कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

बाढीपहिरोको मारमा भूकम्पपीडित

रुकुम पश्चिममा ३ को मृत्यु, १३ घाइते, एक बेपत्ता, जाजरकोटका २८ बस्ती पहिरोको उच्च जोखिममा

सुर्खेत,रुकुम पश्चिम — रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–१२ बगरनजिक तातोपानी खोलाले भूकम्पपीडितको अस्थायी टहरा बगाउँदा सोमबार ३ जनाको ज्यान गएको छ भने झिन्चौर खोलाले बगाएर एक जना बेपत्ता छन् ।

बाढीपहिरोको मारमा भूकम्पपीडित

बाढीले स्थानीय शेरबहादुर पुनको अस्थायी टहरा बगाउँदा उनकी नातिनी ८ वर्षीया हितमाया पुन, ५ वर्षीया धनिषा पुन र ४ वर्षीया बालिका मनीषा सार्कीको मृत्यु भएको हो । पुनको घरमा बसिरहेका ६ जना घाइते छन् ।

त्यस्तै झिन्चौर खोलाले बगाएर ४० वर्षीय डिल्ली बुढाथोकी बेपत्ता छन् भने अन्य ३ जना घाइते छन् । खहरेको बाढीले अस्थायी टहरामा क्षति पुर्‍याउन थालेपछि भाग्न खोजेका उनीहरूमध्ये डिल्ली बगेर बेपत्ता भएका हुन् । बाढीका कारण ५ वटा अस्थायी टहरा पूर्ण क्षतिग्रस्त र २१ अस्थायी आवासमा आंशिक क्षति भएको छ ।

त्यस्तै मंगलबार राति जाजरकोटको कुशे गाउँपालिका–४ दल्लेका भूकम्पपीडितको अस्थायी टहरा पहिरोले पुरिँदा ४ जना घाइते भएका छन् । स्थानीय विष्णु थापा र दलसरी थापाको अस्थायी टहरा पहिरोले पुरिएपछि दलसरीसहित उनकी ४ वर्षीया छोरी हस्तिका र १७ वर्षीया छोरी नीरमाया घाइते भएका हुन् । विष्णुकी २० वर्षीया श्रीमती कमला थापा घटनामा परी घाइते भएकी छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । सबैलाई सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ ।

भूकम्पपछि जाजरकोट र रुकुम पश्चिमका गाउँहरू बाढीपहिरोको उच्च जोखिममा छन् । पहिरोका कारण जाजरकोटको भेरी नगरपालिका–१ मैदेस्थित च्याउपानीका १६ परिवार विस्थापित भएका छन् । वडा कार्यालयले ११ परिवारलाई नजिकैको विद्यालयमा स्थानान्तरण गरेको हो । ४ परिवार भारत र एक परिवार आफन्तको घरमा गएका छन् । ‘भूकम्पका कारण घरमाथिको जमिन चर्किएर चिराचिरा परेको छ, पानी परेको पर्‍यै भएपछि अस्थायी आवासबाट उनीहरूलाई सुरक्षित स्थानमा सारिएको हो,’ भेरी–१ का वडाध्यक्ष दीपक रानाले भने ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीका अनुसार जाजरकोटका २८ बस्तीका झन्डै ३ सय परिवार पहिरोको उच्च जोखिममा छन् । उनले गाउँ आसपासको जमिन भूकम्पका कारण चिराचिरा परेपछि बस्तीहरू उच्च जोखिममा परेको बताए । ‘जोखिममा रहेका परिवारलाई अहिल्यै स्थानान्तरण गर्न सकिने अवस्था छैन,’ उनले भने, ‘त्यसैले स्थानीय जनप्रतिनिधिले निगरानी गरिरहनुभएको छ, झन्डै ३ सय सुरक्षाकर्मी पनि तयारी अवस्थामा राखेका छौं ।’

रुकुम पश्चिमको आठबीसकोट—११, १२ र १३ मा पनि बाढीले ९८ भूकम्पपीडित परिवार विस्थापित भएको नगर प्रमुख रवि केसीले बताए । उनका अनुसार १५ सय ५७ घरपरिवार बाढी र पहिरोको उच्च जोखिममा छन् । ‘एक त भूकम्पले हामीलाई ठूलो पीडा दिएको थियो, त्यसमा बाँचेका नागरिकलाई पनि बाढीले दुःख दिएको छ,’ उनले भने, ‘विस्थापित परिवारलाई तत्कालका लागि राहत वितरण गरेका छौं, थप क्षति हुन नदिन सुरक्षा निकाय र संघसंस्थालाई तयारी अवस्थामा राखिएको छ ।

वर्षापछि आफूहरूको बिचल्ली भएको आठबीसकोट—१२ झिन्चौरकी विमला पुनमगरले बताइन् । ‘चर्किएको घरमा जाउँ भने फेरि भूकम्प आएर पुरिने चिन्ता, अस्थायी टहराले सामान्य पानी पनि छेक्दैन, एकैछिन पानी पर्‍यो कि खाद्यान्न र लत्ताकपडा भिजेर हैरान हुन्छ,’ उनले भनिन्, ‘गाउँ वरिपरिको भाग भूकम्पले चिरैचिरा पारेको छ, त्यसैले राति पानी परे पहिरो जाने डरले सुत्नै सकिन्न, ठूलो पानी पर्न थाले जाग्राम बस्नुपर्ने बाध्यता भयो ।’

भूकम्पले गाउँको चारैतिरको जमिन फाटेपछि त्रासैत्रासमा अस्थायी टहरामा बस्नुपरेको सानीभेरी गाउँपालिका–१ चाइनाबगरकी निशा घर्तीले बताइन् । ‘राति पानी परे पहिरोले टहरो बगाउने चिन्ता छ, त्यसैले जाग्राम बस्छौं,’ उनले भनिन्, ‘भत्किएका घरका पुराना टिन अस्थायी आवासको छानामा प्रयोग गरिएकाले पानी परे परिवारलाई ओत दिनै मुस्किल भयो ।’ अहिले अधिकांश भूकम्पपीडितले वनजंगलको छेउ, खोलाकिनार, बारीछेउ भिरालो जग्गामा अस्थायी आवास बनाएका छन्, जसका कारण बाढीपहिरोको ठूलो जोखिम रहेको नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेश महासचिव नरबहादुर नेपालीले बताए । ‘चिसो र गर्मीमा त स्वास्थ्य समस्या मात्र देखियो,’ उनले भने, ‘अब कति अस्थायी टहरा बाढीपहिरोले बगाउने हो, भन्नै सकिन्न ।’

भूगर्भविद् चन्दन गिरी भूकम्पले प्रभाव परेका ठाउँमा नयाँ पहिरोको जोखिम अत्यधिक रहेको बताउँछन् । उनका अनुसार अरू सामान्य अवस्थाभन्दा भूकम्पपछिको समयमा पहिरोको जोखिम झन्डै ८० प्रतिशतले बढी हुन्छ । भूकम्पपछि उनी नेतृत्वको ५ जनाको टोलीले जाजरकोटको नलगाड, भेरी नगरपालिका र बारेकोट गाउँपालिकाका केही गाउँमा अध्ययन गरेको थियो । अध्ययनका क्रममा विभिन्न बस्ती आसपासको जमिन फाटेको भेटिएको थियो । ‘बर्खा सुरु भइसकेको छ, ती फाटेका ठाउँमा भूक्षय र पहिरोको जोखिम छ,’ उनले भने, ‘त्यसले पनि ठूलो जनधनको क्षति हुने जोखिम देखियो ।’

जाजरकोटका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले अहिले पूरै जिल्ला भूकम्प र मनसुनको विपद्मा रहेको बताए । उनका अनुसार अविरल वर्षाका कारण सबै सडक बन्द भएपछि जुनीचाँदे, कुशे, बारेकोट र शिवालय गाउँपालिकाको सदरमुकामसँग यातायात विच्छेद भएको छ । पानी निरन्तर परिरहेकाले सबैलाई सचेत गराइएको र सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको उनले बताए । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रविलाल शर्माले भूकम्प प्रभावित बस्तीहरूमा सम्भावित जोखिम न्यूनीकरणका लागि सबै सुरक्षा संयन्त्र तयारी अवस्थामा राखिएको जानकारी दिए ।

जाजरकोटको बारेकोटलाई केन्द्रबिन्दु बनाएर गत कात्तिक १७ मा भूकम्प गएको थियो । जसबाट जाजरकोटमा मात्रै ४८ हजार ५ सय १७ लाभग्राही कायम भएका छन् । जसमध्ये ३४ हजार ९ सय ५४ अस्थायी आवास निर्माण भएका छन् । बाँकी परिवार त्रिपाल र पुरानै घरमा बस्न बाध्य छन् ।

प्रकाशित : श्रावण ४, २०८१ ०६:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×