कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

सिद्धार्थ राजमार्ग : हरेक वर्षायाममा जोखिम

कतिपय स्थानमा तीन महिनाअघि मात्र होइन, दुई वर्ष पहिले खसेको पहिरोसमेत सफा गरिएको छैन
माधव अर्याल

पाल्पा — सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा खण्डको तिनाउ गाउँपालिका–५ स्थित हिउँदेखोला नजिकै झण्डै ६० मिटर सडक भासिएको छ । यो पहिलो पटक भासिएको होइन । दुई वर्षअघि झण्डै ५० मिटर सडक जगैदेखि भासिएपछि तीन दिनसम्म सवारी साधन सञ्चालनमा कठिनाइ भएको थियो । सडक भासिएपछि यहाँका जनप्रतिनिधिले प्रदेश र संघीय सरकारसमक्ष आवाज उठाए । तर बजेट भने पर्याप्त परेन ।

सिद्धार्थ राजमार्ग : हरेक वर्षायाममा जोखिम

यसपटक साउन ७ मा पुनः यही खण्ड भासिएपछि यातायात सञ्चालन गर्न डायभर्सन गरिएको छ । यसको दिगो समाधान भने अझै खोजिएको छैन । विगतको डायभर्सनभन्दा यसपटक फरक ढंगले गरिएको सडक डिभिजन पाल्पाका प्रमुख बाबुराम सापकोटाले बताए । ‘जिओटेक्निकल इन्जिनियरहरूको सल्लाहमा सवारी साधन गुड्ने स्थानमै जालीमा ढुंगा भरेर राखिएको छ,’ उनले भने, ‘होइन भने डायभर्सन नै अडिएन । केही घण्टामै डायभर्सन दबियो ।’

सडकको भित्ता र तल्लो भागमा कमजोर भूगोल भएकाले डायभर्सनसमेत समस्या भएको उनले बताए । तर यो पनि सवारी सञ्चालनका लागि अस्थायी समाधान खोजिएको हो । हिउँदेखोलामा ४ करोड बढी बजेट खर्च भइसक्दा सडक स्थिर गर्ने उपाय अझै खोजिएको छैन ।

सिद्धार्थ राजमार्गको राम्दी–पोखरा सडक खण्डअन्तर्गत स्याङ्जाको गल्याङ नगरपालिका–११, तुल्सीभञ्ज्याङ र गल्याङ नगरपालिका–३, गल्याङ बजारनजिक दुई साताअघि राजमार्ग भासिएको थियो । वर्षाले राजमार्ग भासिएपछि सयौं सवारी साधनले जोखिम मोलेर यात्रा गर्नुपरेको छ । सडक भासिएपछि डायभर्सन गरेर सवारी साधन सञ्चालन गरिएको सडक डिभिजनले जनाएको छ । गल्याङ प्रहरी चौकीका अनुसार तल्लो भागमा आँधीखोला किनारबाट जमिन भासिएको हो । स्थानीय तहको प्रयासमा सडक एकतर्फी सञ्चालनमा छ ।

यी केही उदाहरण हुन् । कतिबेला ठूलै दुर्घटना हुने हो कि भन्ने जोखिम सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा र स्याङ्जाका विभिन्न स्थानमा छ । राजमार्गको यात्रा स्याङ्जाभन्दा पाल्पातर्फ बढी जोखिमपूर्ण छ । ‘वर्षौंदेखि यात्रा गरिएको छ तर कहिल्यै समाधान भएको पाएको छैन,’ स्याङ्जाको गल्याङ नगरपालिका गल्याङ्का महेश भट्टराईले भने, ‘यसमा सम्बन्धित निकायको ध्यान कहिले पुग्ने हो भन्ने लाग्छ ।’ राजमार्गको पाल्पा खण्डमा तिनाउ गाउँपालिका–३, भूतखोला, कदमबास, हेडबक्स, नाग मन्दिर, पैठेडाँडा, झुम्सा लामेदमार, पानी मिल, सिसुवा लगायतका स्थानमा सडक भासिएको वर्षौं भइसक्यो । तर त्यसको समाधान अहिलेसम्म खोजिएको छैन ।

तिनाउ–५ को हिउँदेखोला, गिट्टीखानी, कालीमाटी, तानसेन–८ को गौडेपुल, डुम्रेमा पनि सडक भासिएको छ । रम्भा गाउँपालिका–३, पीपलडाँडाको सीता पहाड क्षेत्रमा पनि ठाउँठाउँमा सडक भासिएको छ । धेरै स्थानमा पहिरो खसेर सडक एकतर्फी छ । ‘राजमार्गमै ठाउँठाउँमा एकतर्फी सडक हुँदा समयमा पुग्न सकिने अवस्था छैन,’ तानसेन नगरपालिका–११, बन्दीपोखराका श्याम घिमिरेले भने, ‘सवारी साधन सञ्चालनमा हुने मात्र होइन, यात्रुलाई समेत सास्ती भोग्नुपर्ने अवस्था छ ।’

सिद्धार्थ राजमार्ग पहाडी र हिमाली जिल्ला जोड्न छोटो पर्छ । पछिल्लो समय पोखरादेखि मुस्ताङसम्मका सवारी साधन यही राजमार्ग भएर गुड्छन् । सडक स्तरोन्नति सुरु भएपछि नारायणघाट भएर पोखरा जाने सवारी साधनसमेत पाल्पा–स्याङ्जा भएर ओहोरदोहोर गर्छन् । ‘बुटवदेखि नारायणगढ हुँदै पोखरा जान लामो पर्छ र पछिल्लो वर्षमा सडकको अवस्था पनि नाजुक छ,’ ट्रक चालक पीताम्बर भट्टराईले भने, ‘पछिल्लो समयमा सवारी साधनको चाप यता अधिक बढेको छ । यो बाटो प्रयोग गर्दा पनि दुःख र सास्ती भोग्नुपर्ने अवस्था आएको छ ।’

राजमार्गको सिद्धबाबा क्षेत्रका कदमबास, हेडबक्स, नाग मन्दिर, पैठेडाँडा, झुम्सा क्षेत्रका सडक भासिएको पनि वर्षौं भइसकेको छ । यसको दिगो व्यवस्थापन भएको छैन । भूतखोलामा १० वर्षदेखि सडक भासिने समस्या छ । लामेदमार, पानी मिल लगायतका स्थानमा पनि अवस्था उस्तै छ । कतिपय स्थानमा तीन महिनाअघिमात्र होइन, दुई वर्षअघि खसेको पहिरोसमेत सफा गरिएको छैन । पहिरो नपन्छाउँदा र सडक भासिँदा एकतर्फी मात्र यातायात सञ्चालनमा रहेको रिब्दीकोट–४, भैरवस्थानका यात्रु देव खनालले बताए ।

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको हिउँदेखोलामा झण्डै ६० मिटर सडक भासिएपछि सवारी साधन गुड्ने भागमै ग्याभिएन जाली भरिंदै ।

‘एकतर्फी र भासिएका सडकका कारण यात्रामा समय र दुर्घटनाको जोखिम बढे पनि सडक विभागलाई वास्तै छैन,’ उनले भने, ‘राजमार्गको सुधार कहिले हुने हो, थाहा छैन । हिउँद, वर्षा जहिलेसुकै उस्तै छ ।’ बगनासकाली गाउँपालिका–६, यम्घाकी स्मृति बस्याल पनि वर्षायाम लाग्नासाथ यात्रा गर्नै समस्या हुने बताउँछिन् । ‘राजमार्गमा दैनिक सयौं सवारी साधन गुड्छन्,’ उनले भनिन्, ‘तर भासिएका, पहिरो खस्ने स्थानको रोकथामको दिगो उपाय खोजेको देखिएको छैन ।’

पछिल्लो १५ वर्षयता चुनढुंगा बोक्ने, अधिक भार बोक्ने ट्रिपरका कारण सडक भासिने, पहिरो खस्ने समस्या बढेको यात्रुको गुनासो छ । अधिक भार बोकेका सवारी साधनले सडक बिगार्ने गरेका छन् । मर्मत गरेको सातामै पुनः बिग्रने समस्या पनि उस्तै छ ।

मालवाहक १६ चक्केसम्मका ट्रकका कारण सवारी साधन समयमा गन्तव्यमा पुग्न सक्दैनन् । ‘पहिरो र भासिएका सडकले गर्दा सिद्धार्थ राजमार्ग भएर यात्रा गर्दा समयमै गन्तव्यमा पुग्न सकिने अवस्था छैन,’ गुल्मीको मुसीकोट नगरपालिका वामीटक्सारका किसान श्रेष्ठले भने, ‘सडक बिग्रने, भासिने हुन्छ तर समयमा मर्मत पनि हुन्न । दुःख पाउने त आखिर यात्रीले न हो ।’ राजमार्गका धेरै स्थानमा अहिले पहिरो खसेको छ । सडक डिभिजनले समयमा पन्छाउँदैन ।

वर्षायाममा दैनिकजसो सवारी साधन समयमा गन्तव्यमा पुग्न सक्दैनन् । गण्डकी प्रदेशका अधिकांश जिल्ला जोड्ने सडक भए पनि पाल्पा खण्डमै सबैभन्दा बढी समस्या छ । सडक डिभिजन पाल्पाका सूचना अधिकारी दुर्गा गौतमका अनुसार भासिएका सडकमा तल्लो भागमा टेवा, पर्खाल लगाउने ठेक्का भएको छ । ‘कतिपय स्थानमा अघिल्लो आर्थिक वर्षमै ठेक्का लागिसकेको छ,’ उनले भने, ‘हिउँदेखोलामा विगतमा पनि रोकथामको काम भएको हो । अन्य स्थानमा चालु आर्थिक वर्षमा काम हुन्छ ।’

तस्बिरहरू : माधव अर्याल/कान्तिपुर

सिद्धार्थ राजमार्ग भएर पाल्पा हुँदै स्याङ्जा, पर्वत, गुल्मी, बाग्लुङ, म्याग्दी, पर्वत, कास्की, मुस्ताङसम्म पुग्ने यात्रुलाई यो बाटो छोटो पर्छ । त्यसैले धेरै यात्रुले यही राजमार्ग रोज्ने गर्छन् । भारतबाट आउने अधिकांश यात्रुको यात्रा पनि यही राजमार्ग भएर हुन्छ । दैनिक यो राजमार्ग भएर कम्तीमा ५ हजार सवारी साधन ओहोरदोहोर गर्छन् । जथाभावी सडक चौडा गर्ने तर नाली नबनाउने, रिटेनिङ वाल नलगाउँदा पनि पहिरोको जोखिम राजमार्गमै बढेको हो । तानसेन नगरपालिका–६ नयाँगाउँ, जनप्रिय माविको पछिल्लो भाग भासिएको छ । ‘राजमार्ग चौडा गर्न प्रारम्भिक वातावरणीय परीक्षणसमेत गरिएको छैन,’ तानसेन–६ का मणि गैरेले भने, ‘जथाभावी सडक चौडा गर्दा घर विद्यालय जोखिममा परेका छन् ।’

वर्षायाममा हुने जोखिम न्यूनीकरणका लागि पूर्वतयारी नगर्दा राजमार्गको पाल्पा खण्डमा बर्सेनि यात्रुले सास्ती खेप्नु पर्ने उनले बताए । राजमार्ग क्षेत्रमा देखिएका समस्या समाधान समयमै नहुँदा सामान्य वर्षामा समेत राजमार्ग अवरुद्ध हुने समस्या वर्षौंदेखि यथावत् छ ।

सडक विभागले हिउँदेखोला, सीतापहाड, भूतखोला लगायतका स्थानमा जमिनमुनिबाट पानी बगिरहेको अध्ययनले देखाएको छ । त्यही पानीलाई तलबाट ड्रिलिङ गरेर निकालेर मात्रै माथिको भागमा सडक बनाउनुपर्ने जिओटेक्निकल इन्जिनियर मधुसूदन आचार्यले बताए । सडक विभागबाट कन्सल्ट्यान्टको काम गर्दै आएका उनले भने, ‘सडकको अध्ययन भएको छ । तर त्यही अनुसारको काम अघि बढेको थाहा पाएको छैन ।’

सडक विभागले खटाएपछि हिउँदे खोला भासिएको स्थानमा आएका आचार्यले पहिलो काम पानी ड्रिलिङ गरेर निकाल्न जरुरी रहेको बताए । त्यसपछि ग्याभियन वाल, रिटेनिङ वाल, नाली निर्माण लगायतका काम गर्नुपर्ने उनको सुझाव छ । सडक भासिने समस्या देखिएपछि सिद्धार्थ राजमार्गको चिडियाखोलादेखि राम्दीसम्म सडक विभागले अध्ययन गरे पनि त्यसलाई कार्यान्वयन भने गरेको छैन ।

शाखा सडक जथाभावी विस्तार गर्ने, सडक डिभिजनले नाली नियमित सफाइ नगर्ने, कल्भर्ट पुरिँदासमेत बेवास्ता गर्नु र माथिल्लो क्षेत्रबाट बगेर आउने ढुंगा र माटोका कारण सामान्य वर्षा हुँदा पनि राजमार्गमा लेदो, ढुंगामाटो, गेग्रेटो आउने र तल्लो भाग भासिने समस्या छ ।

प्रकाशित : श्रावण १२, २०८१ १२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×