२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

दक्षिण अफ्रिकाविरुद्ध नेपालको सानदार बलिङ, मध्यम लक्ष्य पछ्याउँदै

सेन्ट भिन्सेन्ट (वेस्ट इन्डिज) — स्पिनरहरुले सानदार बलिङ गरेपछि नेपालले ट्वान्टी- २० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्धको खेल जित्न १ सय १६ रनको लक्ष्य पाएको छ । नेपालका कप्तान रोहित पौडेलले शुक्रबार सेन्ट भिन्सेन्टस्थित आर्नोस भेल मैदानमा टस जितेपछि ब्याटिङमा आएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ११५–७ को स्कोरमात्र बनाउन सक्यो ।

दक्षिण अफ्रिकाविरुद्ध नेपालको सानदार बलिङ, मध्यम लक्ष्य पछ्याउँदै

कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीको चम्किलो प्रदर्शन गरेपछि नेपालले उत्कृष्ट बलिङ गरेको थियो । पावर प्लेको पहिलो ६ ओभरमा दक्षिण अफ्रिकालाई ३८–१ को अवस्थामा रोकेको नेपालले त्यसपछि झनै किफायती बलिङ गरेको थियो । २–३ क्याचको मौका र २–३ मिस फिल्ड भए पनि स्पिनर आक्रामण लगाएपछि दक्षिण अफ्रिीकी ब्याटर खुलेर खेल्न सकेका थिएनन् ।

रिजा हेन्ड्रिक्सले दक्षिण अफ्रिकाबाट सर्वाधिक ४३ रन बनाए । ४९ बल खेली ५ चौका र १ छक्का प्रहार गरेका उनलाई १६ औं ओभरमा भुर्तेलले कट एन्ड बोल्ड गरे । हेन्ड्रिक्स ३२ बलमा ३० रन बनाएको समयमा अविनाश बोहराको बलमा भुर्तेलले लङ अफमा सजिलो क्याच छाडेका थिए । त्यसको अर्को ओभरबाटै भुर्तेलले विकेट लिन सुरु गरेका थिए ।

नेपालले चौथो ओभरमा पहिलो सफलता पाएको थियो । आउट फर्म रहेका क्विन्टन डी ककलाई दीपेन्द्रसिंह ऐरीले कट एन्ड बोल्ड गरेका थिए । डी ककले ११ बल खेली १ चौका प्रहार गरि १० रनमात्र बनाउन सके । कप्तान एडेन अक्रमले पनि २२ बलमा २ चौका प्रहार गरि १५ रनमात्र बनाउन सके । उनलाई कुशल भुर्तेलले बोल्ड गरे ।

हेनरिक क्लासेनलाई आउट गरि भुर्तेलले अर्को ठूलो विकेट लिए । क्लासेनले गरेको प्रहार डिपमा करण केसीले तेस्रो प्रयासमा क्याच लिएका थिए । डेबिड मिलर १ रनमा मात्र भएको समयमा भुर्तेलले गरेको बलमा डेविड मिलर बिट भएका थिए । बलले उनको प्याडमा लागेपछि नेपालले रिभ्यु लिएको थियो । तर लाइनमै पिच भए पनि बल अफ स्टम्प माथि गएको कारण उनी आउट हुनबाट जोगिएका थिए ।

तर मिलर धेरै बेर टिक्न सकेनन् । उनलाई दीपेन्द्रले ७ रनमा आउट गरे । ट्रिस्टन स्टब्स १८ बलमा २ चौका र १ छक्का प्रहार गरि २७ रनमा अविजित रहे । दीपेन्द्रले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । अन्तिम ओभर पनि बलिङ गरेका भुर्तेलले ४ ओभरमा १९ रन खर्चेर ४ विकेट लिए । ट्वान्टी-२० मा भुर्तेलको यो उत्कृष्ट बलिङ पनि हो । उनले आफ्नो पहिलो ३ ओभरमा १० रनमात्र दिएका थिए ।

नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग डालासमा ६ विकेटले पराजित भएको थियो । श्रीलंकाविरुद्ध फ्लोरिडामा भएको खेल वर्षाले रद्द पारेको थियो । दक्षिण अफ्रिका पहिलो ३ खेल जितेर सुपर ‘एट’ मा पुगिसकेको छ । त्यसका बावजुद दक्षिण अफ्रिकाले नेपालविरुद्ध पूर्ण टोली उतारेको थियो ।

नेपाली टोलीमा स्पिनर सन्दीप लामिछालाई एकमात्र परिवर्तनको रुपमा सागर ढकालको स्थानमा नेपालको प्लेइङ ११ मा राखिएको थियो । दक्षिण अफ्रिकाले केशब महाराजको स्थानमा अर्का स्पिनर ताब्राइज साम्सीलाई प्लेइङ ११ मा राखेको छ ।

प्रकाशित : असार १, २०८१ ०६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x