कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

अनुभवको हार

नेपालले यसअघि २०१४ मा ट्वान्टी २० विश्वकपमा पहिलो पटक सहभागिता जनाउँदा हङकङ र अफगानिस्तानलाई पराजित गरेको थियो भने बंगलादेशसँग हार बेहोरेको थियो । नेपाल यसपालि भने रित्तो हात घर फर्किन लागेको हो ।
विनोद पाण्डे

वेस्ट इन्डिज — खेलको पहिलो बलमै सोमपाल कामीले विकेट लिएका थिए र सानो लक्ष्य पछ्याउँदा नेपाली इनिङ्सको पहिलो बलमा कुशल भुर्तेलले चौका प्रहार गरेका थिए । तर त्यसले मात्र नेपाल अनुकूलको नतिजा निकाल्न काफी थिएन । बाँकी समय भने नेपाल पछाडि नै पर्‍यो र बंगलादेशसँग २१ रनले पराजित भयो । फलतः नेपालले विश्व क्रिकेटको सबैभन्दा ठूलो मञ्चको यात्रा जितविहीन बन्दै टुंग्याएको छ ।

अनुभवको हार

सोमपालले सेन्ट भिन्सेन्टस्थित आर्नोस भेल मैदानमा पहिलो बलमै तान्जिद हसनलाई कट एन्ड बोल्ड गरेपछि झस्किएको बंगलादेश १९.३ ओभरमा १ सय ६ रनमा अलआउट भएको थियो । सोमपाल, कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले २–२ विकेट लिएपछि नेपालले टेस्ट राष्ट्र बंगलादेशविरुद्ध बलिङतर्फ असाधारण प्रदर्शन गरेको थियो ।

बंगलादेशको ब्याटिङ यतिसम्म दयनीय थियो कि टोलीका कुनै पनि खेलाडीले २० रनको स्कोर छुन सकेनन् । भेट्रान सकिब अल हसनले बनाएको १७ रन नै उच्च रह्यो । ब्याटरका लागि पिच कठिन थियो । नेपाली टोलीका प्रमुख ५ बलरमा नरहेका रोहित र कुशल भुर्तेलले आफ्नो कोटाको ४–४ ओभर बलिङ गरे । उनीहरूले निकै किफायती बलिङ गर्दै क्रमशः २० र २२ रन मात्र दिए । बलिङमा दीपेन्द्र र सन्दीपको पनि दबदबा थियो । स्पिनर हाबी खेलमा मध्यम गतिका प्रमुख बलर अविनाश बोहराले १९ औं ओभरमा मात्र बलिङको अवसर पाएका थिए । ३ ओभर बलिङमा १० रन मात्र दिएर २ विकेट लिएका तीव्र बलर सोमपाललाई उनको बाँकी एक ओभर गराउन नेपाली टोलीले उचित ठानेन ।

पावर प्लेमा २६–५ को स्थितिमा पुगेको नेपाल अन्ततः १९.२ ओभरमा ८५ रनमै अलआउट भयो । यो सँगै बंगलादेशले ट्वान्टी–२० विश्वकपमा सबैभन्दा कम स्कोर रक्षा गर्ने कीर्तिमान बनायो । यसै विश्वकपमा दक्षिण अफ्रिकाले १ सय १३ रन जोगाउँदै बंगलादेशलाई १०९–७ मा रोकेको थियो । केही तथ्यांकले नेपाल र बंगलादेशबीचको खेल दुर्लभ बनाएको थियो । ट्वान्टी–२० विश्वकपमा यो यस्तो खेल थियो, जहाँ दुवै टोली तेस्रो पटक अलआउट भए । सन् २०१० मा पाकिस्तान र अस्ट्रेलिया तथा २०१४ मा न्युजिल्यान्ड र श्रीलंकाबीचको प्रतिस्पर्धामा पनि दुवै टोली अलआउट भएका थिए ।

तस्बिरहरू : हेमन्त श्रेष्ठ/कान्तिपुर

स्पिनमैत्री विकेटमा बंगलादेशका सिमरहरू चम्किएका थिए । तान्जिम हसन सकिब र मुस्ताफिजुर रहमानले सानदार बलिङ गरेपछि बंगलादेशले सानो स्कोरिङ खेलमा विजय हात पारेको हो । तान्जिमले ४ ओभरमा २ मेडन राख्दै ७ रन खर्चेर ४ तथा मुस्ताफिजुरले ४ ओभरमा १ मेडनसहित ७ रन खर्चेर १ विकेट लिए । अर्का तीव्र गतिका बलर तास्किन अहमदले १ विकेट लिएका थिए । सकिब अल हसनले २.२ ओभरमा ९ रन खर्चेर अन्तिम २ विकेट लिए । तान्जिम र मुस्ताफिजुरले प्रतिओभर १.७५ को इकोनोमीमा बलिङ गरे । नेपालले पावर प्लेको ३६ मध्ये २४ बल डट खेलेको थियो, जसमा तान्जिमले लगातार दुई मेडन ओभर फाले । उनले २४ बलमध्ये २१ बल डट फालेका थिए । ट्वान्टी–२० विश्वकप इतिहासमा एउटा बलरले एकै खेलमा फालेको यो सबैभन्दा बढी डट बल संख्या हो ।

भुर्तेललाई ४ रनमा बोल्ड गरेका तान्जिमले अनिल शाहलाई शून्य र कप्तान पौडेललाई १ रनमा आउट गरी पावर प्लेमै बंगलादेशलाई हाबी बनाए । तीव्र बलर करण केसीको स्थानमा ल्याइएका सन्दीप जोरालाई तान्जिमले चौथो सिकार बनाए । जोरा ८ बल खेलेर १ रनमा आउट भए । ‘हामीलाई यो स्कोर रक्षा गर्न सकिन्छ भन्ने विश्वास थियो, यो मेरो अहिलेसम्मकै उत्कृष्ट बलिङ स्पेल हो, यसमा म रमाइरहेको छु,’ प्लेयर अफ द म्याच तान्जिमले खेलपछि भने, ‘नेपालका पहिलो बलर (सोमपाल) ले यो विकेटमा राम्रो गरे, त्यो हामीले नोटिस गरिरहेका थियौं । उनले एक्स्ट्रा बाउन्स हानिरहेका थिए, हामीले यसबारे छलफल गरिरहेका थियौं । हामीलाई विकेट कडा छ भन्ने लागेको थियो ।’

दक्षिण अफ्रिका र बंगलादेश दुवै खेलमा भुर्तेल र रोहितले जिम्मेवारी लिएर खेल्न सकेनन् । रोहित त तान्जिमको ‘माइन्ड गेम’ मा फसे । नेपाल प्रतियोगिताको सबैभन्दा युवा टोली हो । यसले टोलीमा अनुभवी खेलाडीको महत्त्व दर्साएको छ । दक्षिण अफ्रिका र बंगलादेश दुवैले अनुभवका आधारमा नेपालविरुद्धको खेल जिते । क्रिजमा आउनेबित्तिकै रोहितको तान्जिमसँग रस्साकस्सी पर्‍यो । तान्जिमले भने, ‘त्यो क्षणिक आवेग थियो र त्यो खेलको एक हिस्सा थियो । उसले मलाई घुरेर आँखामा हेरेको थियो, त्यो मलाई मन पर्दैन । मैले के हेरेको आफ्नो खेल खेल्नभन्दा भनाभन भएको हो । आक्रामक स्वभाव आफैं आउने हो त्यसका लागि कुनै योजना बनेको हुँदैन ।’

आसिफ शेखले १४ बलमा ४ चौका प्रहार गरी १७ रन बनाए । बंगलादेशको इनिङ्समा नेपाली स्पिनर र नेपालको इनिङ्समा तीव्र बलरको वर्चस्व रहेकाले सुझबुझ ब्याटिङको कमीमा दुवै टोली सानो स्कोरको खेलमा फसेको देखिन्थे । यो चाल नेपाली ब्याटिङले पहिलो पावर प्लेपछि मात्र पाएको थियो । पाँच प्रमुख ब्याटरलाई गुमाएपछि मात्र नेपालले बाउन्ड्री बिर्सिए जसरी १–२ रनमा केन्द्रित भयो । कुशलले खेलकै सर्वाधिक २७ रन बनाए । उनले आफ्नो ३५ औं बलमा पहिलो बाउन्ड्री प्रहार गरे । दीपेन्द्रले ३१ बल खेलेर २ चौका र १ छक्कासहित २५ रन बनाए । १७ औं ओभरमा कुशल मल्ल आउट भएसँगै नेपालको सम्भावना लगभग सकिएको थियो । मुस्ताफिजुरलाई स्ट्रेटमा ठूलो सट हान्न खोज्दा कुशल फसेका थिए र नाजमुल हुसैनले मिडअफमा रनिङ क्याच लिए । उनी आउट हुँदा नेपाललाई विजयका निम्ति २० बलमा २९ रन आवश्यक थियो ।

१८ औं ओभरको पहिलो बलमा दीपेन्द्रले तास्किनलाई प्वाइन्टको माथि छक्का प्रहार गर्दा नेपालको आशा पुनः ब्युँतिएको थियो । तर त्यसपछि नेपालका लागि सम्झन केही रहेन, जम्मा २ रनमात्र बनाउन सक्यो । नेपालले अन्तिम ४ विकेट केवल १ रनमा गुमाएको थियो । यस जितसँगै बंगलादेशले सुपर ‘एट’ मा स्थान पक्का गरेको हो । पहिलो खेलमा दक्षिण अफ्रिकासँग पराजित बंगलादेशले त्यसपछि लगातार तीन खेल जितेको हो ।

नेपाल यसअघि अमेरिकाको डालासमा नेदरल्यान्ड्सँग ६ विकेटले र यही मैदानमा दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको थियो । श्रीलंकासँगको फ्लोरिडामा भएको खेल वर्षाले रद्द भएको थियो । नेपालले दुई दिनअघि सेन्ट भिन्सेन्टमै दक्षिण अफ्रिकालाई १ सय १५ रनमा रोके पनि १ रनको हार बेहोरेको थियो ।

नेपालले यसअघि २०१४ मा ट्वान्टी २० विश्वकपमा पहिलो पटक सहभागिता जनाउँदा हङकङ र अफगानिस्तानलाई पराजित गरेको थियो भने बंगलादेशसँग हार बेहोरेको थियो । नेपाल यसपालि भने रित्तो हात घर फर्किन लागेको हो ।

प्रकाशित : असार ४, २०८१ ०६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×