गिरीबन्धुको ‘प्लटिङ’ मा घडेरी लिन बैना बुझाएका तनावमा

प्रतिधुर ५ देखि १० लाख रुपैयाँसम्म पर्ने जग्गा किन्न बैनास्वरूप करोडौंको कारोबार, रकम बुझाउनेमा झापादेखि काठमाडौंसम्मका सर्वसाधारण पनि

जेष्ठ ६, २०८१

पर्वत पोर्तेल

Giribandhu's ”plotting” is under tension

झापा — भूमाफियाको विश्वासमा परेर झापास्थित गिरीबन्धु टी–इस्टेटको जमिन खरिद गर्न लगानी गरेकाहरू सर्वोच्च अदालतको आदेशले अन्योलमा परेका छन् । सस्तो मूल्यमा आकर्षक ठाउँको जग्गा पाउने प्रलोभनमा परेर करोडौं रुपैयाँ बैना दिएका सर्वसाधारण पैसा फिर्ता नहुने चिन्तामा परेका हुन् । 

गिरीबन्धुको हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टा गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले गत माघ २४ मा खारेज गरेको थियो । वैशाख २९ मा सर्वोच्चले हदबन्दी छुट पाएको उक्त जमिन दुरुपयोग गर्न मात्र होइन, बाँझो राखेको भेटिए सरकारकै स्वामित्वमा ल्याउने गरी परमादेश जारी गरेपछि जग्गा पाउने आसमा बिचौलियालाई पैसा बुझाएकाहरू तनावमा परेका हुन् । 

उनीहरूमध्ये कतिपयले बैना रकम फिर्ताका लागि ताकेता गर्न थालेका छन् भने पहुँच र प्रभाव नभएकाहरू पैसा फिर्ता नहोला कि भन्ने चिन्तामा छन् । जग्गा किन्न बैना रकम बुझाएकामध्ये झन्डै आधा दर्जनलाई कान्तिपुरकर्मीले भेटेको थियो । तीमध्ये धेरैजसो नाम सार्वजनिक गर्दा बिचौलियाले पैसा फिर्ता नदिने डरले खुलेर बोल्न चाहेनन् । केही कानुनी झमेलामा फसिने डरले सार्वजनिक हुन चाहेनन् । जग्गा किन्न लगानी गरेका बिर्तामोडका एक व्यवसायी भने नेता, व्यापारीदेखि सर्वसाधारणलगायत करिब ५ सय हाराहारीले गिरीबन्धुको जग्गा किन्न करोडौं लगानी गरेको बताउँछन् ।

Giribandhu's ”plotting” is under tension

जग्गा खरिदबिक्रीका लागि गरिएको कागज।

चलनचल्तीको बजारभाउमा प्रतिधुर ५ देखि १० लाख रुपैयाँसम्म पर्ने जग्गाका लागि बैना बुझाउनेमा झापादेखि काठमाडौंसम्मका सर्वसाधारण छन् । उनीहरूमध्येकी एक हुन्, झापाको शिवगन्जबाट आएर बिर्तामोडमा होटल व्यवसाय गर्दै आएकी कल्पना लिम्बू । नयाँ बसपार्कसँगै जोडिएको १० धुर जमिन किन्ने सपनामा उनले चार वर्षअघि स्थानीय विष्णुबहादुर राईलाई बैना रकम बुझाएकी थिइन् । डेरामा बसेर व्यवसाय गर्दै गुजारा चलाइरहेकी उनले भनिन्, ‘विदेशमा रहेको भाइसँग मिलेर ५० लाखमा जमिन किन्न रकम बैना गरेका थियौं । अहिलेसम्म न रकम फिर्ता आयो न त जमिन नै ।’ 

बैना बुझाएका सर्वसाधारण रकम डुब्ने चिन्तामा भए पनि ठूला लगानीकर्ताहरू भने फरक भनाइ राख्छन् । गिरीबन्धुको जग्गा पाइने आसमा लगानी गर्ने सयभन्दा बढी ठूला व्यापारीको सूचीमा बिर्तामोडको शिवम् हाउजिङका प्रबन्धक मनोज प्रसाईं पनि एक हुन् । करोड हाराहारीमा लगानी गरेका उनी बैना फिर्ता हुनेमा ढुक्क छन् । ‘साना लगानीकर्तामध्ये कतिपयको फिर्ता गरिसक्नुभएको छ,’ उनले भने, ‘उहाँहरूले हाम्रो पैसा फिर्ता गर्नुहुन्छ, त्यसमा ढुक्क छौं ।’ 

Giribandhu's ”plotting” is under tensionपूर्व–पश्चिम राजमार्गको बिर्तामोड–चारआली खण्ड वारपार देखिने गिरीबन्धु टी–इस्टेटमा हदबन्दीको प्रबन्ध खुला गर्दै जग्गा सट्टा भर्ना र बिक्रीवितरण गरिने भनिएपछि अर्बभन्दा बढीको जमिन बिक्रीको बैनाबट्टा भइसकेको छ । कान्तिपुरसँग सम्पर्कमा आएकामध्ये धेरैले बिर्तामोड वरिपरिकै करिब तीन सय व्यापारी र सर्वसाधारणले ५ लाखदेखि १० करोडसम्म लगानी गरेको बताए । बिर्तामोड बसपार्क क्षेत्रका एक व्यवसायीले आफ्नो नाम सार्वजनिक नगर्ने सर्तमा आफूले लगानी गरेको ५ लाख बारम्बार ताकेता गरेर केही दिनअघि फिर्ता लिएको बताए । उनले पनि राईलाई नै रकम बुझाएका थिए । ‘१० धुरका लागि ५ लाख बैना गरेको थिएँ । धाउँदाधाउँदै पैसा लिएरै छाडें,’ उनले भने ।

Giribandhu's ”plotting” is under tensionभूपू सैनिक संघसम्बद्ध विष्णुबहादुर राई गिरीबन्धु जग्गाको व्यवस्थापन, बिक्री र साटफेर गर्ने/गराउनेमध्येका मुख्य साझेदार हुन् । यसअघि बिर्तामोड बसपार्क क्षेत्रको ५१ बिघा बिक्रीवितरण र व्यवस्थापनको जिम्मेवारी पाएका उनी पछिल्लो समय गिरीबन्धुको जग्गाको बैना बुझ्न सक्रिय थिए । भदौको पहिलो साता कान्तिपुरसँग कुरा गर्दै उनले भनेका थिए, ‘गिरीबन्धुमा जेजति चियाबारी छ, यो यत्तिकै मासिने होइन । यसको सट्टाभर्ना जमिन र चिया खेतीको प्रबन्ध नगरी त्यत्तिकै स्थानान्तरण हुँदैन ।’ यस्तो विश्वास बताउने राई पछिल्लो समय भने सम्पर्कविहीन रहेको उनलाई बैना बुझाउनेहरूले बताए । अन्य बिचौलिया पनि सम्पर्कविहीन भएको स्थानीयको भनाइ छ ।

गिरीबन्धुको जग्गा व्यवस्थापनमा खटिएका राईलगायत व्यक्तिसँग सम्बन्ध भएका मनोज प्रसाईंहरू जस्ता धेरै व्यवसायीले लगानी नडुब्ने बताए पनि उनीहरूले फकाएर जग्गामा लगानी गराएका सर्वसाधारण आश्वस्त हुन सकेको देखिँदैन । जग्गा पाइने आसमा १५ लाख बैना बुझाएका बिर्तामोडका एक खुद्रा व्यापारीले रकम फिर्ता नहुने चिन्ताले सताएको बताए । ‘घर नजिकैका छिमेकी राईले लोभ देखाएपछि लगानी गरेर एक कट्ठामा जिन्दगीभरिको कमाइ खन्याएको थिएँ । अब पैसा कसरी फिर्ता लिने होला भन्ने चिन्ता लागेको छ,’ उनले भने ।

बिर्तामोडका सञ्जय प्रसाईं पाँच वर्ष जति दुबईमा बिताएपछि तीन वर्षअघि घर फर्किएका थिए । ‘स्वदेशमै केही गर्ने’ योजनाका साथ आएका उनको पनि १५ लाख बैना रकम गिरीबन्धुमा डुबेको छ । बिर्तामोडकै जग्गा दलाल राजु रायमाझीमार्फत उनले रकम लगानी गरेका थिए । ‘बैना बुझाएपछि विश्वास नलागेर वडामा कागज गर्छु भन्दा उनले मानेनन्,’ प्रसाईंले थपे, ‘कागज गर्दिनँ, बरु चेक दिन्छु । ६ महिनाभित्र जग्गा भएन भने पैसा फिर्ता गर्छु भने । अहिले बेपत्ता छन् ।’ रायमाझीले नयाँ बसपार्क क्षेत्रका एक दर्जन सर्वसाधारणबाट २ करोडभन्दा बढी बैना असुलेको प्रसाईंको दाबी छ । ‘बैना दिएका मान्छेहरू मजस्तै पुर्पुरोमा हात राखेर बसिरहेका छन्,’ उनले थपे ।

Giribandhu's ”plotting” is under tensionभूमि व्यवस्था मन्त्रालयबाट चिया बगान सट्टापट्टाको अनुमति मिलेपछि बिर्तामोडका जग्गा कारोबारीहरू विष्णु राई, मनोज प्रसाईं, होटल व्यवसायी राजेन्द्र थापा, अटो मोबाइल्स व्यवसायी टुकेन्द्र अधिकारीलगायत व्यक्ति यो जग्गा बेच्नका निम्ति जोडिएका थिए । यी चार व्यवसायीमार्फत अन्य व्यक्ति थपिँदै लगानी बढ्दै गएको देखिन्छ, जसमा एमाले, कांग्रेस, माओवादीका नेता, कार्यकर्तादेखि जनप्रतिनिधिहरू पनि जोडिएका छन् । 

बिर्तामोड आवास कम्पनी नामक संस्था खोलेका राई यसअघि २०६० सालमा ५१ बिघा चियाबगान मासेर जग्गा प्लटिङ गर्नेमध्येका एक हुन् । बिर्तामोड आवास कम्पनीमा उनीसहित २७ जना साझेदार थिए । जग्गा किन्न पैसा लगानी गरेकाहरूका अनुसार विक्रेताको सञ्जालबाट गिरीबन्धुको झन्डै ३ सय ४४ बिघाको भित्रभित्रै कित्ता निर्धारण गरी १ बिघा बराबर १ सेयरका हिसाबमा बैनास्वरूप बिक्रीवितरण सुरु गरिएको थियो । जसमा एक सेयरको मूल्य ६ करोड रुपैयाँ निर्धारण गरिएको थियो । 

चिया बगानको जग्गा बेच्न स्थानीय रूपमा विष्णु राई र काठमाडौंमा दीपक मल्होत्रा सक्रिय भएका थिए । सस्तोमा जग्गा पाइने प्रलोभनमा बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाईंको परिवार पनि परेको थियो । मेयर प्रसाईंले विगतमा श्रीमान् हुँदैखेरी व्यापारी दीपक मल्होत्रालाई करोड रुपैयाँ बुझाएको कुरा सुनेको र श्रीमान्को मृत्युपछि मल्होत्राबाट आफूहरूले उक्त रकम फिर्ता पाइसकेको बताइन् । ‘विगतमा कारोबार थियो अहिले छैन,’ उनले भनिन् । 

बिर्तामोडका अटो मोबाइल्स व्यापारी टुकेन्द्र अधिकारीले निजी करिब ३० करोडसहित ५० करोड हाराहारीको रकम जग्गामा लगानी गरेको स्थानीय बताउँछन् । तर अधिकारी भने आफूले त्यत्रो रकम नहालेको दाबी गर्छन् । ‘केही करोड लगानी गरेको पक्कै हो । तर बजारमा सुनिएजस्तो रकम चाहिँ हल्ला मात्रै हो,’ उनले भने । कति जग्गा किन्न कति लगानी गरेको हो भन्ने चाहिँ खुलाउन नचाहे पनि अधिकारीमार्फत जग्गा पाइने आसमा बैना बुझाएहरू भने उनीसँग पैसा फिर्ता मागिरहेका छन् । 

Giribandhu's ”plotting” is under tensionचिया बगानको जग्गा किन्न करोडको हाराहारीमा लगानी गर्नेहरूमा अधिकांश बिर्तामोड, भद्रपुर, काँकडभिट्टा, धुलाबारी, सुरुंगा, दमकतिरका धनाढ्यहरू छन् । यतिबेला सबैजसो बैना रकम फिर्ताका लागि ताकेता गरिरहेका छन् । केही भने बिर्तामोड नगरपालिकाभित्रैको अपायक जग्गा सकार्न बाध्य भइरहेका छन् । मनोज प्रसाईंमार्फत जग्गा किन्न १ करोड २० लाख बैना बुझाएका एक जना स्थानीयले नाम उल्लेख नगर्ने सर्तमा लगानी भएको मितिदेखि अहिलेसम्मको १० प्रतिशत ब्याज पनि जोडेर गरामनीतिरको जग्गा लिनेबारे कुरा भइरहेको सुनाए । ‘चिया बगानको जग्गा नभएपछि त्यही पनि लिनुपर्‍यो भनेर मजस्ता धेरै लगानीकर्ता लागेका छन्,’ उनले भने । 

बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव कुशल खतिवडाले झापाका कैयौं व्यापारीको पैसा चिया बगानमा डुबेको बताए । ‘व्यापारीहरूको पैसा जति चिया बगानको जग्गामा डुब्दा झापा आर्थिक मन्दीको चपेटामा छ । त्यो पैसा मात्रै उठ्ने हो भने झापा चलायमान हुनेथियो,’ उनले भने ।

गिरीबन्धु जग्गा प्रकरण

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully