३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

देश समृद्ध बनाउन ‘उद्यम र उद्यमशीलता प्रवर्द्धन’

काठमाडौँ — कांग्रेसका केन्द्रीय सदस्य मीनेन्द्र रिजालले उद्यम र उद्यमशीलताको प्रवर्द्धन गर्न सके मात्र देश समृद्ध हुने बताएका छन् । उद्यमशील कांग्रेसले काठमाडौंमा शनिबार गरेको कार्यक्रममा पूर्वरक्षा तथा सञ्चारमन्त्रीसमेत रहेका नेता रिजालले सरकार र नेतृत्वको तीव्र इच्छाशक्तिले मात्र यो सम्भव रहेको दाबी गरे । 

देश समृद्ध बनाउन ‘उद्यम र उद्यमशीलता प्रवर्द्धन’

ससानो पुँजीबाट मात्र ठूलो सफलता हासिल हुने भएकाले त्यसलाई प्रवर्द्धन गर्नुपर्ने उनको भनाइ छ । स्थानीय उत्पादनलाई बजारसम्मको बाटो राज्यस्तरबाटै निर्माण हुनुपर्ने र बजेटमार्फत नै कार्यक्रम ल्याउनुपर्नेमा नेता रिजालले जोड दिए ।

नवउद्यमीहरू पटक–पटक असफल हुन सक्ने सम्भावना रहे पनि हतास हुन भने नहुने नवउद्यमशीलतालाई प्रवर्द्धन गर्दै आएका प्रशिक्षक तथा लगानीकर्ता नीरज खनालले बताए । असफलतासँग डराउने मानिस उद्यमी बन्न नसक्ने भएकाले राज्यले पनि सफल व्यक्तिलाई मात्र प्रोत्साहन गर्न नहुने उनले उल्लेख गरे । राज्य दरिलो अभिभावक बन्न सके उद्यमशीलता फस्टाउने उनको भनाइ छ । राज्यले नीति तथा कार्यक्रम ल्याई व्यावहारिक रूपमै कार्यान्वयन गर्नुपर्नेमा खनालले जोड दिए ।

सम्पूर्ण जोखिम आफैंले बेहोर्नुपर्ने भएकाले उद्यमशीलता गर्न युवा वर्ग डराएको हुन सक्ने युवा उद्यमी निकिता आचार्यले बताइन् । राज्यपक्ष दरिलो भए देशमा धेरै सफल नवउद्यमी जन्मन सक्ने उनको भनाइ छ ।

उद्यमशीलताको क्षेत्रमा विद्यमान चुनौती न्यूनीकरण र उद्यममैत्री वातावरण निर्माणका लागि सरकारले ठोस नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा युवा उद्यमी एवं ब्रान्डवर्थका प्रमुख कार्यकारी अधिकृत मोहन गजुरेलले जोड दिए । त्यसका लागि सरकारलाई सबै पक्षबाट घचघच्याउन आवश्यक रहेको उनको भनाइ छ ।

उद्यमी जन्माउने प्रमुख भूमिका राज्यकै हुने भन्दै आवश्यक प्रक्रिया सहज बनाउन कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद प्रदीप पौडेलले सरकारलाई आग्रह गरे ।

प्रकाशित : जेष्ठ ६, २०८१ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हदबन्दीमाथिको जग्गा सट्टापट्टा मात्र होइन, बिक्री नै गर्न पाइने विधेयक संघीय संसद्‌मा पुगेको छ । यस्तो विधेयकलाई अब के गर्नुपर्छ ?