कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

३१ हजार १ सय ९५ जनालाई सडक लेन सम्बन्धी सचेतना

माधव ढुंगाना

भैरहवा — सडक दुर्घटना न्युनीकरणका लागि रुपन्देहीमा संचालन गरिएको ‘मेरो सवारी, मेरो लेन’ सम्बन्धी सचेतना अभियानबाट ३१ हजार १ सय ९५ जना चालकलाई सचेतना प्रदान गरिएको छ ।

३१ हजार १ सय ९५ जनालाई सडक लेन सम्बन्धी सचेतना

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी र जिल्ला ट्राफिक प्रहरीको संयुक्त आयोजनामा संचालन गरिएको यो अभियानको गत असार २६ गते गृह सचिव एकनारायण अर्यालले सीमा नाका बेलहियाबाट सुरुवात गरेका थिए ।

अभियान अर्न्तगत साना–ठूला सबै किसिमका सवारीलाई लेन अनुशासन सम्बन्धी सचेतना शिक्षा दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक बजिरसिंह विष्टले बताए । ‘साताव्यापीमा साँझ–बिहान दुई/दुई घण्टा रुपन्देहीको दुई दर्जन भन्दा बढी स्थानका सडकमा सचेतना शिक्षा संचालन गरिएको थियो,’ बिष्टले भने, ‘अभियानले चालकलाई सडक लेन अनुशासनबारे धेरै कुरा जानकारी गराएकाले आउने दिनमा लेन उल्लंघनकै कारण हुने दुर्घटनामा कमी आउने विश्वास छ ।’

उनका अनुसार, अभियानका क्रममा ठूला सवारी साधन ११ हजार ६ सय १२ र साना १९ हजार ५ सय ८३ वटाका चालकलाई लेन अनुशासन सम्बन्धी सचेतना शिक्षा दिइएको हो । रुपन्देहीको मुख्य सहरी क्षेत्रका सडक, प्रमुख राजमार्ग, हुलाकी सडक लगायतका सडकमा ट्राफिक प्रहरीले लेन अनुशासन सम्बन्धी सचेतना शिक्षा चलाएको थियो ।

बिद्यार्थी र सामाजिक तथा व्यवसायिक संघ संस्थाले अभियानमा स्वयंसेवीका रुपमा ट्राफिक प्रहरीसंग सडकमा खटिएका थिए । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अभियान निकै प्रभावकारी भएको दावी गर्दै अभियानलाई निरन्तरता दिन जरुरी रहेको बताए । ‘सडक लेनको पालना नगरी उल्लंघन गर्नेलाई अब कारबाही गर्न पछि हट्नु हुदैन,’ अर्यालले भने ।

प्रकाशित : श्रावण ५, २०८१ १७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×