कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

काठमाडौंको मन जितेका दार्जिलिङका गायक

मेची तरेर काठमाडौं उक्लिएका सुरेश कुमार तीन दशकअघि लोकप्रिय बने । उनले गाएको ‘प्रिय तिम्रो सम्झना’ बोलको गीत यति चर्चित भयो कि २६ वर्षअघि नै आठ लाख रोयल्टी दिलायो ।
सुरेश कुमारले जम्माजम्मी १७ वटा म्युजिक एल्बममा १३६ वटा गीत समावेश गरेका छन् । कुल मिलाएर उनले करिब दुई सय हाराहारी गीत गाइसकेका छन् । तीमध्ये अधिकांश गीतहरू निकै मन पराइए । उनले गाएका प्रेमिल गीतहरू प्रायः सबै हिट छन् । 

सिलिगुडी, भारत — मेची तरेर काठमाडौं खाल्डो उक्लिएको एउटा सामान्य ‘गिताङे’ ले सन् १९९० को दशकमा नेपालभर तहल्का मच्चायो । तीन दशकअघि नै इर्ष्यालाग्दो लोकप्रियता बटुलेका गायक हुन्, सुरेश कुमार । काठमाडौंबाट गुन्जिएका उनका दर्जनौं प्रेमिल गीतहरू पूर्वी सिमाना नाघेर उनी आएकै बाटो हुँदै जब दार्जिलिङ पुगे, तब दार्जिलिङले सोध्न थाल्यो को हो– सुरेश कुमार ? 

काठमाडौंको मन जितेका दार्जिलिङका गायक

‘प्रिय तिम्रो सम्झना’ बोलको गीत यति चर्चित भयो कि जसले सन् १९९८ मै त्यतिबेला आठ लाख रोयल्टी दिलायो । अहिले हो भने त्यो गीत अत्यधिक ‘भाइरल’ भयो । जसले नेपाली संगीतको दुनियाँमा रातारात पहिचान दिलायो । ‘यो गीत अहिले पनि उस्तै हिट छ,’ हालैको एक भेटमा सुरेश कुमारले शिरको क्याप हातमा राख्दै सुनाए, ‘मलाई नै अचम्म लाग्छ, त्यो गीत किन श्रोताले त्यति धेरै मन पराए ।’

खासमा सुरेशका अरू पनि धेरै राम्रा र हिट गीतहरू थिए । जस्तो कि, ‘म हिँड्ने गोरेटो भरि’, ‘आउ अब मेरो अँगालोमा’, ‘गाजलुले आँखा छोप्ने’, ‘तिम्रो वियोगको व्यथाले’, ‘आई मिस यू’, ‘कहिलेकाहीं एकान्तमा’, ‘हररात सिरानी मेरो’, ‘पर्खिरहन्थ्यौ हो पधेरोमा’ लगायत । तर, प्रिय तिम्रो सम्झनाले त चर्चाको सगरमाथा नै उक्लियो । ‘मलाई चिनाउने गीत नै प्रिय तिम्रो सम्झना हो,’ भर्खरै रंग्याएर कालो देखिएका जुंगामा ताउ लगाएपछि सुरेशले गर्वानुभूति गरे, ‘मास्टर पिस गीत हो त्यो ।’

सुरेशले अहिलेसम्म त्यही गीतको ‘ब्याज’ खाइरहेका छन् । यसो भन्दैमा उनले अरू राम्रा सिर्जना गरेकै छैन भनेर बुझ्नु अन्याय हुन्छ । उनले जम्माजम्मी १७ वटा म्युजिक एल्बमहरूमा १ सय ३६ वटा गीत समावेश गरेका छन् । कुल मिलाएर उनले करिब २ सय हाराहारी गीत गाइसकेका छन् । उनका अधिकांश गीतहरू मन पराइए । जसरी नारायण गोपालका सबैजसो गीत लोकप्रिय छन् । त्यसैगरी सुरेश कुमारले गाएका प्रेमिल गीतहरू सबै हिट छन् ।

सुरेश कुमार ६५ वर्ष नाघे । चार दशक त संगीतमै लगानी गरिसके । अहिले पनि उनी युवा उमेरमा झैं कन्सर्टहरूमा नेपाल, भारत र विदेशतिर ओहोरदोहोर गरिरहन्छन् । तिनै पुराना गीतहरू सुनाउँछन् । दर्शक श्रोताको मन जित्छन् । उनले प्रेमका गीत धेरै गाए । प्रेम भएकैले श्रोताले धेरै मन पराए । उनलाई प्रेमबिना संसार चल्दैन जस्तो लाग्छ, पहिलादेखि अहिलेसम्मै । त्यही कारण प्रेमलाई केन्द्रमा राखेर उनले अधिकांश सिर्जना गरे । त्यो पनि सरल शब्दको प्रयोग गरेर । जसलाई सामान्य श्रोताले सहजै बुझे । अनि फ्याट्टै मन पराइदिए ।

‘मैले गाएको धेरै प्रेम गीतहरू श्रोताले आफ्नै लागि हो कि क्या हो ! भन्ने ठाने,’ सुरेशले थपे, ‘त्यही भावनाले छोएकाले होला श्रोताले मन पराएका ।’ उनका गीतमा प्रेमसँगै छ, खुसी, पीडा, जलन आदि भेटिन्छ । उनी भन्छन्, ‘प्रेमभित्र ती सबै चिज हुन्छन्, जसले प्रेमलाई मिठासपूर्ण बनाइरहेको हुन्छ ।’

सुरेश कुमार तिनै पुराना र लोकप्रिय गीतहरू सुनाउँछन् अझैसम्म । ‘पुराना गीतहरू सुनाएर दुई/चार पैसा आर्जन गरिरहेको छु,’ सुरेशले खिसिक्क हाँस्दै थपे, ‘नयाँ गीत पनि छन् । तर, पुरानै गीतको डिमान्ड हुन्छ सधैं ।’ सुरेश कुमारले नयाँ गीतहरू पनि सिर्जना गरेका छन् । गत वर्ष ‘यो बताससँगै’ बोलको गीत युट्युबबाट सार्वजनिक गरे । वर्ष दिनमा ६० हजारले मात्रै त्यो गीत सुनेछन् । उनका नयाँ गीतप्रति दर्शक, श्रोताको खासै दिलचश्पी देखिन्न । बरु पुराना गीतप्रति नै सबैले मरिहत्ते गरेको पाइन्छ । त्यहीं प्रिय तिम्रो सम्झना होस् या त पर्खिरहन्छौ हौ पधेरोमा सुन्न खोजिरहेको बुझिन्छ ।

***

सुरेश कुमारले सन् १९७८ देखि गीत लेख्न थाले । जतिबेला उनी दार्जिलिङमै थिए । पढाइलेखाइमा भन्दा गीत संगीततिर उनको बढी रुझान थियो । सन् १९८४ मा दार्जिलिङको गोर्खा दुःख निवारण भवनमा गायन प्रतियोगिता भएको थियो । आफ्नै रचना र संगीतको बिछोडिएका माया, यो जुनीमा भन्ने गीत गाएपछि सुरेश कुमार उत्कृष्ट गायक ठहरिए । उनको प्रतिभालाई नजिकबाट चिन्ने अग्रजहरूले धाप मार्दै भने, ‘यति राम्रो प्रतिभाले काठमाडौंतिरै जाँदा राम्रो हुन्छ ।’

‘दार्जिलिङले प्रतिभा जन्माउने हो, प्रतिभा निखार्ने काम काठमाडौंले गर्छ,’ अग्रजहरूका यस्ता सुझावपछि उनले काठमाडौं ताक्न थाले । अग्रजहरूको उक्साहटले उनी मेची तरेर काठमाडौं उक्लिए सन् १९८५ ताका । जतिबेला उनी २०/२१ वर्षे लक्का जवान थिए । बिरानो सहर काठमाडौंमा उनका संघर्षका दिन सुरु भए । नारायण गोपाल, भक्तराज आचार्यसँग मात्रै हैन, दार्जिलिङकै संगीतज्ञ अम्बर गुरुङ, गोपाल योन्जनहरूसँग उनको भेट भयो । दिग्गज सर्जकहरूको उकेराले उनलाई राम्रो गीत गाउनैपर्ने बाध्यता आइलाग्यो । जसका लागि उनले दिनहुँ कडा मिहिनेत गरे । गायनसँगै शिक्षण पेसा पनि अपनाए ।

एक दिन रत्न रेकर्डिङ स्टुडियोको रजत महोत्सवमा आयोजित गायन प्रतियोगितामा उनले भाग लिए । प्रकाश श्रेष्ठ, दीप श्रेष्ठ जस्ता हस्तीहरूसँग उनले प्रतिस्पर्धा गरे । सान्त्वना जित हासिल गरे । त्यसले उनलाई थप ऊर्जा मिल्यो । काठमाडौं बसाइको १० वर्षपछि अचानक भेटिए किशोर गुरुङ (अम्बर गुरुङका छोरा) । किशोरलाई आफ्ना सिर्जनाहरू सुनाए । किशोरले अब एल्बम निकाल्न ढिलो भइसकेको प्रतिक्रिया दिए । अनि उनी एल्बम निकाल्न तात्तिए ।

‘म दार्जिलिङमा जन्मिएँ, तर मेरो कर्मभूमि नेपाल नै हो,’ उनले सुनाए, ‘तीन दशकभन्दा बढी समय काठमाडौंमा लगानी छ ।’ उनी दार्जिलिङ र काठमाडौंबीच खासै फरक देख्दैनन् । मान्छे उही लाग्छ । भाषा उस्तै छ । जमिन त्यस्तै लाग्छ । अम्बर गुरुङ, गोपाल योन्जन, अरुणा लामा आदि थुप्रै दार्जिलिङका सर्जकहरूलाई काठमाडौंले गर्ल्याम्म अँगालोमा बेरेर उम्कन दिएन । तर, उनी भने कसोकसो काठमाडौंको प्रेमिल अँगालोबाट उम्कन सफल भए । सन् २०१७ मा मेची तरेर उनी आफ्नो जन्मभूमि पुगे । तर पनि माया भने उनलाई नेपालकै लाग्छ । उनलाई माया गर्नेहरू पनि नेपाली दर्शक, श्रोताहरू नै छन् । त्यही भएर त जीवनको उत्तरार्द्धमा पनि उनी युवावयमा झैं कन्सर्ट गर्दै नेपालका सहरहरू चहारिरहन्छन् ।

***

संगीत क्षेत्रमा भित्रिएको नयाँ प्रविधिले धेरैलाई सहज भएको छ । तर, उनी भने विज्ञानको नयाँ चमत्कारबाट बेखुसी छन् । उनलाई त त्यही ३० वर्षअघिको समय नै प्यारो लाग्छ । क्यासेट र सिडीको त्यो समयमा फर्किएर जान पाए पनि हुन्थ्यो भन्ने लाग्छ । तर, उनले सोचे जस्तो कहाँ सम्भव होला र ! ‘पहिला क्यासेट बिक्री हुन्थ्यो । सिडी किन्थे । लगानी मज्जाले उठ्थ्यो,’ उनी पुरानो समयतिर फर्किन्छन्, ‘तर, अहिले त गीतको लगानी उठाउनै गाह्रो पर्छ ।’

उनका अनुसार नयाँ प्रविधिले सबै गायक/कलाकारहरूलाई समस्या पारिरहेको छ । दार्जिलिङका कलाकारहरू त झनै पीडित छन् । किनकि काठमाडौंमा जस्तो त्यता सहज छैन । ‘एउटा गीतका लागि गाएर मात्रै पुग्दैन, भिडियो पनि बनाउनुपर्छ जसका लागि कम्तीमा लाख रुपैयाँ सकिन्छ,’ उनी थप्छन्, ‘युट्युबमा हाल्दा पनि दर्शकले हेर्ने नहेर्ने टुंगो छैन । अनि कसरी उठ्छ लगानी ?’

सुरेश कुमारले कहिल्यै आफ्नो जात देखाएनन् । नामको पछि थर नलेख्दा धेरैले उनलाई दलित पनि ठाने । ‘सुरेश कुमार के ?’ भनेर नसोधेको त प्रायः दिनै थिएन । तर, उनले नाम सुरेश थर कुमार भनेर मान्छेका जिज्ञासालाई मेटे । कसैकसैले अक्षयकुमार जस्तै कुमार ? भनेर पनि सोधे । उनले हाँसेर उडाइदिए । ‘मान्छेलाई उसको क्षमता र प्रतिभाको हैन जातको पो बढी चिन्ता देखिन्छ,’ सुरेशले दुखेसो सुनाए, ‘जातका पछि किन लागेको हो मान्छेहरू ?’

सुरेश कुमार थापा क्षेत्री सानैदेखि विद्रोही स्वभावका थिए । उही बेला उनी जात व्यवस्थाका विरोध गर्दै नाम पछि लेखिने थरको फुर्कोमा आफैं कैंची चलाए । जातपात र छुवाछूतका विरोधी उनी धार्मिक मान्छे हैनन् । तर, सबै धर्मलाई बराबर सम्मान गर्छन् । सुरेश कुमार करिब ८ वर्षयता दार्जिलिङतिर छन् । तर, दार्जिलिङ सुङतुङको घर छाडेर सिलिगुडी नजिकैको मतिगढा ओर्लिएको पनि ६ वर्ष जति भइसक्यो । उनी यतिबेला वृद्ध बा–आमाको हेरचाहमा व्यस्त छन् । फुर्सदको समयमा कन्सर्टतिर पनि दगुरिहाल्छन् । नयाँ गीतहरू कम्पोज गर्छन् । पेन्टिङसँग पनि उनको लगाब छ ।

दुई/चार वटा फिल्ममा पनि गाए । ‘कबर्डी’ फिल्मको ‘माया खै कसले बुझ्यो’ बोलको गीतमा उनको स्वर सुन्न सकिन्छ । उनले आफू मात्रै हैन आफ्ना रचनाहरू अरू गायकलाई पनि बाँडेका छन् । संगीतको मिठो धुर भरेका छन् । सत्य–स्वरूप आचार्य, सञ्जीव प्रधान, मोहन भुसाल, यम बराल, राजेश पायल, सुक्मित गुरुङलगायतका कलाकारले उनकै रचना र संगीतमा गाएका छन् । ‘संगीत त मेरो जीवन नै बनिसक्यो,’ टुंग्यौनीमा सुरेश कुमारले लामो सास तान्दै भने, ‘बाँचुन्जेल यही गीत संगीतमै रमाउने हो ।’

प्रकाशित : असार ६, २०८१ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×