२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४

स्वास्थ्य र शिक्षामा पहुँचदेखि उत्पादनको बजारीकरणसम्म

पश्चिम नवलपरासी, रूपन्देही र कपिलवस्तुका जनप्रतिनिधिले सर्वसाधारणको शिक्षा र स्वास्थ्यमा पहुँच बढाउनुका अतिरिक्त आफ्ना उत्पादनलाई बजारीकरण गर्ने काममा पनि सहजीकरणको भूमिका निर्वाह गरिरहेका छन् । नमुना पालिकादेखि सुन्दर सहरसम्मका योजना अघि सारेर उनीहरू क्रियाशील छन् ।

स्वास्थ्य र शिक्षामा पहुँचदेखि उत्पादनको बजारीकरणसम्म

पूर्वाधार निर्माणदेखि स्थानीय तहमै न्याय सम्पादन गर्ने, गृहिणी महिलालाई स्वरोजगारसम्म जोड्ने काममा सरिक जनप्रतिनिधि र सरोकारवालाका प्रतिनिधिमूलक धारणा :

‘ब्युटिफुल सहर बनाउँदै छौं’

इस्तियाक अहमद खाँ

प्रमुख, सिद्धार्थनगर नगरपालिका, रूपन्देही

रूपन्देहीको सदरमुकाम भैरहवालाई ब्युटिफुल नगर बनाउँदै छौं । सबैको शिक्षा र स्वास्थ्यमा पहुँच बढाउन ध्यान दिएका छौं । भौतिक पूर्वाधार, कृषि, सामाजिकलगायत क्षेत्रमा विकासको गति बढाइएको छ । नगरको विकासका लागि एसियाली विकास बैंकको फुटपाथ, नालासहितको २५ किलोमिटर बढी सडक र डन्डा नदीलाई करिडोरका रूपमा विकास गर्नका लागि ठूला परियोजना भित्र्याउन सफल भएका छौं । नगरको सौन्दर्यलाई जोड दिएका छौं । देशको संस्कृति झल्किने गरी स्वागतद्वार निर्माण भइरहेका छन् । उज्यालो नगर बनाउन हाइमास्ट लाइट र सडक बत्ती जडान गरिएको छ ।

‘बजार चलायमान बनाइनुपर्छ’

राजेश अग्रवाल

उद्योग समिति सभापति, नेपाल उद्योग वाणिज्य महासंघ

यतिबेला बजारमा माग नभएकाले उत्पादन हुन सकेको छैन । उद्योगहरू धराशायी भएका छन् । आर्थिक मन्दीले गर्दा आमउपभोक्ताले सकेसम्म पैसा बचत गर्ने र खर्च कम गर्ने प्रवृत्ति बढ्न थालेको छ । सञ्चालनमा रहेका उद्योग पनि ३० देखि ४० प्रतिशतमात्र क्षमतामा चलेका छन् । बैंकहरू धेरै भएको अवस्थामा नेपाल राष्ट्र बैंकले सन्तुलन मिलाउन मर्जरको नीति लिएजस्तै उद्योग क्षेत्रमा पनि माग र आपूर्तिलाई सन्तुलन हुने गरी सञ्चालन गर्ने खालको कानुन तत्काल ल्याई कार्यान्वयन गर्नु पर्‍यो ।

‘पूर्वाधार निर्माणमा जोड दिएका छौं’

ध्रुवनारायण चौधरी

अध्यक्ष, मायादेवी गाउँपालिका, रूपन्देही

स्थानीय जनतालाई प्रदान गर्ने सेवा प्रवाह, सुशासन, सुरक्षा, संरक्षण र नियमन लगायतका कार्य संविधानतः स्थानीय तहमा अधिकार प्राप्त भएको सन्दर्भमा हामीले हाम्रा जिम्मेवारीलाई गम्भीर रूपमा बोध गरेका छौं । शिक्षा क्षेत्रमा पूर्वाधारको विकाससँगसँगै पुस्तकालय, साइन्स ल्याब, खानेपानी, कोभिडका लागि सेनिटाइज, मास्कलगायत सबै कुरा सम्पूर्ण विद्यालयमा पुर्‍याइएको छ । साँघुरा सडकलाई फराकिलो गरी कालेपत्र र ढलान गरिएको छ । मायादेवी गाउँपालिकालाई पूर्ण खोप घोषणा गरी गर्भवती महिलालाई पौष्टिक आहार र नियमित चेकजाँचको व्यवस्था गरिएको छ ।

‘सिँचाइको व्यवस्था नै हाम्रो लक्ष्य हो’

बालकृष्ण त्रिपाठी

अध्यक्ष, कोटहीमाई गाउँपालिका, रूपन्देही

कोटहीमाई गाउँपालिका रूपन्देही जिल्लाको कम विकसित गाउँपालिकामध्ये एक हो । यसको भू–बनोट समथर र एकै खालको छ । कृषिको सम्भावना भए पनि १२ महिना प्रशस्त पानीको स्रोत नहुँदा समस्या छ । पालिका पूर्ण रूपले कृषिमै आधारित रहेको हुँदा कृषि क्षेत्रलाई नै प्रवर्द्धन गर्नका लागि विभिन्न आकर्षक योजना लागू गरेका छौं । कृषकलाई सिँचाइ प्रयोजनका लागि निःशुल्क विद्युत् उपलब्ध गराइनेछ ।

‘सडक पूर्वाधारमा जोड दिएका छौं’

ध्रुवप्रसाद खरेल

प्रमुख, देवदह नगरपालिका, रूपन्देही

देवदह नगरपालिकाले भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीदेखि झन्डै ६५ किलोमिटरको दूरीमा रहेको देवदहलाई जोडेर पर्यटन र पूर्वाधार विकासको क्षेत्रमा काम गरिरहेको छ । यहाँका पुराना भग्नावशेष दरबारको उत्खननका लागि लुम्बिनी विकास कोषसँगको प्राविधिक सहयोगमा काम भइरहेको छ ।

एक हजार वर्षभन्दा पुरानो पाकडीको रूखका कुनै पनि हाँगा अहिलेसम्म सुकेका छैनन् । यस रूखमा चरा नबस्ने मात्रै होइन, गुँड पनि लगाउँदैनन् । दर्जनौं विशेषता रहेको पाँकडी रूख हेर्न अहिले दिनहुँ पर्यटकको भीड लाग्ने गरेको छ । यसको संरक्षण र विकासका लागि नगरपालिकाले प्राथमिकताका साथ योजना अघि सारेर पूर्वाधार निर्माणका काम भइरहेका छन् । शिक्षा, स्वास्थ्य, कृषिका क्षेत्रमा पनि नगरपालिकाले प्राथमिकताका साथ योजना अघि बढाएको छ ।

‘गैडहवालाई पर्यटनको केन्द्र बनाउँदै छौं’

सुरेन्द्र पौड्याल

अध्यक्ष, गैडहवा गाउँपालिका, रूपन्देही

गैडहवा तालको विकास, यशोधरा पार्क निर्माण, सूर्यपुरा बहुमुखी क्याम्पसको भवन र १५ शय्याको अस्पताललाई पालिकाको गौरवका योजनाका रूपमा अघि सारेको छ ।

गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट ८ किलोमिटरको दूरीमा रहेको र २७ हेक्टर क्षेत्रफलमा फैलिएको गैडहवा ताललाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने गरी गाउँपालिकाले प्राथमिकतामा राखेर योजनाबद्ध रूपमा काम गरिरहेको छ । लुम्बिनीबाट १२ किलोमिटरको दूरीमा गैडहवा–६ मा यशोधरा पार्क निर्माणको काम अघि बढेको छ । पार्कमा यशोधराको मूर्ति निर्माण गरेर लुम्बिनी आउने बुद्ध धर्मावलम्बीलाई यशोधरा पार्कसम्म पुर्‍याउने लक्ष्यका साथ काम गरिरहेका छौं ।

‘घर–घरमै सेवा पुर्‍याइरहेका छौं’

विष्णुप्रसाद बस्याल

अध्यक्ष, शुद्धोधन गाउँपालिका, रूपन्देही

पालिकाले पेपरलेस कार्यक्रम अघि बढाएको छ । चैतभित्रै वडा नं. २ बाट पेपरलेस गाउँपालिकाको काम सुरु हुनेछ । सुरुमा सबै प्रकारका सिफारिस अनलाइन सेवाबाट सुरु गर्ने तयारी छ । त्यसका लागि एसिया फाउन्डेसनले प्राविधिक सहयोग गरेको छ । पालिकाले बहुउद्देश्यीय कृषि तथा पर्यटकीय योजना पनि अघि सारेको छ । पालिकाभित्रका सबै सीमसार क्षेत्रमा पोखरी निर्माण गर्ने र त्यसलाई सिँचाइ, माछापालन र पर्यटकीय गन्तव्य बनाउने गरी काम अघि बढेको छ ।

‘सिँचाइमा जोड दिएका छौं’

थानेश्वर घिमिरे

अध्यक्ष, सियारी गाउँपालिका, रूपन्देही

सियारी गाउँपालिकाले कृषिलाई पहिलो प्राथमिकतामा राखेर योजना कार्यान्वयन गरिरहेको छ । किसानलाई सहज सिँचाइ सुविधा दिने उद्देश्यले पालिकाले दानव नदीमा दयानगर लिफ्ट सिँचाइ आयोजना र तिनाउ नदीमा सीतापुर लिफ्ट सिँचाइ आयोजना सञ्चालन गरिरहेको छ । साढे दुई सय बिघा जमिनमा पर्याप्त सिँचाइ सुविधा पुग्ने गरी दुवै आयोजनाको काम तीव्र रूपमा भइरहेको छ ।

गाउँपालिकाले अर्को प्राथमिकताको योजनामा १३ किलोमिटर लामो रिङरोडलाई अघि बढाएको छ । त्यस्तै पहिलो ग्रामीण स्वास्थ्य सेवाका रूपमा ग्रामीण फिजियोथेरापी सेवा सुरु गरेको छ । सियारीले छाडा चौपाया नियन्त्रणका लागि गौशाला व्यवस्थापन गरिरहेको छ ।

‘सुशासनमा जोड दिएका छौं’

विमला अर्याल

प्रमुख, सुनवल नगरपालिका, पश्चिम नवलपरासी

स्थानीय तहको कामलाई जनउत्तरदायी बनाउन सुशासनमा जोड दिएका छौं । विकास निर्माणको कामलाई पनि प्राथमिकता र आवश्यकता पहिचान गरेर योजना तर्जुमा गर्ने अभ्यास सुरु गरेका छौं । करको दर बढाउनुभन्दा पनि करको दायरालाई फराकिलो बनाउने, योजनाको अधिकांश काम वडाबाट नै हुने गरी संयन्त्र तयार छ । कृषि पेसालाई निर्वाहमुखीबाट व्यावसायिक बनाउने र त्यसका लागि सिँचाइ तथा प्रविधिमैत्री बनाउने योजना सञ्चालनमा छ । विद्यालय उमेर समूहमा अध्ययन गर्न नपाएका महिलाका लागि छुट्टै महिला विद्यालय सञ्चालनमा ल्याएका छौं ।

‘रामग्रामलाई पिस सिटी बनाउँछौं’

धनपत यादव

प्रमुख, रामग्राम नगरपालिका, पश्चिम नवलपरासी

भगवान् गौतम बुद्धको अस्तुधातु रहेको पवित्रस्थल रामग्राम नगरपालिकालाई ‘पिस सिटी’का रूपमा विकास गर्ने अभियानमा छौं । त्यसका लागि यो क्षेत्रको शिक्षा, स्वास्थ्य, सञ्चार, रोजगारी र उद्यमशीलतामा जोड दिएका छौं । औद्योगीकरणको तीव्र विकास भइरहेको नगर क्षेत्रलाई थप व्यवस्थित बनाउन दीर्घकालीन योजनालाई अगाडि बढाएका छौं । टुक्रे योजनाभन्दा ठूला योजना र जनताले विकासको महसुस गर्ने गरी काम अगाडि बढेको छ ।

‘कृषिलाई प्रविधिमैत्री बनाउँदै छौं’

उमेश यादव

अध्यक्ष, प्रतापपुर गाउँपालिका, पश्चिम नवलपरासी

हाम्रो गाउँपालिका उखु र केरा खेतीका लागि निकै नै उर्वर भूमि हो । यो खेतीलाई प्रविधिमैत्री बनाउने र किसानको उत्पादनलाई बजारीकरणतर्फ ध्यान दिएका छौं । संघीयतापछि स्थानीय तह नै नागरिकको सबैभन्दा नजिकको सरकार भएको हँॅदा स्थानीय तह सुशासनमुखी बन्न सके आमनागरिकसहित सबैले संघीयता र सरकार दुवैको अनुभूति गर्ने गरी काम भइरहेको छ । विकास निर्माणको कामलाई स्थानीय तहको स्रोतबाट हुन नसक्ने कामलाई आवश्यक पहल गरेर संघ सरकारलाई झकझकाउने गरिएको छ ।

‘उद्योगमा रोजगारीका अवसर’

शत्रुघन ढकाल (एसपी)

सञ्चालक, ब्रजेश्वरी इन्डस्ट्रिज

पश्चिम नवलपरासी औद्योगिक क्षेत्रका लागि उपयुक्त छ । भारतसँगको सिमाना जोडिएको, भन्सारको सहज पहुँच भएका कारण भुमही–भैरहवा खण्डमा अहिले धमाधम उद्योग खुलिरहेका छन् । यस क्षेत्रमा रोजगारीको अवसर बढेको छ । आर्थिक विकासको हबका रूपमा यो क्षेत्र विकास गर्न तीनै तहका सरकार लागिपर्न आवश्यक छ । यहाँ स्वरोजगारमुखी उद्योगदेखि बहुराष्ट्रिय कम्पनी खुल्ने क्रम यहाँ जारी छ । पश्चिम नवलपरासी पूर्व–पश्चिम राजमार्गको मध्यभागमा पर्ने भएकाले उद्योग सञ्चालनका लागि यो क्षेत्र सहज बन्दै छ ।

‘बजारीकरणमा जोड दिएका छौं’

बैजुप्रसाद गुप्ता (दीपक)

अध्यक्ष, पाल्हीनन्दन गाउँपालिका, पश्चिम नवलपरासी

यो मेरो जनप्रतिनिधिका रूपमा दोस्रो कार्यकाल हो । पहिलो पटक जनतालाई गरेको वाचाअनुसार पालिकाको स्रोत र साधनले भ्याएसम्म काम गरियो । अहिले फेरि जनताले पालिकाको विकास र समृद्धिका लागि निर्वाचित गराएका छन् । ग्रामीण भेग भएकाले शिक्षा, स्वास्थ्य र कृषिको क्षेत्रमा हामीले बहुवर्षीय योजना बनाएर काम गरेका छौं । स्थानीय उत्पादनको बजारीकरणलाई जोड दिएका छौं ।

‘बुद्ध नगरीको प्रवेशद्वार बनाउँदै छौं’

सुदीप पौडेल

प्रमुख, कपिलवस्तु नगरपालिका, कपिलवस्तु

कपिलवस्तु नगर क्षेत्रभित्र प्रवेश हुनासाथै शाक्य वंशीय राजधानी पुगेको अनुभूति हुने गरी काम गरिरहेका छौं । मुख्य प्रवेश मार्ग सडक ३० मिटर चौडा गरेर कालोपत्र भएको छ । जमुवारदेखि भिक्षुचोकसम्म पुग्ने मुख्य सडकका बीचमा बुद्धको परिवारका विभिन्न व्यक्तिका मूर्ति राखेर पर्यटकलाई बुद्धस्थल प्रवेश गरेको झल्को दिने काम भइरहेको छ । तिलौराकोटभित्र जमिनमुनि रहेको भग्नावशेषलाई रिप्लिका बनाएर रामघाट नजिकै देखाउने योजना बनाइएको छ । निःशुल्क शिक्षाका साथै आधारभूत स्वास्थ्य सेवा सुविधाबाट कोही वञ्चित हुन नपरोस् भनेर नगर क्षेत्रका १३ हजार घरघुरीलाई स्वास्थ्य बिमाका लागि लाग्ने रकममा ५० प्रतिशत अनुदान दिएका छौं ।

‘सचेत नागरिक परिचयपत्र वितरण’

गोपाल थापा

अध्यक्ष, विजयनगर गाउँपालिका, कपिलवस्तु

आगामी वैशाख १ बाट सचेत नागरिक परिचयपत्र वितरण गर्दै छौं । बालबालिकाको अनिवार्य विद्यालय भर्ना, बालविवाह तथा बालश्रम अन्त्य गर्ने इन्डिकेटर राखेका छौं । स्वास्थ्य संस्थामा गर्भवती चेकजाँच र डेलिभरी गराउने इन्डिकेटर छ । गाउँपालिकाले ४ वर्षमा गरिब विपन्नलाई ७ सय बढी शौचालय बनाएको छ । अहिले पनि ७ सय ५० शौचालय बनाइँदैछ । यससँगै गाउँपालिका पूर्ण सरसफाइ गाउँपालिका घोषणा गर्न पनि सहयोग पुग्छ । विजयनगर गाउँपालिका सडक सञ्जालले जोडिएको छ । सिँचाइ र व्यावसायिक माछापालनका लागि सार्वजनिक ताल–तलैला संरक्षण गरिएको छ ।

‘नगरलाई सौन्दर्ययुक्त बनाउँदै’

रजतप्रताप शाह

प्रमुख, कृष्णनगर नगरपालिका, कपिलवस्तु

भारतको राष्ट्रिय रेल नेटवर्कसँग जोडिएको क्षेत्र भएकाले नेपालका धेरै ठाउँबाट नागरिक यहाँ आउने गर्छन् । कृष्णनगरको पहिचान स्थापित गर्न बजारमा ठूलो कृष्ण भगवान्को मूर्ति बनाउँदै छौं । सीमामा नेपालको कला संस्कृति झल्कने गरी गेट बनाउने योजना छ । कृष्णनगर–१ को छिनोट गाउँमा तीन करोडको पुल निर्माण गरेका छौं । डुमाई गाउँमा झोलुंगे पुल र बाटो बनाएर मुख्य सडकसित जोडिएको छ । बरइपुरमा २० करोड लागतमा पुल बनिरहेको छ । शिवराज अस्पतालको स्तरोन्नति भएको छ । बहादुरगन्जमा राघवेन्द्र गौरव बहुमुखी क्याम्पस सञ्चालनको तयारी छ । ३२ कोठे भवनका लागि राष्ट्रिय योजना आयोगले ४ करोड बजेट विनियोजन गरेको छ । सिँचाइका लागि १२ वटा डिप बोरिङ सञ्चालनका क्रममा छन् ।

‘नगरलाई हिलोमुक्त अभियान’

अब्दुल कलाम

प्रमुख, महाराजगन्ज नगरपालिका, कपिलवस्तु

गाउँमा कालोपत्र, आरसीसी, पीसीसी र ग्य्राबल सडक बनाएर पालिकालाई हिलोमुक्त बनाएका छौं । महाराजगन्जमा १५ शय्याको नगर अस्पताल बनिरहेको छ । पडरिया, बर्दगी, गैडहवा र बनगाईमा १२/१२ कोठे विद्यालय भवन बनेका छन् । भलवारी र कजरहवामा बर्थिङ सेन्टर सञ्चालन भएका छन् । बरईपुर, बलरमवापुर र उदयपुरमा भवन बनेका छन् । करिब ८ किमि लामो महाराजगन्ज–बर्गदी–बर्गदा–पडिरिया–कठौतिया–कजरहवासम्म कालोपत्र सडक बनाइएको छ । ढाई किमि लामो सिंग्रहादेखि हदौनासम्म कालोपत्र गरिएको छ । गोठ तथा भकारो सुधारका लागि कृषकलाई सहयोग गर्ने गरिएको छ । नगरपालिकाले बहुवर्षे सडक योजना सञ्चालन गरेको छ ।

‘नगरबाटै ठूला योजना’

केशव श्रेष्ठ

प्रमुख, बुद्धभूमि नगरपालिका, कपिलवस्तु

पालिकामा १७ किमि लामो टिक्कर–बुढडी–बिजगौरी डबल लेनको सडक कालोपत्र भइरहेको छ । ६५ करोडको बहुवर्षे योजना नगरपालिकाको आफ्नै बजेटमा निर्माण भइरहेको छ । बडहरामा १५ शय्याको अस्पताल निर्माण भइरहेको छ । बुढ्डी ताललाई पर्यटकीय गन्तव्यका रूपमा अगाडि बढाउन डीपीआरको काम सम्पन्न भएको छ । करिब एक अर्ब लागत रहेको योजनामा स्रोत जुटाउने काम भइरहेको छ । नगरका गर्भवती महिलालाई बुटवल, भैरहवा जान निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको छ । गुणस्तरीय शिक्षाका लागि विद्यार्थी संख्याका आधारमा शिक्षक दरबन्दी मिलान गरिएको छ ।

‘सबै वडामा एम्बुलेन्स सेवा’

कमलेशशरण चौधरी

अध्यक्ष, शुद्धोधन गाउँपालिका, कपिलवस्तु

बालिकालाई विद्यालयसम्म पुग्न सहज बनाउन साइकल वितरण गरिएको छ । कक्षा ९ देखि १२ सम्म पढ्ने ८ सय ५९ जनालाई साइकल वितरण गरेपछि अहिले किशोरीको विद्यालय पहँॅुच बढेको छ । भुसुडीदेखि छपियासम्म १ करोड ३५ लाखमा ८ सय मिटर बाटो कालोपत्र भइरहेको छ । यहाँको समस्याका रूपमा रहेको सिँचाइलाई प्राथमिकतामा राखेर नीति बनाएका छौं । शिक्षा र स्वास्थ्यलाई केन्द्रमा राखेर काम भइरहेको छ । लवनी स्वास्थ्य चौकीलाई १९ करोडको लागतमा १० शय्याको अस्पताल बनाउँदै छौं । गाउँपालिकाका ६ वटै वडामा एम्बुलेन्स सुविधा पुर्‍याएका छौं ।

‘स्मार्ट विद्यालय सञ्चालन’

शिवदयाल तिवारी

अध्यक्ष, यशोधरा गाउँपालिका, कपिलवस्तु

सर्वसुलभ रूपमा गुणस्तरीय शिक्षा प्रदान गर्न स्मार्ट विद्यालय योजना सञ्चालन गरेका छौं । यस वर्ष वडा नं. ४ को अमलोनहाको जनसेवा आधारभूत विद्यालयलाई छनोट गरेर काम सरु गरेका छौं । शिक्षा, पूर्वाधार, शैक्षिक सामग्री र अतिरिक्त क्रियाकलापमा नमुना बनाएर काम गर्दैछौं । वडा नं. ८ को मधुनगरादेखि वडा नं. ५ को सुठौलीसम्म ४ किमि कालोपत्र बाटो बनाएका छौं । वडा नं. ४ को पर्सोहियादेखि बैदोलीसम्म, वडा नं. ५ को मुडिलामा कालोपत्र बाटो बनाइएको छ । त्यस्तै वडा नं. ३ को वसन्तपुर र वडा नं. २ को भडेहरमा कालोपत्र बाटो बनाइएको छ । ४ करोड ७५ लाख लागतमा प्रशासनिक भवनको दुई तला थप गरिएको छ । १३ करोड लागतमा १५ शैय्याको दुईतले अस्पताल भवन निर्माण भइरहेको छ । वडा नं. १ को रजवापुरमा रघुनाथ आधारभूत विद्यालयमा १८ लाख लगतमा दुईकोठे पक्की भवन बनाइएको छ ।

‘पूर्वाधार विकासमै ध्यान’

वलिउद्दिन मुसलमान

अध्यक्ष, मायादेवी गाउँपालिका, कपिलवस्तु

कमजोर भौतिक पूर्वाधार हुँदा अहिले हाम्रो ध्यान पूर्वाधार विकासमा केन्द्रित गरेका छौं । दिनरात पालिकालाई समुन्नत बनाउनेमै ध्यान दिइरहेका छौं । गाउँपालिकाका लागि नयाँ प्रशासनिक भवन निर्माण गरिएको छ । ८० लाख लागतमा सभाहल बनाइएको छ । वडा नं. १ को इमिलियामा २ करोड ४२ लाख लागतमा कृषि गोदाम निर्माण भइरहेको छ । वडा नं. ७ र कपिलवस्तु नगरपालिकाको पूर्वी भाग जोड्न ४ करोड ५० लाख रुपैयाँको लागतमा पक्की पुल बनाइएको छ । वसन्तपुर–वलुहवा–सिसवा–बरकुल जोड्ने ४ किमि सडक ५ करोड ४४ लाख लागतमा कालोपत्र बनाइएको छ । वडा नं. १ र ४ को वडा कार्यालय भवन निर्माण गरिएका छन् ।

‘नागरिक सहायता केन्द्र सञ्चालन गरेका छौं’

अजय थापा

प्रमुख, शिवराज नगरपालिका, कपिलवस्तु

सेवाग्राहीका लागि नागरिक सहायता कक्ष स्थापना गरिएको छ । उजुरी, राजस्व बुझाउने र सम्झौता बाहेकका काममा सहायता कक्षका कर्मचारीले फटाफटा पुगेर सघाउँछन् । कागजात नपुगेको भए फाँटबाट जानकारी ल्याएर सेवाग्राहीलाई सूचना दिन्छन् । सहायता कक्षमा टेलिभिजन, फ्रि वाईफाई, चिया र पानीको सुविधा छ । माध्यमिक तहसम्म निःशुल्क शिक्षा लागू गरिएको छ । बर्थिङ सेन्टरले रिफर गरेका गर्भवती र डाइलासिस गर्न जाने मृगौला रोगीका लागि बुटवल, भैरहवासम्म निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध छ । चन्द्रौटा आधारभूत अस्पतालमा चिकित्सक थपेर २४ सै घण्टा सेवा विस्तार गरिएको छ । आधारभूत अस्पतालमा शव परीक्षण केन्द्र सञ्चालन गरिएको छ । औषधिमा १५ प्रतिशत छुट दिइएको छ । वर्षको चार पटक ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गरिन्छ ।

‘बाटो, शिक्षा र स्वास्थ्य प्राथमिकतामा’

रीता चौधरी

उपप्रमुख, वाणगंगा नगरपालिका, कपिलवस्तु

समृद्ध वाणगंगाको मूल आधार, आर्थिक सामाजिक रूपान्तरणसहितको पूर्वाधार भन्ने नारा राखेर वाणगंगा नगरपालिकाले काम गरिरहेको छ । वार्षिक ३ करोड खर्च गरेर लक्षित वर्गका निम्ति सीप विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन भइरहेको छ । विभिन्न सीपमूलक तालिम लिएर महिलाले उत्पादन गरेका सामग्रीको बजारीकरणका लागि यस वर्ष कोसेली घर बनाइँदैछ । यसका लागि एक सहकारी छनोट गरिएको छ । पिपरा अस्पताललाई नगर अस्पताल बनाइएको छ । नगरभित्रका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको जग्गा नापजाँचको काम ६ नं. वडाबाट शुभारम्भ गरिएको हो । बजार सुन्दरीकरण गरिएको छ । बाटो, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरेका छौं ।

‘व्यवसायीलाई प्रोत्साहन गरिनुपर्छ’

पवन हलुवाई

पर्यटन व्यवसायी, भैरहवा

बैंकको चर्को ब्याजले व्यवसाय ठप्प हुने र लगानीकर्ता पलायन हुने अवस्था आयो । जसले गर्दा बैंकमा डिपोजिट थुप्रिन थालेको छ । ऋण लिने व्यवसायी घट्दै छन् । बैंकको ब्याज एकल अंकमा कायम गरिनुपर्छ । उद्यमी, व्यवसायीलाई हतोत्साहित गर्न थालिएको छ । युवा पलायन हुने क्रम बढ्दो छ । आर्थिक मन्दी, बैंकको चर्को ब्याजलगायत उद्योग व्यवसाय गर्ने खालको वातावरण नबनेमा अब विदेश पलायन हुने क्रम उद्यमी व्यवसायीको पनि सुरु हुनेछ । स्वदेशी उत्पादन र वस्तुलाई पहिलो प्राथमिकता दिइने नीति बनाइनुपर्छ । जुन राष्ट्रबाट नेपालको धेरै समस्या समाधान हुन सक्छन् ।

‘गृहिणी महिलालाई स्वरोजगारीमा ध्यान’


सावित्रादेवी अर्याल

उपप्रमुख, बुटवल उपमहानगरपालिका, रूपन्देही

बुटवल उपमहानगरपालिकाले सेवाप्रवाह, सुविधा र जीविकोपार्जनलाई पहिलो प्राथमिकतामा राखेको छ । आमनागरिकका मुद्दाको तत्काल सुनुवाइदेखि नागरिक वडापत्रसम्म नगरपालिकाले पर्याप्त ध्यान पुर्‍याएको छ । अहिलेसम्म नेपाली भाषामा मात्र प्रकाशित हुने गरेको नागरिक वडापत्र अब नेवार, मगर र थारू भाषामा पनि प्रकाशित गर्ने तयारी भइरहेको छ । त्यसले नेवार, थारू र मगर समुदायलाई पनि नगरका सेवाप्रवाहको विषयमा जान्नका लागि सहयोग पुग्नेछ । नगरपालिकाको न्यायिक समितिमा अहिलेसम्म १ सय ५ मुद्दा दर्ता भएका छन् । तीमध्ये १ सय १ मुद्दाको न्यायिक समितिको इजलासबाटै मिलापत्र गराइएको छ । ४ वटा मुद्दा अदालत पुगेका छन् । उपमहानगरपालिकाले

नागरिकलाई आर्थिक पहुँचमा जोड्नका लागि उपप्रमुख उद्यमशीलता कार्यक्रम, गृहिणी महिला स्वरोजगार कार्यक्रम, मेयर युवा इलमजस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ । गृहिणी महिला स्वरोजगार कार्यक्रममा अहिलेसम्म १ हजार बढी महिला जोडिएका छन् । त्यस्तै उपप्रमुख उद्यमशीलता कार्यक्रममा विभिन्न १२ प्रकारका तालिम लिएर महिलाहरू स्वरोजगारमा जोडिएका छन् । नगरपालिकाले दिउँसो पढ्न नसक्ने तर पढ्ने तीव्र इच्छा भएकाहरूको सुविधाका लागि रात्रिकालीन विद्यालय सञ्चालन गरिरहेको छ । त्यस्तै नेपालमै पहिलो विद्यालयका रूपमा महिला साधना विद्यालय सञ्चालन भइरहेको छ । उक्त विद्यालयमा विद्यालय जानबाट वञ्चित रहेका गृहिणी महिलाले अध्ययन गर्दै आएका छन् । घरमै पढेर परीक्षा दिन मिल्ने गरी खुला विद्यालय अवधारणाअन्तर्गत कान्ति माविमा खुला विद्यालय पनि सञ्चालन गरिएको छ ।

‘न्याय सम्पादनमा जोड दिएका छौं’


उमा अधिकारी

उपप्रमुख, सिद्धार्थनगर नगरपालिका, रूपन्देही

सिद्धार्थनगर नगरपालिकामा न्यायिक सम्पादन, अनुगमन, शारीरिक रूपमा अशक्त, महिला, बालबालिकालगायत क्षेत्रमा उत्कृष्ट कार्य गरिएको छ । सिद्धार्थनगरको न्याय सम्पादनलाई रूपन्देही जिल्ला अदालतले विभिन्न मूल्यांकनका आधारमा जिल्लामा सबैभन्दा उत्कृष्ट बताएको छ । मुद्दाको किनारा लगाउनलाई मेलमिलापमा जोड दिने गरिएको छ । सम्बन्धविच्छेद गरेकालाई पुनर्मिलन समेत गराइएको छ । शारीरिक रूपमा अशक्तहरूलाई सेवा सुविधाको पहुँचमा पुर्‍याउनका लागि मापदण्डअनुसार वर्गीकरण गरी अपाङ्गता कार्ड वितरण गर्ने गरिएको छ । शारीरिक रूपमा अशक्तहरूलाई सहायता सामग्री उपलब्ध गराइएको छ । महिलालाई आत्मनिर्भर बनाउन विभिन्न सामग्री उपलब्ध गराउनुका साथै विभिन्न महिला समूहले आफैंले उत्पादन गरेको अचार, जुत्ता, चप्पल, चुरा, पोते लगायतका सामग्री बिक्री स्थलका लागि कोसेली घर सञ्चालन गरिएको छ । सुत्केरी महिलालाई लक्षित गर्दै नगरमा उपप्रमुख सुत्केरी कोसेली भेटलाई निरन्तरता दिइएको छ ।

‘राज्यले उद्योगको प्रवर्द्धन गरेन’


देवेन्द्र साहु

महाप्रबन्धक, पञ्चकन्या ग्रुप अफ इन्डस्ट्रिज

उद्योग व्यवसाय देशको अर्थतन्त्रका मेरुदण्ड हुन् । नेपालजस्तो आयातमा निर्भर देशका लागि त उद्योग गर्न चाहने व्यक्तिलाई खोजीखोजी प्रोत्साहन गर्नुपर्छ । विगत २ वर्षदेखि देखिएको आर्थिक मन्दी, सरकारको पुँजीगत खर्च गर्ने क्षमतामा आएको ह्रास एवं राज्यको विभेदकारी कर नीतिका कारण यस क्षेत्रका निर्माण सामग्री उत्पादन गर्ने उद्योगहरू प्रत्यक्ष रूपमा मारमा परेका छन् । विश्वव्यापी मान्यताअनुरूप स्वास्थ्य तथा वातावरणमा असर गर्ने र विलासिताका वस्तु उत्पादनमा अन्तःशुल्क लाग्ने व्यवस्था रहेकामा नेपालमा राजस्व संकलनको साधनको रूपमा मात्रै वस्तुको प्रकृति नै नहेरी अन्तःशुल्क लगाइने गरिएको छ ।

फलामे छडको कच्चापदार्थ विलेट्सको आयातमा ५ प्रतिशत भन्सार महसुल र भन्सार बिन्दुमै २५०० प्रतिमेट्रिक टनका दरले अन्तःशुल्क लाग्छ । तर स्पन्जको आयातमा केवल १ प्रतिशत भन्सार महसुल लाग्छ भने अन्तःशुल्क पूरै छुट छ । स्पन्जबाट छड बनाउने इन्डक्सन भट्टीले वातावरणमा ठूलो प्रदूषण फैलाउने जानकारी रहँदा रहँदै सीमित उद्योगलाई मात्रै फाइदा हुने गरी ल्याइएको यस विभेदकारी नीतिका कारण रूपन्देही क्षेत्रमा ५ फलामे छड उद्योग बन्द तथा बिक्री भएकाले करिब ५ हजारको संख्यामा प्रत्यक्ष तथा अप्रत्यक्ष श्रमिक कटौतीमा परेका छन् । विशेष आर्थिक क्षेत्र (सेज) सफल हुन सकेको छैन ।

‘नमुना गाउँपालिका बनाइँदै’


विद्याप्रसाद यादव

अध्यक्ष, रोहिणी गाउँपालिका, रूपन्देही

रोहिणी गाउँपालिकाको जनप्रतिनिधिका रूपमा निर्वाचित भइसकेपछि विशेष गरी शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार र कृषि क्षेत्रलाई प्राथमिकता दिँदै काम अघि बढाएका छौं । विभिन्न विद्यालयमा भवनहरूको निर्माण भइरहेको छ । गाउँपालिकाको शैक्षिक गुणस्तर सुधारका लागि कार्यविधि बनाएर सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको हेरफर गरिएको छ । गाउँपालिकामा क्याम्पस नभएकाले पाँचवर्षे कार्यकालमै क्याम्पस सञ्चालन गर्ने योजनाअनुरूप जग्गा व्यवस्थापन गरिसकेका छौं । विपन्न, जेहेन्दार विद्यार्थीलाई प्रोत्साहन गर्नका लागि साइकल वितरण गर्दै आएका छौं । विभिन्न वडामा सडक निर्माण (पीसीसी ढलान, पिच) भएका छन् । गाउँपालिकाभित्र रहेका विभिन्न ऐतिहासिक मन्दिरहरूको संरक्षण र विकासमा लागेका छौं । स्वास्थ्यका लागि बालिका बिमा कार्यक्रम सञ्चालन गरिएको छ । गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माणका लागि टेन्डर आह्वान भइसकेको छ । विभिन्न वडामा स्वास्थ्य चौकी निर्माण भइरहेका छन् । कतिपय वडामा निर्माण सम्पन्न भइसकेका छन् ।

‘शिक्षा र स्वास्थ्य प्राथमिकतामा’


शम्भुलाल श्रेष्ठ

प्रमुख, बर्दघाट नगरपालिका, पश्चिम नवलपरासी

स्थानीय तहमा सीमित स्रोत र साधन छन् । तर, जनचाहना धेरै छ । आफ्नो नगरको आवश्यकता अनुसार नीति निर्माण र विकास निर्माणको कामलाई अगाडि बढाउने प्रयास जारी छ । गर्नुपर्ने धेरै काम छन् तर स्रोत र राजस्व संकलन कम छ । शिक्षा, स्वास्थ्य र कृषिलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका छौं । ऐन, नियमावली र कार्यविधि बनाएर सेवा प्रवाहलाई व्यवस्थित गर्ने गरिएको छ । संघीयतापछि स्थानीय तह नै नागरिकको सबैभन्दा नजिकको सरकार भएको हुँदा स्थानीय तह सुशासनमुखी बन्न सके आमनागरिकसहित सबैले संघीयता र सरकार दुवैको अनुभूति गराउने काम जारी छ ।

‘पर्यटन र स्वरोजगारमुखी सीपलाई प्राथमिकता’


टेकनारायण उपाध्याय

अध्यक्ष, सुस्ता गाउँपालिका, पश्चिम नवलपरासी

सुस्ता गाउँपालिका विकास निर्माणका रूपमा पहिलेदेखि नै पछाडि परेको पालिका हो । भारतीय अतिक्रमणको चपेटामा परेको नारायणीपारिको क्षेत्रमा मुलुकको नै ध्यान केन्द्रित छ । तर, बजेट विनियोजन गर्दा संघ र प्रदेश सरकारबाट नै यो क्षेत्र कम प्राथमिकतामा परेको मेरो अनुभव छ । तर, हामीले स्थानीय सरकारको अधिकार क्षेत्रभित्र रहेर जनताको समस्यालाई समाधान गर्ने कोसिस गरेका छौं । कृषि क्षेत्रको उर्वर भूमि भएकाले शीत भण्डार निर्माण गरेका छौं । अधिकांश नागरिक कृषि पेसामा संलग्न भएकाले यसले कृषिलाई व्यवसायीकरण गर्नमा सहयोग पुर्‍याउँछ भन्ने हाम्रो लक्ष्य हो । नारायणी नदीमा पुल निर्माणको काम लगभग सम्पन्न भएको छ । यसले पनि सुस्ताका नागरिकले भोग्नुपरेको पीडालाई कम गर्छ । पर्यापर्यटन र स्वरोजगारमुखी सीपलाई प्राथमिकतामा राखिएको छ ।

प्रकाशित : चैत्र १८, २०८० ११:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?