२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

दीपक पहिलो र राजपुरा तेस्रोपल्ट च्याम्पियन

‘रन टु इन्स्पायर द योङ’ नारा दिइएको कान्तिपुर हाफ म्याराथनमा केन्या र अमेरिकी महिला धावकले पनि पाए पुरस्कार
विनोद पाण्डे

काठमाडौँ — त्रिभुवन आर्मी क्लबका दीपक अधिकारी र नेपाल पुलिस क्लबकी राजपुरा पछाईंले १२ औं कान्तिपुर हाफ म्याराथनको उपाधि जितेका छन् । प्रतियोगितामा दीपक पहिलो पटक विजेता बनेका हुन् भने राजपुराले लगातार तेस्रो जितेर उपाधिमाथि ह्याट्रिक गरिन् ।

दीपक पहिलो र राजपुरा तेस्रोपल्ट च्याम्पियन

कान्तिपुर पब्लिकेशन्स लिमिटेडको आयोजनामा ग्लोबल आईएमई बैंकको प्रस्तुति रहेको कान्तिपुर हाफ म्याराथनमा दीपकले १ घन्टा ७ मिनेट १५ सेकेन्डको टाइमिङ निकाल्दै गत वर्षका विजेता मुकेश पाललाई ४४ सेकेन्डले पछाडि पारेका थिए । आर्मीका मुकेश १ घन्टा ७ मिनेट ५९ सेकेन्डमा दुरी पार गरे ।

गत वर्ष दीपक चोटका कारण यो रेसमा सहभागी भएका थिएनन् । त्यसको अघिल्लो वर्ष उनी उपविजेता भएका थिए । उनले दुई महिनाअघि राइट टु प्रोटिन रन जितेका थिए । १४ महिनाअघि नेपालमा भएको एसियाली क्रसक्रन्ट्री च्याम्पियनसिपमा स्वर्ण जितेयता दीपक घरेलु प्रतियोगितामा छाउँदै आएका छन् ।

‘रन टु इन्स्पायर द योङ’ नारा दिइएको कान्तिपुर हाफ म्याराथन थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कबाट सुरु भएको थियो । दौड थापाथली, माइतीघर मण्डल, बानेश्वर, तीनकुने, कोटेश्वर, जडीबुटी, लोकन्थली गठ्ठाघर, थिमि, सल्लाघारी चोकबाट फन्को लगाएर सोही हुँदै पुनः सेन्ट्रल बिजनेस पार्क आएर टुंगिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेको कान्तिपुर हाफ म्याराथनको पुरुषतर्फ शीर्ष ६ स्थानमा आर्मीका चार खेलाडी रहे । पूर्व विजेता एपीएफका गोपीचन्द्र पार्की १ घण्टा ८ मिनेट १४ सेकेन्डसहित तेस्रो भए ।

आर्मीका सुशील शाही १ घण्टा ८ मिनेट ४८ सेकेन्डबाट चौथो, किरणसिंह बोगटी १ घण्टा १० मिनेट १८ सेकेन्डबाट पाँचौं र गजेन्द्र राई १ घण्टा १५ मिनेट ४३ सेकेन्डबाट छैटौं भए ।

नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा २०६७ सालदेखि हुँदै आएको कान्तिपुर हाफ म्याराथनमा पुरुष र महिला विजेताले जनही १ लाख रुपैयाँ पुरस्कार पाएका छन् । दोस्रोदेखि छैटौं हुनेले क्रमशः ५०, ३०, २०, १० र ५ हजार रुपैयाँ पाए ।

महिलातर्फ राजपुराले १ घण्टा २२ मिनेट २५ सेकेन्डको टाइमिङ निकाल्दै उपाधि जितिन् । गत वर्ष उनी १ घण्टा १९ मिनेट १६ सेकेन्डबाट विजेता बनेकी थिइन् । यो सफलतासँगै उनले कान्छीमाया कोजुको उपलब्धिलाई पछ्याइरहेकी छन् । कान्छीमायाले कान्तिपुर हाफ म्याराथन पाँच पटक जितेकी थिइन् ।

एपीएफ क्लबकी पुष्पा भण्डारी १ घण्टा २५ मिनेट ३४ सेकेन्डबाट दोस्रो भइन् । केन्याकी ज्याकलिन जेटाउनुई १ घण्टा २६ मिनेट ५४ सेकेन्डबाट तेस्रो भइन् । आर्मीकी पूर्णलक्ष्मी न्यौपाने १ घण्टा २९ मिनेट ६ सेकेन्डसाथ चौथो, अमेरिकाकी क्याटलिन सुल्टेइ १ घण्टा ५१ मिनेट ४५ सेकेन्डसाथ पाँचौं र शर्मिला बस्नेत २ घण्टा ५ मिनेट २३ सेकेन्डसाथ छैटौं भए ।

मिङमार र सुसनलाई कलेज रन

मिङ्मार तामाङ र सुसन कार्कीले कान्तिपुर हाफ म्याराथनको कलेज रन जितेका छन् । सुसनले लगातार दोस्रोपल्ट उपाधि जितिन् ।

पुरुषतर्फ मिङ्मारले २२ मिनेट ०२.९ सेकेन्ड र महिलातर्फ सुसनले २९ मिनेट ५५.८ सेकेन्डमा दौड पूरा गरे । पुरुषतर्फ विश्वराम कुँवर २२ मिनेट ३१.२ सेकेन्ड, रेम बुढामगर २२ मिनेट ५१.८ सेकेन्ड, पुकारजंग बस्नेत २३ मिनेट २५.४ सेकेन्डसाथ चौथो, लोकेन्द्र राई २३ मिनेट ३०.७ सेकेन्डसाथ क्रमशः दोस्रोदेखि पाँचौं भए ।

महिलातर्फ रेजिना दुलाल ३० मिनेट १३.९ सेकेन्डबाट दोस्रो र मन्जु सुनुवार ३१ मिनेट १५.१ सेकेन्डबाट तेस्रो भए । निसम सुब्बा ३२ मिनेट ५१.८ सेकेन्डबाट चौथो र सजिना कार्की ३६ मिनेट १८.२ सेकेन्डबाट पाँचौं भए । कलेज र कर्पोरेट रनको महिला र पुरुषतर्फ शीर्ष ३ का विजेताले विभिन्न पुरस्कार र गिफ्ट ह्याम्पर पाएका थिए ।

भलिबलदेखि रेससम्म

कर्पोरेट रनकी विजेता नेपाली खेलकुदकी परिचित अुनहार थिइन् । तर, उनले त्यो परिचय भलिबलबाट बनाएकी थिइन् । न्यु डायमन्ड हुँदै त्रिभुवन आर्मी क्लब पुगेकी कृपा अधिकारी भलिबलकी राष्ट्रिय खेलाडी हुन् ।

उनी शनिबार कान्तिपुर हाफ म्याराथनका लागि दौडिन तयार हुँदा धेरैले त्यसलाई अनौठो मानेका थिए । उनले दौडमा सहभागी मात्र जनाइनन् । कर्पोरेट रन जितेर धेरैलाई आश्चर्यमा पनि पारिदिइन् ।

आर्मीकी भलिबल कप्तान कृपा २३ मिनेट २५.७ सेकेन्डसहित कर्पोरेट रनमा विजेता बनिन् । विनिता महर्जन २५ मिनेट १०.७ सेकेन्डसाथ दोस्रो भइन् । उनले गत वर्ष पनि दोस्रो स्थानमा दौड टुंग्याएकी थिइन् । सीता रिमाल २६ मिनेट ०४.६ सेकेन्डसाथ तेस्रो, पूर्व विजेता लादेन प्रधान २६ मिनेट २१.६ सेकेन्डसाथ चौथो भए ।

‘यस प्रतियोगितामा पहिला सेनाका सिनियर अधिकृतहरू दौडिने गर्नुभएको थियो, उहाँहरू अहिले शान्तिसेनामा हुनुहुन्छ । यसले मलाई पनि दौडिन प्रेरित गरेको हो,’ सहसेनानी कृपाले भनिन्, ‘म ट्रेनिङका लागि भक्तपुरमा थिएँ । हिजो शुक्रबार घर आएका बेला जाउँ न त भनेर दौडिन आएको हो । धेरैजनाको बीचमा दौडिँदा रमाइलो अनुभव भयो ।’

सानोमा उनी भलिबल प्रशिक्षणका लागि न्यु डायमन्ड पुगेकी थिइन् । शारीरिक हिसाबमा फिट रहन न्यु डायमन्डका प्रशिक्षक कुमार राईले उनीसहित प्रतिभा मालीलाई मजैले दौडाएका रहेछन् । त्यौ दौड अहिले उनलाई काम लागेको छ । त्यसयता उनी दौड स्पर्धामै पहिलो पटक दौडिएका थिए । ट्रेनिङका लागि भारत जानुपर्ने भएकाले उनी अझै केही समय भलिबलबाट टाढा हुनुपर्ने जनाइन् ।

पुरुषतर्फ विकेश घिमिरे विजेता बने । गत वर्ष पनि उनी विजेता थिए । ५ किमि कर्पोरेट रेस थापाथली, माइतीघर मण्डल, बानेश्वर, सिभिल हस्पिटल अगाडिबाट घुम्ती लगाएर पुनः सोही रुट हुँदै सेन्ट्रल बिजनेस पार्कमा आएर टुंगिएको थियो । त्यसमा विकेशले १७ मिनेट १५.४ सेकेन्ड लगाए । अनिल थापा १८ मिनेट ३७.९ सेकेन्डबाट दोस्रो र मदनसिंह भाट १८ मिनेट ५९.७ सेकेन्डबाट तेस्रो भए । उपेन्द्र कठायत २० मिनेट २२.२ सेकेन्डबाट चौथो र विद्यामान महतारा २० मिनेट २८.२ सेकेन्डबाट पाँचौं भए ।

ह्विलचेयरमा रमेश र ऐश्वर्य फेरि च्याम्पियन

रमेश खत्री र ऐश्वर्य कुमाल यस वर्ष पनि ह्विलचेयर रेसतर्फ विजेता बनेका छन् । गत वर्ष यी दुई नै विजेता बनेका थिए । रमेशले भने तेस्रोपल्ट उपाधि जितेका हुन् ।

सेन्ट्रल बिजेनस पार्कबाटै सुरु ह्विलचेयर रेस माइतीघर मण्डल फन्को लगाएर पुनः सोही ठाउँमा आएर टुंगिएको थियो । आर्मीका रमेशले ३ मिनेट १९.९ सेकेन्डमा रेस पूरा गरेका थिए ।

आर्मीका दानबहादुर थिङ ३ मिनेट ४९.७ सेकेन्डबाट दोस्रो, गोकर्णेश्वरका रामकाजी मिजार ४ मिनेट ३६.३ सेकेन्डबाट तेस्रो भए । हेटौंडाका दीपक तिमल्सिना ५ मिनेट ०८.५ सेकेन्डबाट चौथो र मूलपानीका होमबहादुर मगर ५ मिनेट ४०.१ सेकेन्डबाट पाँचौं भए ।

माकलबारीकी ऐश्वर्यले ५ मिनेटमा ३६.५ सेकेन्डमा रेस पूरा गरिन् । पाँच पटककी पूर्व विजेता यामी झाँक्रीमगर ५ मिनेट ३८.८ सेकेन्डबाट दोस्रो भइन् । खोटाङकी रजनी राई ५ मिनेट ४६.५ सेकेन्डबाट तेस्रो, जोरपाटीकी पेमा गुरुङ ६ मिनेट ०६.७

सेकेन्डबाट चौथो र कपनकी मीना मगर ७ मिनेट १४.३ सेकेन्डबाट पाँचौं भए । ह्विलचियर रेसका विजेताले ३० हजार, दोस्रोले २० र तेस्रो हुनेले १० हजार रुपैयाँ पुरस्कार पाए ।

प्रकाशित : जेष्ठ ६, २०८१ ०६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?