कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

रुपन्देहीका व्यवसायीले जुटाए ‘ब्लडमनी’

भैरहवा — रुपन्देहीको उद्योगी व्यवसायीले साउदी अरबमा मृत्युदण्ड पाएका धनुषाको जनकपुरका एक व्यक्तिको जीवनरक्षाका लागि ब्लडमनी जुटाएका छन् । पीडित पक्षको माग अनुसार रकम नजुटेपछि जिल्लाका ३० जना व्यवसायीले सहयोग जुटाएका हुन् । 

रुपन्देहीका व्यवसायीले जुटाए ‘ब्लडमनी’

जिल्ला प्रशासन कार्यालयका अनुसार साउदी अरबमा एउटै कम्पनीमा काम गर्ने र साथै बस्ने साथीबीच विवाद हुँदा रुपन्देहीको कन्चन गाउँपालिका–४, का दुर्गाप्रसाद शर्माको ज्यान गएको थियो । भान्सामा रहेको छुरी प्रहारबाट साथीको हत्या अभियोगमा धनुषाको जनकपुर नगरपालिका–१७, का रामाशिस यादव पक्राउ परेका थिए ।

साउदी अरबको अदालतले सन २०१८ सेप्टेम्बर ६ तारिखमा भएको उक्त घटनामा दोषी ठहर गरेर यादवलाई पाँच वर्ष कैद सजाय तोक्यो । त्यहाँको ताबुक कोर्टले सन २०२० डिसेम्बर २० तारिखमा सुनाएको उक्त फैसलामा पाँच वर्ष कैद पूरा गरेपछि पीडित परिवारसित ‘ब्लडमनी’ सम्झौंता गर्न र पीडित परिवारकासित सम्झौंता नभएमा मृत्युदण्ड हुने उल्लेख गरेको थियो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार कन्सुलर विभागले २०८० चैत १२ गते पीडक र पीडितबीच ब्लडमनी सम्झौंता भएमा त्यही अनुसार र नत्र सम्झौंता भएन भनेर लेखेर पठाउन भनेको थियो ।

यादव परिवारको जनकपुरमा सम्पतिका नाउँमा १३ धुर जमिन र फुसको घरमात्रै रहेको छ । यता पीडित परिवार ब्लडमनीमा सम्झौंता नगर्ने अडानमा थिए । उनीहरु पीडकलाई कडा सजाय हुनुपर्ने भन्दैं अडिग थिए । यस्तोमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पीडितलाई सम्झाई बुझाई सहमतीकालागि मनाएका थिए । आर्थिक अभाव भएपछि अर्यालले रुपन्देहीका व्यवसायीसित छलफल आयोजना गरे । उक्त छलफलमा यादव परिवारको आर्थिक अवस्था, तीन छोरीको बिचल्ली र मानवीय सहायताबारे उनले भनाई राखे ।

प्रमुख जिल्ला अधिकारी दुबै परिवारको कुरा सुनाएपछि मानवीय नाताले सामाजिक उत्तर दायित्वका हिसावले सहयोग गर्न तयार रहेको व्यवसायीले बताए । उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा र उद्योग वाणिज्य संघ सिद्धार्थनगरका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले सहयोग जुटाउने प्रतिवद्धता जनाए । रुपन्देहीको निजी क्षेत्रका ३० जनाले मंगलबारसम्म ३६ लाख २५ हजार सहयोग जुटाए । यादव परिवारले १० लाख रुपैयाँ संकलन गरे । दुबैं गरेर ४६ लाख २५ हजार रुपैयाँ ब्लडमनी मंगलबार अपरान्ह जिल्ला प्रशासनमा पीडित परिवारलाई बुझाइयो । महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शर्माले उक्त रकम मृतककी पत्नि सीता कुमारी शर्मालाई हस्तान्तरण गरेका थिए ।

प्रकाशित : असार २५, २०८१ २०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×