिरकको खोलबाट घरेलु प्याड बनाउँथिन् । ८ कक्षाको अन्तिम परीक्षाका बेला पँधेरामा पानी लिन जाँदा पहिलो पटक रजस्वला भएकी रामकुमारीलाई आमाले घरको अँध्यारो कोठामा लुकाइनन्, परीक्षा दिन हौस्याइन् । भनिन्, ‘यो छोरीले भोग्नुपर्ने नियमित मासिक धर्म हो, आत्तिने–दुःखी हुने कुरा होइन ।’ परीक्षामा केटासँगै बसिन् । रामकुमारीको निर्दोष प्रश्न थियो आमासँग– ‘रजस्वला नभए के हुन्छ ?’ ‘सृष्टि चल्दैन नि नानी,’ आमा भन्थिन् । 

एसएलसीलगत्तै १५ वर्षमै बिहे छिन्न लागिएको थियो रामकुमारीको । बुबाले नजिकका आफन्तको कुरा ‘हुन्न’ भन्न सकेनन् । तर, रामकुमारीमा चिन्ता थपियो– अब राजनीति, पढाइ यहीँ रोकिने भो ? उनले ‘बिहे गर्दिन’ भनिन् । रणकुमारीले पनि ‘अहिले सानै छे, पढ्नुपर्छ अघि बढ्नुपर्छ’ भनिन् । रामकुमारी भन्छिन्, ‘त्यो बिहे भएको भए पनि म यहाँ हुन्नथें । त्यतिबेला आमा मेरो पक्षमा नउभिएको भए मैले कि घर छाड्नुपर्थ्यो कि बिहे गर्नैपर्थ्यो ।’ 

***

रणकुमारीका ३ छोरा र ४ छोरीमा साइँली हुन् रामकुमारी । गाउँ पुग्दा अहिले पनि ‘साइँली आइ’ भन्छन् गाउँले । नानीहरू झगडालु थिए, तर रणकुमारीले सबैलाई सँगै भएका बेला कहिल्यै थर्काइनन्– एक्लै हुँदा मात्रै गाली गरिन्, सम्झाइन् । अरू छोराछोरीको अघि गाली गर्दा अर्कोको आत्मसम्मानमा चोट पुग्छ भन्नेमा सचेत थिइन् उनी । 

रामकुमारीलाई ‘पैसा जोगाउनुपर्छ’ भन्थिन् आमा । छोरीहरूले पाएको दक्षिणा जोगाएर राखिदिन्थिन् । मकैबारीका छुटेका सिला मकै खोजेर, खोल्स्याएर, पिसेर, जाँड बनाएर बेच्न प्रेरित गर्थिन् रामकुमारीलाई । त्यसबाट आएको पैसा छोरीकै ‘पेवा’ हुन्थ्यो । बिहे गरी पराई घर गएका छोरीहरूको पनि केही न केही पेवा जोगाइदिन्थिन् उनी । सबै छोरीहरूको आफ्नै पेवा कुखुरा, पाडा–पाडी थियो । यसरी आर्थिक स्वतन्त्रताको अभ्यास गरिन् उनले । त्यसरी जम्मा भएको पैसा लिएर काठमान्डु पढ्न आएकी थिइन् रामकुमारी । ‘व्यक्तिगत चुनौती सामना गरेर मात्रै अघि बढ्न सकिन्छ र हामीलाई सानोतिनो चीजको जोहो गर्नुपर्छ भनेर आमाले सिकाउनुभयो,’ रामकुमारी भन्छिन् । 

आमा उतिबेलै वातावरणबारे चिन्तित थिइन् भन्छिन् रामकुमारी । ‘पहिले–पहिले कुलो लाग्थ्यो, अहिले खेत पनि बाँझियो, यसरी त पछि के पो होला भनेर चिन्ता गर्नुहुन्थ्यो,’ रामकुमारी भन्छिन्, ‘आमा किटपतंग चिन्नुहुन्थ्यो । आलु, मकैको बाली, बीउमा किरा किन लाग्छ भन्ने थाहा थियो । बीउबिजन जोगाउनुपर्छ भन्नुहुन्थ्यो ।’ 

An illiterate Rankumari who shows the way to her daughterमाइती नजिकै थियो । आगो लिन पनि भान्जाभान्जी मामाघर गइरहन्थे, झुम्रामा, धुपौरोमा आगो ल्याउँथे । तर, छोराछोरीलाई उनको कडा निर्देशन थियो– नबोलाईकन मामाघर जानु हुन्न । भन्थिन्, ‘भान्जाभान्जी आफ्नो ठाउँमा बसे पो मामाहरूले पनि इज्जत गर्छन् ।’ 

रणकुमारी बाबियाको दाम्लो बाट्थिन्, गुन्द्री–टपरी बुन्थिन्, स्याखु बनाउँथिन् । उनी भनिरहन्छिन्, ‘हाम्रो पालामा छोरीलाई दुःख बढी हुन्थ्यो, आजकाल त्यति छैन । हामीले त दुःख पायौं, अहिले सुखी छ जमाना । उहिले त भातै खान चाडबाड कुर्नुपर्थ्यो नानी ।’ 

ढिकी–जाँतो नगरी खानै मुस्किल–मुस्किल थियो । मकै, कोदो, धान, जौ, गहुँ खेती गर्थिन् । बारीमा केरा, बेलौती (अम्बा), आरु, आलु, पिँडालु, उखु फलाउँथिन्– ‘छोराछोरीले खानुपर्छ’ भनेर । 

An illiterate Rankumari who shows the way to her daughterगाउँमा रणकुमारी ठूलो छोरा र माइलो छोरासँग बस्छिन् । अहिले केही सातादेखि काठमान्डु छिन् । उनलाई ‘गाउँ नै रमाइलो’ रे ! श्रीमान् बितेपछि केही एक्लो अनुभूति गर्न थालेकी उनी छोरीलाई भन्छिन्, ‘यहाँ धुम्धुम्ती कोठामा के बस्नु ? बाटै छिचोल्न सक्दिनँ । गाउँमा मान्छेले आदर गर्छन्, सन्चो–बिसन्चो सोध्छन् । यताउता घुम्न रमाइलो हुन्छ ।’ उनलाई ८४ पूजा गर्न मन छ– गाउँमै, १०० वर्ष बाँच्न पनि । 

रामकुमारीलाई लाग्छ– उनकी आमा परिस्थिति बुझ्ने मान्छे हुन्, दोब्बर भारी बोकेर दुःख स्विकार्ने खुसी मान्छे पनि । छोरीलाई अर्ती हुन्थ्यो– काम गर्नुपर्छ । गफ गरेर समयको बर्बादी गर्नु हुन्न । ‘म गफमा भुल्थें, पानी लिन गए पनि, घाँस काट्न गए पनि । त्यस्तो बेला बलेको दाउरा ठोसेर वा ढुंग्रो, पन्युँ, दाबिलो उचालेर तर्साउनुहुन्थ्यो, तर कहिल्यै पिट्नुभएन,’ रामकुमारी भन्छिन् । 

***

छोरी मन्त्री बन्दा रणकुमारी उत्पातै खुसी भइनन् । रामकुमारी मन्त्री भएको खबर गाउँमै सुनेकी उनले भनेकी थिइन्– ‘हुने थिई एक दिन, भई । राम्रै भो । अब राम्रो काम गरे हुन्थ्यो क्यारे ।’ 

An illiterate Rankumari who shows the way to her daughterआफू आमा बनेपछि रामकुमारीलाई बोध छ, ‘जसरी म छोराबारे सोचिरहेको हुन्छु, मेरी आमाले पनि मलाई उसैगरी खोज्छिन् पक्कै, तर मचाहिँ आमा खोज्दो रैनछु । आमाको मन सन्तानप्रति नै जाँदो रहेछ ।’ उनको विचारमा आमाहरूको खुसीको स्रोत खोज्न अन्त भौंतारिनु पर्दैन । ‘छोराछोरी अघि भए आमा उसै खुसी हुन्छन् । कुनै स्वार्थ र सर्त हुन्न यो सम्बन्धमा । आमा एउटा सत्य र बिनासर्तको सम्बन्ध हो,’ रामकुमारी भन्छिन्, ‘भावनात्मक हिसाबले पनि छोराछोरीप्रति आमाको कुनै अपेक्षा हुँदैन । गुनासो पनि हुँदो रैनछ छोराछोरीप्रति आमाको । आमा र सन्तान गुनासोको सम्बन्ध नै होइन ।’ 

आमा हिँडिआएको बाटोको सम्झनामा रामकुमारी घोरिन्छिन्, ‘आमाकै खास–खास समयको निर्णयले म निर्माण भएकी हुँ । ती निर्णयले नै मेरो जिन्दगीको बाटो मोडियो ।’ रामकुमारीलाई लाग्छ– शासक पनि, सुन्ने पनि, नसुन्ने पनि हुनु आमाका गुण हुन् । ‘आमा हुन्– करुणा, मायाको प्याकेज, जो समाजलाई पढाउने शिक्षक हुन्, समाज बुझ्ने आधार हुन् । आमा ठीक बाटोमा भए सम्पूर्ण समाज ठीक बाटोमा हुन्छ,’ रामकुमारी भन्छिन् ।

दीपक कला, साहित्य र सामाजिक विषयमा लेख्ने सापकाेटा कान्तिपुर दैनिककाे साप्ताहिक परिशिष्टाङक काेसेलीका संयाेजक हुन् ।

Link copied successfully