कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

अस्ट्रेलियासँग स्कटल्यान्ड हार्दा इंग्ल्यान्ड पनि सुपर-८ मा

काठमाडौँ — ट्वान्टी-२० विश्वकप क्रिकेटअन्तर्गत समूह 'बी' बाट सुपर-८ मा प्रवेश गर्ने टिमको टुंगो लागेको छ । समूह 'बी'बाट अस्ट्रेलिया यसअघि नै सुपर ८ मा प्रवेश गरिसकेको थियो । 

अस्ट्रेलियासँग स्कटल्यान्ड हार्दा इंग्ल्यान्ड पनि सुपर-८ मा

आइतबार अस्ट्रेलियाले स्कटल्यान्डलाई हराएसँगै यस समूहबाट डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्ड सुपर ८ मा प्रवेश गरेको हो । समान ५ अंक भए पनि रनरेटका आधारमा अगाडि रहँदै इंग्ल्यान्ड अर्को चरणमा प्रवेश गरेको हो ।

स्कटल्यान्डले दिएको १८१ रनको लक्ष्य अस्ट्रेलियाले १९.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको हो । अस्ट्रेलियाका लागि ट्राभिस हेड र मार्कस स्टोइनिसले विस्फोटक ब्याटिङ गरे । स्टोइनिसले २९ बलमा ९ चौका र २ छक्काको सहयोगमा ५९ रन बनाए । त्यस्तै ५ चौका र ४ छक्कासहित हेडले ४९ बलमा ६८ रन बनाए । त्यस्तै टिम डेभिडले नटआउट रहँदै १४ बलमा २४ रन बनाए । स्कटल्यान्डका लागि मार्क वाट र सफ्याँ सरिफले समान २/२ विकेट लिँदा ब्राड ह्विलले १ विकेट लिए ।

यसअघि सेन्ट लुसियास्थित ड्यारेन सामी क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८० रन बनाएको थियो । स्कटल्यान्डका लागि ब्रान्डन म्याकुलेनले सर्वाधिक ६० रन बनाए । त्यस्तै जर्ज मुन्सेले ३५ रन बनाए । त्यस्तै कप्तान रिची बेरिंग्टनले नटआउट ४२ रन बनाए । अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले २ विकेट लिए भने एडम जाम्पा, नथान इलिस र र एस्टन एगरले समान १/१ विकेट लिए ।

योसँगै सुपर-८ मा प्रवेश गर्ने ७ टिमको टुंगो लागेको छ । नेपाल रहेको समूह 'डी' बाट भने दक्षिण अफ्रिका सुपर-८ मा प्रवेश गरिसकेको छ । यस समूहबाट सुपर-८ मा प्रवेश गर्ने अर्को टिमको भने टुंगो लाग्न बाँकी छ ।

ब‌ंगलादेश र नेदरल्यान्ड्समध्ये एक टिम समूह डीबाट सुपर-८ मा प्रवेश गर्नेछ । नेपाल र श्रीलंका भने समूह चरणबाटै बाहिरिइसकेका छन् । समूह 'ए' बाट भारत र अमेरिका सुपर-८ मा प्रवेश गरेका छन् । त्यस्तै समूह 'सी'बाट अफगानिस्तान र वेस्ट इन्डिजले सुपर-८ मा स्थान बनाएका छन् ।

प्रकाशित : असार २, २०८१ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बहालवाला मुख्यसचिवमाथि नै भ्रष्टाचार मुद्दा दायर भएको छ । यसबारे तपाईं के भन्नुहुन्छ ?

x