कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

खसीको भनेर बाख्राको मासु बेच्ने पसलेलाई जरिवाना

घनश्याम गौतम

बुटवल — बुटवल उपमहानगरपालिकाले खसीबोकाको भनेर बाख्रीको मासु बिक्री गर्ने दुई वटा मासु पसललाई जरिवाना गरेको छ ।

खसीको भनेर बाख्राको मासु बेच्ने पसलेलाई जरिवाना

शुक्रबार भएको अनुगमनका क्रममा खसीबोकाको भनेर बाख्रीको मासु बेच्ने गरेको र अनुमति नलिएको स्थानमा बध गर्ने गरेको फेला परेपछि प्रति मासु पसल १० हजार रुपैंयाँका दरले जरिवाना गराइएको हो ।

बुटवलको पुरानो बसपार्क नजिकैको न्यु-मेहेदी मासु पसल र बुटवल उपमहानगरपालिका–१ को पप्पु मासु पसलले मापदण्डविपरीत मासु पसल सञ्चालन गरेको फेला परेपछि जरिवाना गराएर व्यवस्थित गर्न एक हप्ताको समय दिइएको अनुगमन शाखा प्रमुख ठगिश्वर पोखरेलले बताए ।

उपप्रमुख सावित्रादेवी अर्यालको नेतृत्वमा गएको अनुगमन टोलीले मापदण्डविपरीत घरमा मासु बध स्थल बनाएको, खसीबोका भनेर बाख्रीको मासु बेच्ने गरेको र दुर्गन्ध फैलाएको भन्दै पहिलोपटक १०/१० हजार जरिवाना गराएको उनले बताए । अनुगमन समितिको बैठकले दुई मासु पसललाई व्यवस्थित गर्न सचेत गराउँदै एक हप्ताभित्र व्यवस्थित गर्न र तिनाउ पुलमुनिबाट पसल अन्यत्र सार्न निर्देशन दिने निर्णय गरेको छ ।

बुटवलमा मासु व्यवसायमा लापरबाही बढ्दै गएको र पशु बधशाला सञ्चालन र व्यवस्थापन ऐन अनुसार मासु पसल सञ्चालन हुनुपर्नेमा अटेरी गरिरहेकाले नियमित रुपमा अनुगमन गरिएको उपप्रमुख सावित्रादेवी अर्यालले बताइन् ।

‘उपभोक्ता आफूले खाने मासु कस्तो ठाउँमा बध गरिन्छ त्यो महत्वपूर्ण कुरा हो,‘ उनले भनिन्, ‘अस्वस्थ मासुले धेरै रोग बढाउँछ भन्ने कुरामा उपभोक्ता आफै सचेत हुनु जरुरी छ ।’ उपभोक्तामा सचेतनाको कमी र व्यवसायीको लापरवाहीले बुटवलमा अन्तरराष्ट्रिय मापदण्ड अनुसारको बधशाला निर्माण गरिएपनि संचालन हुन नसक्नु दुखद भएको उनको भनाई छ ।

बुटवल उपमहानगरपालिकाले झन्डै २२ करोड लगानीमा बुटवलको धागो कारखाना नजिकै निर्माण भएको बधशाला क्षेत्रमा खसीबोकाको चरन, होल्डिङ सेन्टर, पशु स्वास्थ्य जाँच तथा उपचार कक्ष, बधशालामा खटिनेहरूका लागि प्राथमिक उपचार कक्ष, सुरक्षा कक्ष, फोहोर प्रशोधन केन्द्र, हरियाली उद्यान र बगैंचा निर्माण सहितको व्यवस्थापन गरेको छ ।

त्यहाँबाट निस्किने फोहोर प्रशोधन गरेर बायोग्याँस निकाल्ने र पानीलाई पुनः प्रयोग गर्न मिल्ने गरी प्रशोधन गर्ने उपमहानगरको योजना छ । बधशालामा दैनिक एक हजार खसीबोका बध गर्नसक्ने क्षमता रहेको नगरपालिकाले जनाएको छ ।

बुटवल उपमहानगरपालिकाले मासु बधका लागि व्यवस्थित बधशाला निर्माण गरेर व्यवसायीको जिम्मा लगाएपनि व्यवसायीहरुले अहिले पनि घरमै बध गर्ने गरेका छन् । त्यसले उभोक्ताहरु फोहोर स्थानमा बध गरिएको खसी बोकाको मासु खान बाध्य छन् ।

त्यसैले सबै मासु व्यवसायीलाई अनिवार्य बधशालामै खसी बोका बध गर्न निर्देशन गरिएको उपमहानगरपालिकाका पशुपंक्षी शाखाका प्रमुख झविन्द्र बञ्जाडेले बताए । बुटवल उपमहानगरपालिकाको पशु बधशाला व्यवस्थापन र सञ्चालन ऐन २०७९ अनुसार बुटवलमा रहेका मासु पसलहरुले खसीबोकाको मासु बिक्री गर्दा पशु बधशालामा बध गरी प्रमाणीकरण गरेको मासु मात्रै बिक्री गर्न पाउने उनले बताए ।

प्रकाशित : जेष्ठ ५, २०८१ १३:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहमाथि नगरसभामै भएको आलोचना र विरोधलाई कसरी लिनु भएको छ ?

x