कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

रुपन्देहीमा एकसातासम्म लेन अनुशासन सिकाइने

भैरहवा — लुम्बिनी प्रदेशको व्यापारिक केन्द्र रुपन्देहीमा स्तरीय सडक सञ्जाल बिकाससँगैं सवारी साधन दुर्घटना न्यूनीकरण गर्न एक सातासम्म लेन अनुशासन सिकाइने भएको छ । जिल्ला प्रशासनको अगुवाई र ट्राफिक प्रहरीको समन्वयमा ‘मेरो सवारी, मेरो लेन’ नारासहित साताव्यापी जनचेतना कार्यक्रम सुरु गरिएको हो । 

रुपन्देहीमा एकसातासम्म लेन अनुशासन सिकाइने

गृहसचिव एकनारायण अर्यालले बसमा लेन अनुशासन सम्बन्धी नारा उल्लेख गरिएको स्टीकर टाँसेर बुधबार बिहान भैरहवाको बेलहियामा उक्त कार्यक्रम शुभारम्भ गरेका थिए ।

सुभारम्भ लगत्तै विभिन्न संघसंस्था र नागरिकको सहभागितामा लेन अनुशासन सिकाउन थालिएको छ । गृहसचिव अर्यालले सहरीकरणसँगै सडकमा गाडीको संख्या बृद्धि भएको तर, चालकले लेन अनुशासन पालना नगर्दा दुर्घटना बढ्ने गरेकाले यस्तो चेतनामूलक कार्यक्रमले नागरिकलाई लेन अनुशासन पालना गर्न सिकाउने बताए ।

‘नागरिकको सहभागितामा सञ्चालन गरिने कार्यक्रमको प्रभावकारिता हुन्छ,’गृहसचिव अर्यालले भने, ‘यसलाई प्रभावकारी तुल्याउन प्रशासन, प्रहरीले मात्र होइन, यहाँका संघसंस्थाले पनि हातेमालो गर्नुपर्छ ।’

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जिल्ला प्रशासन, जिल्ला प्रहरी र ट्राफिक प्रहरीबीच समन्वयमा कार्यक्रम सञ्चालन गरिएको बताए । जिल्लामा रहेका संघसंस्थासित समन्वय गरेर प्रत्येक दिन सडकमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने उनले बताए ।

जिल्लामा फराकिला सडक भएपनि चालकले लेन अनुशासन पालना नगर्दा दूर्घटना बढ्नुका साथै ट्राफिक अस्तव्यस्त हुने गरेको बताए । त्यस्तो समस्या समाधान गर्न र नागरिकलाई लेनको महत्व बुझाउन कार्यक्रम गरिएको बताए । कार्यक्रमकालागि जिल्ला प्रशासनले आर्थिक र प्राविधिक स्रोत जुटाएको उनले बताए ।

लेन अनुशासन कार्यक्रमको संयोजन गरेका जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक बजिरसिंह विष्टले जिल्लाका मुख्य सडक र व्यस्त चौराहामा विद्यार्थी, नागरिक संघसंस्था, सञ्चारकर्मी, आमा समूह, टोल समिति, उद्योगी, व्यवसायीको सहभागितामा प्रत्येक दिन जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताए । कुन दिन कस्ता कार्यक्रम सञ्चालन गर्ने भन्ने विषयको योजना बनाएर जिल्ला ट्राफिकले समन्वय गरिरहेको विष्टले जानकारी दिए ।

‘कुन दिन कहाँ, कसरी र कस्तो कार्यक्रम सञ्चालन गर्ने भन्ने बारेमा योजना बनाइएको छ,’उनले भने, ‘स्थानीयसित समन्वयका लागि पत्राचार गरेका छौं, कतिपय ठाउँमा आफैँ पुगेर समन्वय गरेको छु ।’

प्रकाशित : असार २६, २०८१ १८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×