कान्तिपुर वेबसाईट
AdvertisementSponsored
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

गोलका भोका रोनाल्डो र सिक आमनेसामने

काठमाडौँ — पछिल्लो युरोमा सबैभन्दा बढी ५ गोल गर्ने खेलाडी थिए क्रिस्टियानो रोनाल्डोसँगै प्याट्रिक सेक । युरो २०२४ को समूह ‘एफ’ को खेलमा मंगलबार फेरि यिनै दुई खेलाडीको भेट हुनेछ, जतिबेला पोर्चुगलले चेक गणतन्त्रको सामना गर्नेछ ।

गोलका भोका रोनाल्डो र सिक आमनेसामने

कोभिड–१९ ले प्रभावित गरेको त्यो युरोमा सबैभन्दा बढी गोल गरेका यी खेलाडीको काँधमा यसपल्ट यस्तै जिम्मेवारी हुनेछ, टिमका लागि गोल गर्ने । रोनाल्डो आफ्नो खेलजीवनको अन्तिम युरो खेलिरहेका छन् । तर, उनको अझै पनि गोलको भोक भने मेटिएको छैन ।

रोनाल्डो ३९ वर्षका भए । उनी आफ्नो खेल जीवनको छैटौं युरो खेलिरहेका छन् । उनी युरोपका ठूला लिग छाडेर साउदी अरेबियाको प्रो–लिग पुगिसके । तर, अन्तर्राष्ट्रिय फुटबलमा उनको प्रभाव अझै उत्तिकै छ, लय कायमै छ । उनी युरो छनोटमा सर्वाधिक गोल गर्ने खेलाडी थिए । छनोटमा उनले १० गोल गरे । अल–नासरका लागि गत सिजन उनले ३१ गोल गरेका थिए ।

प्रतियोगिताकै पूर्वसन्ध्यामा आयरल्यान्डविरुद्धको अन्तिम मैत्रीपूर्ण खेलमा पनि रोनाल्डोले दुई गोल गरे । सन् २०१६ मा उनले पोर्चुगलका लागि युरो जिते । उनी अझै यो उपाधि फेरि जित्न चाहन्छन् । आठ वर्षअगाडिको युरोको फाइनलमा रोनाल्डोले भने खेल्न पाएनन् । त्यसपछिका दुई–दुई विश्वकप र युरोमा उनले पोर्चुगलका लागि थप जादुयी प्रदर्शन गर्न सकेनन् । सन् २०२० को युरोमा पोर्चुगल अन्तिम १६ बाट बाहिरिएको थियो ।

अहिलेको पोर्चुगाली टिम धेरै हदसम्म युवा खेलाडीले भरिएको छ । तर टिममा रोनाल्डो मात्र होइन, ४१ वर्षीय डिफेन्डर पेपे पनि छन् । एकसेएक प्रतिभाभाली खेलाडीले भरिएको टिम हुनाले जर्मन भूमिमा पोर्चुगल उपाधिका लागि उत्तिकै बलियो प्रत्याशी रहेको छ । यसको प्रमाण त छनोटमै देखिएको छ, किनभने त्यस छनोटमा पोर्चुगलले सबै दसै खेलमात्र जितेन, ३६ गोल पनि गरेको थियो ।

टोलीविरुद्ध दुई गोल मात्रै भयो । तर, प्रशिक्षक रोबर्टो मार्टिनेजलाई के राम्रोसँग थाहा छ भने खेलाडी असाध्यै प्रतिभाशाली हुँदा उपाधि जित्ने भने होइन । बेल्जियमका प्रशिक्षकका रूपमा उनले यस्तै अनुभव बटुलेका छन् । उनी भन्छन्, ‘हामीसँग २३ खेलाडी छन्, सबै उत्तिकै महत्त्वका । रोनाल्डो भने विशेष रहनेछन्, किनभने उनी बाँकी खेलाडीलाई राम्रोसँग खेल्न प्रेरित गर्न सक्षम छन् ।’

मार्टिनेज के पनि मान्छन् भने ड्रेसिङ रुमलाई उत्साहित र सकारात्मक राख्न रोनाल्डो जत्तिको माहिर खेलाडी कोही पनि छैनन्, त्यसैले उनको उपस्थिति नै पोर्चुगलका लागि ठूलो हो ।

अर्कोतर्फ सन् २०२० मा सर्वाधिक आकर्षक गोल गरेका सिक चेक आक्रमणको केन्द्रमा रहनेछन् । पछिल्लो संस्करणमा उनले मैदानको बीच भागबाट स्कटल्यान्डविरुद्ध गोल गरेका थिए । छनोटमा अल्बानियापछि चेक दोस्रो स्थानमा रहेको थियो । सिकले त्यस छनोटका अन्तिम केही खेल खेलेनन्, किनभने उनी चोटग्रस्त रहे ।

तर जर्मन बुन्डेसलिगाको गत सिजनमा उनको प्रदर्शन उच्च रह्यो । त्यसकै सहयोगमा बायर लेभरकुजनले क्लब इतिहासमै पहिलो पटक उपाधि जित्यो । जर्मन भूमिमा खेलेको अनुभव सिकका लागि मात्र होइन, चेक टिमकै लागि पनि फाइदाको विषय हुनेछ ।

प्रकाशित : असार ४, २०८१ ०६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×