कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११२

मछिन्द्रमाथि आर्मीको बदला

कान्तिपुर संवाददाता

काठमाडौँ — मछिन्द्र क्लब तीन वर्षअघि जित्नैपर्ने अन्तिम खेलमा आर्मीलाई १–० ले हराएर पहिलोपल्ट सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन भएको थियो । मछिन्द्रले गत वर्ष उपाधि रक्षा गर्ने क्रममा दोस्रो चरणमा आर्मीविरुद्ध गोलरहित बराबरी खेलेको थियो । यो सिजन २०७९–८० मा पनि आर्मी र मछिन्द्रको भेट दोस्रो चरणमै भयो । यसपल्ट भने आर्मीले २–० ले बाजी मार्‍यो ।

मछिन्द्रमाथि आर्मीको बदला

च्यासल रंगशालामा बिहीबार दोस्रो हाफमा दीपक गुरुङ र नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई लिगमा मछिन्द्रविरुद्ध चार वर्षयता पहिलो जित दिलाएका हुन् । आर्मीले २०७५ सालको अन्तिम खेलमा मछिन्द्रलाई ३–० ले पराजित गरेयता लिगमा पहिलो जित हात पारेको हो । सँगै आर्मीले शीर्ष श्रेणीको लिगमा अपराजित खेल १५ पुर्‍याएको छ । टोलीको २०७६ मा अपराजित यात्रा मछिन्द्रले १५ खेलमा टुंग्याइदिएको थियो । उपाधिमा ह्याट्रिक गर्ने योजना बनाएको मछिन्द्र भने लिगमा चार वर्षपछि पहिलोपल्ट लगातार दुई खेल हारेको हो । टोल्लीाई आइतबार जावलाखेल युवा क्लबले ३–१ ले हराएको थियो ।

‘केही विदेशी खेलाडी श्रम स्वीकृतिमा अड्किएका छन् । ४–५ खेलाडी चोटका कारण गुमाएका छौं । चोटमुक्त नहुँदै खेलाउनुपर्ने बाध्यता पनि छ,’ मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले भने, ‘दुई खेल हारेका छौं । डबल लिगमा अझै २४ खेल बाँकी छ । खेलाडीहरू चाँडै फिट हुनेछन्, लिग च्याम्पियन बन्ने अभियानमा लय समात्ने छौं ।’ उनले आर्मीले राम्रो खेल्नुका साथै च्यासलको सानो मैदानले आफूहरूलाई गाह्रो बनाएको सुनाए ।

पहिलो खेलमा खराब प्रदर्शन गरेका मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले २८ औं मिनेटमा दिनेश हेन्जनको प्रहारमा उत्कृष्ट बचाउ गरेका थिए । त्यसअघि सुदिल राईले नजिकबाट प्रहार गरेको बल पोस्टबाहिर गएको थियो । दिनेशको कर्नरमा ३० औं मिनेटमा सुशान्त चौधरीको प्रहार बारमा लागेर फर्कियो । आर्मीले प्रभाव जमाएको खेलको ४८ औं मिनेटमा डिफेन्डर दीपकले कर्नरमा पाएको बलमा हेडबाट गोलको खाता खोले । छिरिङ गुरुङले दीपकलाई फाउल गरेपछि पाएको पेनाल्टीमा नवयुगले सटिक प्रहार गर्दै ५९ औं मिनेटमा आर्मीको अग्रता दोब्बर बनाए । सब्स्टिच्युट भरत खवासले ६२ औं मिनेटमा पाएको सहज अवसरमा भने गोलकिपर विशालले उत्कृष्ट बचाउ गरे ।

पहिलो जितपछि आर्मीका सहायक प्रशिक्षक राजु तामाङले भने, ‘गोलका अवसरहरू सिर्जना गर्दै राम्रो प्रदर्शन गरेका छौं । राम्रो खेललाई निरन्तरता दिँदै च्याम्पियन बन्ने योजनामा अगाडि बढ्ने छौं ।’

मुख्य प्रशिक्षक नवीन न्यौपाने पितृशोकमा रहेकाले राजुले ‘टचलाइन’ सम्हालिरहेका छन् । उनको टिमले पहिलो खेलमा संकटाविरुद्ध गोलरहित खेल्दै अंक बाँडेको थियो । दुई खेलसम्म गोल नबेहोर्ने एक्लो टिम बनेको आर्मीले आइतबार च्यासलमै एनआरटीविरुद्ध खेल्नेछ भने मछिन्द्रले दशरथ रंगशालामा पुलिसविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

जावलाखलको दोस्रो जित

पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन मछिन्द्रमाथि अनपेक्षित जित निकालेको जावलाखेल युवा क्लबले एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार एनआरटीलाई २–१ ले पन्छाउँदै लगातार दोस्रो जित हात पारेको छ । कप्तान सीमान्त थापाले ६८ औं मिनेटमा अग्रता दिलाएपछि फोडे फोफानाले ७७ औं मिनेटमा जावलाखेललाई २–० ले अगाडि बढाए । एनआरटीका सन्जिव विष्टले ८० औं मिनेटमा गरेको गोल सान्त्वना बन्यो । जावलाखेलले मंगलबार दशरथ रंगशालामा फ्रेन्ड्सविरुद्ध खेल्नेछ ।

दोस्रो चरणको समाप्तिमा जावलाखेलसँगै छिमेकी सातदोबाटो युवा र नवप्रवेशी चर्च ब्वाइज युनाइटेडले ६–६ अंक जोडेका छन् । आर्मी, मनाङ र हिमालयन शेर्पाले ४–४ अंक बनाएका छन् । एपीएफ र खुमलटारको ३–३ तथा संकटा, फ्रेन्ड्स र थ्रीस्टारको १–१ अंक रहेको छ । दुवै खेल हारेका एनआरटी, पुलिस र मछिन्द्रले अंक खाता खोल्न सकेका छैनन् ।

आजका खेल

  • खुमलटारविरुद्ध थ्रीस्टार

१४ः ३० बजे, एन्फा कम्प्लेक्स

  • हिमालयन शेर्पाविरुद्ध चर्च ब्वाइज

१७ः ३० बजे, दशरथ रंगशाला

प्रकाशित : फाल्गुन २६, २०७९ ०६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बहालवाला मुख्यसचिवमाथि नै भ्रष्टाचार मुद्दा दायर भएको छ । यसबारे तपाईं के भन्नुहुन्छ ?

x