कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

लुम्बिनीमा केन्द्रको निर्णय पर्खंदै एमाले-माओवादी गठबन्धन  

नयाँ समीकरणमा एक मत अपुग, साना दल निर्णायक 
वीरेन्द्र केसी

देउखुरी, दाङ — केन्द्रमा भएको सत्ता समीकरण फेरबदल भएसँगै लुम्बिनी प्रदेशमा कांग्रेस नेतृत्वको सरकार संकटमा परेको छ । अहिले लुम्बिनीमा कांग्रेसका डिल्लीबहादुर चौधरीको नेतृत्वमा सरकार छ । उनलाई प्रदेशसभाका रहेका १० दलमध्ये एमाले र राप्रपाबाहेक सबै दलको समर्थन गरेका थिए । चौधरी ५३ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री भएका थिए । 

लुम्बिनीमा केन्द्रको निर्णय पर्खंदै एमाले-माओवादी गठबन्धन  

केन्द्रमा भएको एमाले, माओवादी, रास्वपा र जसपासहितको नयाँ गठबन्धन अनुसार लुम्बिनीमा सरकार गठनका लागि एक मत अपुग हुने देखिएको छ । प्रदेशसभामा ८७ सदस्यमध्ये राप्रपाबाट निर्वाचित कपिलवस्तुका सांसद जानकीप्रसाद यादव निलम्बित भएपछि सांसदको संख्या ८६ भएको छ । आवश्यक बहुमतका लागि ४४ जना सांसद चाहिन्छ ।

लुम्बिनीमा ठूलो दल एमालेका २९, माओवादीका ११ र जनता समाजवादी पार्टीका ३ जना गरी गठबन्धनमा ४३ जना संख्या पुग्छ । कांग्रेसका २७, नागरिक उन्मुक्ति पार्टीका ४, राप्रपा, लोकतान्त्रिक समाजवादी पाटी र जनमतका तीन–तीनवटा, राजमो एक, एकीकृत समाजवादी एक र स्वतन्त्र एक जना सांसद रहेका छन् ।

यो अवस्थामा नागरिक उन्मुक्ति पाटी, राप्रपा, लोसपा, जनमत, राजमो, नेकपा एससहितका साना दल लुम्बिनी प्रदेश सरकार निर्माणका लागि निर्णायक देखिन्छन् । बराबरी मत भएमा सभामुखको निर्णायक मत हुने कानुनी प्रवाधान छ । सभामुख तुलाराम घर्ती मगर माओवादी केन्द्र पाल्पा २(२) बाट निर्वाचित भएका हुन् । उपसभामुखमा राप्रपाकी मुनुका खाँड केसी छिन् ।

नयाँ गठबन्धन दल एमाले–माओवादी र जसपाले केन्द्रको निर्णय पर्खेर बसेका छन् । एमाले लुम्बिनी संसदीय दलका नेता लिला गिरीले लुम्बिनी प्रदेशका कसले नेतृत्व पाउने भन्ने केन्द्रमा निर्णय भएपछि सरकार गठनमा अगाडि बढ्ने बताए । लुम्बिनीमा वर्तमान सरकारमा रहेका दलहरूले समर्थन फिर्ता लिएपछि प्रक्रिया अगाडि बढ्ने उनले बताए । ‘केन्द्रमा सरकार फेरिएपछि मुख्यमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने हो,’ गिरीले भने, ‘मार्गप्रशस्त गर्नुपर्छ ।’ सरकार निर्माणका लागि एक जना सांसद अपुग भए पनि राप्रपाले नयाँ सरकारलाई समर्थन गर्ने दाबी गरे । तर, केन्द्रको नयाँ गठबन्धनमा राप्रपा सहभागी छैन ।

माओवादी संसदीय दलका नेता जोखबहादुर महराले सरकार निर्माण गर्नेबारे छलफल चलिरहेको बताए । उनले साना दलसित पछि छलफल भइरहेकाले बहुमत पुग्ने बताए ।

अबका मुख्यमन्त्री माओवादीले नै पाउनुपर्ने उनले बताए । यसभन्दा अघि एमालेसँगको गठबन्धनमा लिला गिरी मुख्यमन्त्री र महरा अर्थमन्त्री थिए । यसअघिका एमालेसँग र कांग्रेससँगको गठबन्धनमा मुख्यमन्त्री छाडेकाले अब हुने नयाँ गठबन्धनमा नेतृत्व माओवादीले नै पाउनुपर्ने अडान रहेको उनले बताए । लुम्बिनीमा एमालेले नेतृत्व गर्ने अवस्थामा गिरी र माओवादीले पाएमा महरा मुख्यमन्त्री बन्ने सम्भावना बलियो छ ।

प्रकाशित : फाल्गुन २२, २०८० १२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×