कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

शुक्रबार मध्याह्नबाट भैरहवा विमानस्थल सञ्चालन

भैरहवा — भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल शुक्रबार मध्यान्हबाट सञ्चालनमा आएको छ । मध्यान्हपछि विमानस्थलबाट उडान र अवतरण नियमित रुपमा सञ्चालन भइरहेको छ । अहिले काठमाडौंबाट आएका विमान यहाँ अवतरण गरेर पुनः गन्तव्यमा उडान भरिरहेका छन् ।  

शुक्रबार मध्याह्नबाट भैरहवा विमानस्थल सञ्चालन

विमानस्थलका सूचना अधिकारी विनोद रावतका अनुसार सुरुमा बिहीबार राति आएर यहीँ होल्ड गरिएका तीनवटा जहाज यहाँबाट डिपार्चर भएका थिए । मध्यान्हबाट विमानस्थल पूर्णरुपमा सञ्चालनमा आइसकेको रावतले जानकारी दिए । ‘अहिले उडान र अवतरणमा कुनै समस्या छैन,’उनले भने, ‘विमानस्थल सञ्चालनमा आइसकेको छ ।’

रावतका अनुसार बिहीबार राति अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको बुद्ध एयरको जहाज अझैं हटाउन सकिएको छैन । जहाज संवेदशील हुने भएकाले सावधानीपूर्वक हटाउने काम भइरहेको उनले बताए । धावनमार्गबाट ४/५ मिटर टाढा घाँसे मैदानमा पुगेको जहाजलाई शुक्रबार बिहानबाट बुद्ध एयरको प्राविधिक टिम, विमानस्थलको ग्राउण्डह्याण्डलिङ टिम र सुरक्षाकर्मीले निकालेर अराइभलमा ल्याउने प्रयास गरिरहेका छन् ।

विमानस्थलको धावनमार्ग लामो र फराकिलो भएकाले सञ्चालनमा बाधा नपुग्ने रावतले बताए । धावनमार्गबाट चिप्लिएको विमानका तीनवटै चक्का माटोमा धसेका कारण समय लागेको हो । चक्का माटोमा गडेका छन् । चालकदलका सदस्यसहित ५९ जना सवार जहाज बिहीबार राति १० बजेतिर अवतरण गर्नेक्रममा चिप्लिएको थियो । लगत्तै उद्धारकर्मीले सबै यात्रुलाई सुरक्षित निकालेका थिए ।

प्रकाशित : असार २८, २०८१ १३:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×