२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

‘बुद्धभूमि’ ब्रान्डमा मही

दैनिक ३ हजार लिटर उत्पादन क्षमता
मनोज पौडेल

कपिलवस्तु — बुद्धभूमि नगरपालिका–९ इमिलियामा ग्लोबल डेरी उद्योगले व्यावसायिक मही उत्पादन सुरु गरेको छ । उद्योगले वैशाख पहिलो सातादेखि दैनिक १ हजार लिटर मही उत्पादन गरेर बिक्री थालेको हो ।

‘बुद्धभूमि’ ब्रान्डमा मही

५० करोड रुपैयाँ लगानीमा १० वर्षअघि सञ्चालनमा आएको उद्योगले अहिले नयाँ प्रडक्टका रूपमा मही उत्पादन थालेको हो । नेपालमै पहिलो पटक बोटलिङ र लेभलिङ गरी महीको व्यावसायिक उत्पादन सुरु गरिएको उद्योगका अध्यक्ष थानेश्वर न्यौपानेले बताए ।

उद्योगले एक लिटरको बोतलमा आकर्षक प्याकसहित मही बजारमा ल्याएको छ । बुद्धभूमि र शिवराज नगरपालिकाबाट बिक्रीवितरण सुरु गरिएको मही अहिले लुम्बिनी प्रदेशका भारतीय सीमावर्ती ६ जिल्लामा बजार विस्तार गरिएको अध्यक्ष न्यौपानेले सुनाए । अब प्रदेशभरि पुर्‍याएर मुलुकभर लैजाने लक्ष्य राखेको उनको भनाइ छ । बुद्ध जन्मस्थलको पहिचान स्थापित गर्न ‘बुद्धभूमि’ ब्रान्डमा मही उत्पादन सुरु गरिएको उनले जनाए । ‘यसले बुद्ध जन्मस्थलको मही कस्तो रहेछ भन्ने जिज्ञासा पनि हुन्छ,’ उद्योगका लेखा अधिकृत शंकर पाण्डेले भने, ‘शीतलतासँगै महीले दिने ऊर्जाले आनन्दित पनि बनाउँछ ।’

महीको उपभोक्ता मूल्य ५० रुपैयाँ तोकिएको छ । बोतल र स्टिकरमा मात्र १५ रुपैयाँ परेकाले उद्योगको प्रतिबोतल लागत ३८/४० रुपैयाँ रहेको पाण्डेले बताए । महीको स्वच्छता र गुणस्तरमा ध्यान दिन फुड टेक्नोलोजिस्टको सिफारिसअनुसारको दही प्रयोग भइरहेको उनको भनाइ छ । ‘सुरुमा दही जमाउने दूधको फ्याट परीक्षण गरिन्छ । त्यसपछि दहीको अम्लीयपन र पीएच जाँच गरेर सेवनयोग्य दहीबाट मही बनाइन्छ,’ उनले भने, ‘दही र प्रशोधित पानी प्लन्जरमा मथेर टुटीबाट झारेर बोटलिङ गरिन्छ ।’ १२ बोतलको एउटा प्याक बनाएर प्रिजिङ गरेपछि मागअनुसार बजारमा पुर्‍याउने गरिएको छ ।

उत्पादित मही ५/६ दिनसम्म उपभोग गर्न योग्य हुने उद्योगका फुड टेक्नोलोजिस्ट राजेन्द्रसिंह लोधले बताए । अहिलेसम्म २८ हजार लिटर बिक्री भइसकेको छ । बोटलिङ पनि राम्रो र स्वाद पनि मीठो भएको इमिलियाका उपभोक्ता पुनाराम अर्यालको भनाइ छ ।

बजारमा पाइने चिसो पेय पदार्थको विकल्पमा स्थानीय उत्पादन महीबारे सकारात्मक प्रतिक्रिया पाएपछि उत्साहित भएको अध्यक्ष न्यौपानेले जनाए । उद्योगको दैनिक ३ हजार लिटर मही उत्पादन क्षमता भएको न्यौपाने बताउँछन् ।

महीको नियमित सेवनले पाचन प्रक्रिया राम्रो बनाउने र रोग प्रतिरोधात्मक क्षमता पनि बढ्ने कविराज दीपक पन्थीले बताए । यसमा पोटासियम, क्याल्सियम र प्रोटिनजस्ता तत्त्व पनि समावेश हुन्छ । दैनिक ५० हजार लिटर दूध संकलन गरिरहेको उद्योगले भविष्यमा धूलो (पाउडर) दूध उत्पादन र महीको उत्पादन बढाएर दैनिक १ लाख लिटर दूध व्यवस्थापन गर्ने योजना रहेको न्यौपानेले बताए ।

महीको बजारीकरण राम्रो भयो भने किसानको दूध बिक्रीवितरण नहुने समस्या पनि समाधान हुने बुद्धभूमि नगरपालिकाका कृषक शिवगुलाम कोरीले जनाए । लुम्बिनी प्रदेशमा उद्योगका ७९ र सुदूरपश्चिमका दुई स्थानमा दूध संकलन केन्द्र सञ्चालनमा छन् । त्यसमा १५ हजार किसान आबद्ध छन् । प्रदेशका करिब ५ सय दूध डेरी बिक्री केन्द्रसँग समन्वय गरेर उद्योगले दुग्धजन्य उत्पादन बिक्री गर्दै आएको छ । उद्योगले दुई सय जनालाई प्रत्यक्ष रोजगारी दिएको छ ।

प्रकाशित : जेष्ठ ६, २०८१ ०७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हदबन्दीमाथिको जग्गा सट्टापट्टा मात्र होइन, बिक्री नै गर्न पाइने विधेयक संघीय संसद्‌मा पुगेको छ । यस्तो विधेयकलाई अब के गर्नुपर्छ ?