कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

रुपन्देहीको बेलहिया नाकामा ‘वाकथ्रु’ मेसिन जडान 

भैरहवा — मुलुकमै स्थलमार्गबाट धेरै आवागमन हुने रुपन्देहीको बेलहिया नाकामा बुधबार ‘वाकथ्रु’ मेसिन राखिएको छ । भारतबाट मुलुक भित्रिने नागरिकको सुरक्षा जाँच व्यवस्थित गर्न यस्तो मेसिन जडान गरिएको हो ।

रुपन्देहीको बेलहिया नाकामा ‘वाकथ्रु’ मेसिन जडान 

जिल्ला प्रशासन कार्यालय रुपन्देहीको पहलमा मुलुकमा पहिलोपटक सीमा नाकामा यस्तो मेसिन राखिएको हो । भारतीय पक्षले लामो समयदेखि आफ्नोतर्फ यस्तो मेसिन जडान गरेर नेपालबाट बाहिरिने नागरिकको जाँच गर्दै आएको छ ।

उक्त मेसिन जडानका लागि सिद्धार्थनगर नगरपालिकाले आर्थिक सहयोग गरेको थियो । बुधबार गृह सचिव एकनारायण अर्यालले मेसिनको शुभारम्भ गरेका थिए ।

लामो समयदेखि जिल्लाका पर्यटन तथा उद्योगी व्यवसायीले नाका व्यवस्थित गर्नुपर्ने माग गर्दै आएका थिए । व्यवसायीको मागपछि प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले मेसिन जडानका लागि पहल थालेका थिए । मुलुकको शान्ति सुरक्षा कायम राख्न यस्ता उपकरणले महत्वपूर्ण योगदान दिने गृह सचिव अर्यालले बताए । ‘प्रमुख जिल्ला अधिकारीको नेतृत्व गरेर सीमा क्षेत्रलाई व्यवस्थित र सुरक्षित तुल्याउन गरिएको प्रयास सह्रानीय छ’, अर्यालले भने, ‘सबैको सहयोग भयो भने सकारात्मक र दीर्घकालीन काम गर्न सकिन्छ भन्ने एउटा उदाहरण बनेको छ ।’

सीमा नाकाहरु व्यवस्थित बनाउन गृह प्रशासनको तर्फबाट आवश्यक सबै किसिमका काम र सहयोग हुने उनले जनाए । ‘नागरिकको जिउधनको सुरक्षासँगै मुलुकको शान्ति सुरक्षामा विशेष ध्यान दिएर काम गरिरहेका छौं’, गृह सचिवले भने, ‘यसकालागि सबै संयन्त्रले चौबीसै घण्टा खटेर काम गरिरहेका छन् ।’ वाकथ्रु मेसिनले अवैध सामान मुलुक भित्र्याउन रोक्ने उनले विश्वास व्यक्त गरे ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) अर्यालले नाकालाई व्यवस्थित गर्ने प्रयास स्वरुप काम वाकथ्रु मेसिन जडान गरिएको बताए । ‘भारततर्फ जाँदा एक–एक गरेर वाकथ्रु मेसिनबाट जाँच गरेर बल्ल प्रवेश दिइन्छ’, उनले भने, ‘नेकपालतर्फ आउँदा अधिकांशलाई सामान्य जाँच समेत हुँदैन । त्यसैले अब हरेक व्यक्ति नेपाल आउँदा उसको सम्पूर्ण सुरक्षा जाँच हुनुपर्छ भनेर वाकथ्रु मेसिन राखेका हौं ।’

प्रजिअ अर्यालका अनुसार चीनमा बनेको यो वाकथ्रु मेसिन अत्याधुनिक छ । उनका अनुसार यसले दैनिक प्रयोगका वस्तुलाई डिटेक्ट गर्दैन । ‘तर, लागूऔषध, विष्फोटक पदार्थ, सुनचाँदीलाई भने डिटेक्ट गर्छ’, उनले भने, ‘यसले सुरक्षालाई मजबुत पार्दै अवैध सामान भित्रन रोक्ने अपेक्षा छ ।’

सिद्धार्थनगर नगरपालिकाको साढे ५ लाख रुपैयाँ लगानीमा प्रशासनले वाकथ्रु मेसिन खरिद गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले सुरक्षा महत्वपूर्ण विषयवस्तु भएकाले यसमा नगरपालिकाले प्रशासनको आग्रहलाई स्वीकार गरेर मेसिन खरिदमा सहयोग गरेको जनाए

प्रकाशित : असार २६, २०८१ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×