२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

लूबाट जोगिऔं, जोगाऔं

अन्य विपद्सरह लूलाई प्राथमिकताका साथ चासो दिएको पाइँदैन । लूबाट जोगिन अपनाउनुपर्ने सजगता र प्रतिकार्यका विषयमा खासै गृहकार्य भएको देखिँदैन । तर बेवास्ता गरिरहे लू कुनै पनि बेला ठूलो विपद् बन्न सक्छ ।
सम्पादकीय

निरन्तर गर्मी बढिरहँदा तराई–मधेशको जनजीवन व्यापक मात्रामा प्रभावित भइरहेको छ । धेरै ठाउँमा तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ । तातो सुक्खा हावाको लहर अर्थात् ‘लू’ चल्न थालेको छ । त्यस क्षेत्रमा तत्काल वर्षा भइहाल्ने सम्भावना पनि देखिएको छैन । त्यसैले तापक्रम अझै बढ्न सक्छ ।

लूबाट जोगिऔं, जोगाऔं

यसै पनि विज्ञहरूले यो वर्ष औसतभन्दा बढी तातो हुने अनुमान गरिरहेका छन् । यस्तो अवस्थामा मानिसलाई लूबाट जोगाउन उच्च होसियारी र व्यापक सचेतनाको खाँचो परेको छ । विपद्कै अवस्था आइपर्दा के गर्ने भनेर सरकारले प्रतिकार्य व्यवस्था पनि मिलाइहाल्न जरुरी छ ।

संयुक्त राष्ट्रसंघको विपद् जोखिम न्यूनीकरण कार्यालयले लूलाई जलवायुजन्य विपद् मानेको छ । नेपालकै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनले पनि लूलाई विपद् रूपमा उल्लेख गरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार भारतका समथर मैदानी क्षेत्रमा ४० डिग्री सेल्सियस वा सोभन्दा बढी र पहाडी क्षेत्रका लागि ३० डिग्री सेल्सियस वा सोभन्दा बढी तापक्रम पुग्नुलाई लू भन्ने गरिन्छ । हामीकहाँ भने कति तापक्रम पुग्नुलाई लू मान्ने भनेर किटान गरिएको छैन । अन्य विपद्सरह लूलाई प्राथमिकताका साथ चासो दिएको पाइँदैन । लूबाट जोगिन अपनाउनुपर्ने सजगता र प्रतिकार्यका विषयमा खासै गृहकार्य भएको देखिँदैन । तर बेवास्ता गरिरहे लू कुनै पनि बेला ठूलो विपद् बन्न सक्छ ।

लूका कारण मानिसले ज्यान गुमाएका घटना थुप्रै छन् । लूले पुर्‍याएको क्षतिका विषयमा नेपाल सरकारसँग यकिन तथ्यांक नभए पनि संयुक्त राष्ट्रसंघको विपद् जोखिम न्यूनीकरण कार्यालयको ‘डेसिन्भेन्टर डटनेट’मा उपलब्ध विवरणअनुसार २०२९ जेठ २४ देखि २०६९ भदौ २ सम्म २३ जिल्लामा लूका ४९ वटा घटना भएका थिए, जसबाट ४५ जनाको मृत्यु भएको थियो । डेसिन्भेन्टरले पछिल्लो समय तथ्यांक राख्न छाडेको छ । त्यसैले सरकारले लूका विषयमा तथ्यांक अद्यावधिक गर्ने संयन्त्र तयार गर्न जरुरी छ । यकिन तथ्यांकले जोखिम न्यूनीकरण र प्रतिकार्यका लागि रणनीति बनाउन सहज बनाउँछ ।

चिकित्सकहरूका अनुसार तापक्रम अत्यधिक बढ्नेबित्तिकै शरीरमा पसिना आउने, पानीको कमी हुने, सास फेर्न गाह्रो हुने र रगत जम्ने अवस्था बन्छ । विज्ञहरू अत्यधिक टाउको दुखे, रिँगटा लागे, बान्ता भए तत्कालै स्वास्थ्य संस्थाको सम्पर्कमा पुग्न सुझाउँछन् । गर्मीमा बालबालिका र वृद्धवृद्धा बढी जोखिममा पर्छन् । गर्मी चर्किएसँगै तराई–मधेशका अस्पतालमा बिरामी बालबालिका र वृद्धवृद्धाको संख्या बढ्न थालिसकेको छ । त्यसैले सबै अस्पताललाई बिरामीको भरपर्दो उपचारका लागि तम्तयार राख्न जरुरी छ । भरसक कोही पनि बिरामी पर्ने अवस्था नआओस् भनेर आम सर्वसाधारणलाई सतर्क पार्न आवश्यक छ ।

विज्ञहरू गर्मी अत्यधिक हुने दिउँसोको समय भरसक घरभित्रै वा चिसो स्थानमा बस्न, निस्कनै परे टाउको छोप्न वा टोपी लगाउन, नियमित पानी तथा झोल पदार्थ प्रशस्त मात्रामा पिउने, जंकफुड नखाने सल्लाह दिन्छन् । तर यस्तो सल्लाह घर–घरसम्म पुर्‍याउन जरुरी छ । गर्मी बढेपछि नेपालगन्ज उपमहानगरपालिकाले लूबाट जोगाउन स्वयंसेवक खटाएर घरदैलो अभियान चलाइरहेको छ । स्वयंसेवकहरूले अत्यधिक गर्मीबाट कसरी जोगिने, कस्ता खानेकुरा खाने, स्वास्थ्य समस्या परे कहाँ सम्पर्क गर्ने जस्ता विषयमा जानकारी दिन्छन् । गृह मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि आम नागरिकलाई लूबाट जोगाउन सन्देशमूलक सामग्री प्रसार गरिरहेका छन् । यी पहल सकारात्मक छन् तर पर्याप्त छैनन् । जनचेतनाका लागि स्थानीय सरकारकै सक्रिय अग्रसरता महत्त्वपूर्ण हुन्छ । जिल्ला विपद् व्यवस्थापन समिति पनि सक्रिय बन्न जरुरी छ ।

जलवायु परिवर्तनका कारण विश्व तापमान नै बढिरहेको छ । नेपालमा हरेक वर्ष ०.०५२ प्रतिशतका दरले अधिकतम तापक्रम वृद्धि भइरहेको अभिलेख छ । यस वर्ष हिउँद १८ वर्षयताकै सुक्खा थियो । त्यसपछि पनि नियमित वर्षा भएको छैन । तत्काल वर्षा गराउने प्रणाली विकास भइनसकेकाले अझै केही दिन तराई–मधेशमा वर्षा हुने सम्भावना देखिएको छैन । अत्यधिक गर्मी हुँदा वा तातो हावाको लहर चल्दा जोगिनुको विकल्प हामीसँग छैन । यस्तो समस्या यसपालि मात्र होइन, फेरि–फेरि पनि आउन सक्छ । त्यसैले सरकार पनि विपद् आइसकेपछि मात्र जुरमुराउने होइन, विपद्बाट कम क्षति हुने वातावरण निर्माणका लागि बेलैमा दीर्घकालीन रणनीति बनाएर अघि बढ्नुपर्छ ।

प्रकाशित : जेष्ठ ६, २०८१ ०६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?