कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

पाल्पाको रम्भा गाउँपालिकाले टुंगो लगायो केन्द्र

जग्गा आफ्नो नाममा गराएर भवन निर्माण प्रक्रिया सुरु गरिने
माधव अर्याल

पाल्पा — पाल्पाको रम्भा गाउँपालिकाले साढे ६ वर्षपछि केन्द्र टुंगो लगाएको छ । पाँच वडा रहेको पालिकामा ५ स्थानमा केन्द्रका लागि निवेदन परेको थियो । २०७४ मा निर्वाचित जनप्रतिनिधिले केन्द्र टुंगो नलगाई विदा भए । केही वडाका वडाध्यक्ष परिवर्तन भए पनि २०७४ मै निर्वाचित अध्यक्ष विष्णुप्रसाद भण्डारी र उपाध्यक्ष राधाकुमारी श्रेष्ठ पुनः २०७९ मा निर्वाचित भएका हुन् । 

पाल्पाको रम्भा गाउँपालिकाले टुंगो लगायो केन्द्र

पहिलो निर्वाचनपछिको साढे ६ वर्ष बित्दासमेत संघीय सरकारले तत्कालीन समयमा रम्भा–३, पिपलडाँडामा पर्ने खोकखोलामा केन्द्र तोकेर कामकाज सञ्चालन गरिरहेकै स्थान नजिक केन्द्र बन्ने भएको गाउँपालिका अध्यक्ष भण्डारीले बताए । संघीय सरकारले तोकेको केन्द्र परिर्वतनको अवसरलाई प्रयोग गर्न गाउँपालिकाले सकेन । बहुमत सदस्यले पारित गर्न नसक्दा अन्यत्र सार्न नसकेको उनले बताए ।

गाउँपालिकाले कार्यविधि अनुसार स्थायी केन्द्रका लागि आवश्यक जग्गा प्रस्तावका लागि आहृवान गरेको थियो । सोही अनुसार ५ जना सभाका सदस्यले गाउँपालिका भित्रका विभिन्न ५ स्थानमा केन्द्र बनाउनुपर्ने माग सहितको निवेदन दर्ता गरेको अध्यक्ष भण्डारीले जानकारी दिए । ‘सभा सदस्यले पेश गरेका केन्द्रका लागि बहुमत जुटाउन सकिएन,’ उनले भने, ‘अन्तिममा अहिले केन्द्र रहेको ५ सय मिटर वरपर नै राख्नुपर्ने अवस्था आएको छ ।’

सभा सदस्य केशरबहादुर रानाले रम्भा–३, पिपलडाँडाकै शिखरडाँडाको नियालेमा राख्नुपर्ने प्रस्ताव गरेका थिए । सभा सदस्य कृष्णबहादुर रायमाझीले पिपलडाँडाकै मेवाटारी, सभा सदस्य सुरबहादुर सुनारीले पिपलडाँडाकै पिपलटारीका लागि प्रस्ताव दर्ता गरेका थिए । सभा सदस्य खुमकान्त बस्यालले रम्भा–५, ताहुँको भुर्लुके, सभा सदस्य चेतबहादुर सुनारीले रम्भा –२, फोक्सिङकोटको लुप्च पोखराका लागि दर्ता गराएका थिए ।

भुर्लुकेका लागि ६ जनाले, मेवाटारीका लागि ११ जना र रिमिघाको गेटनजिकै पूर्वपट्टी लुप्च पोखराका लागि १२ जनाले मात्र मतदान गरेपछि अस्वीकृत भयो । सभामा प्रस्तावित क्षेत्रको विषय निर्णायार्थ प्रस्तुत गर्दा तीन वटा प्रस्ताव अस्वीकृत भएको उपाध्यक्ष श्रेष्ठले बताइन् । बाँकी रहेका शिखरडाँडाका लागि १५ जनाले हुन्छ भन्ने मत जाहेर गरेका थिए । पिपलटारीमा १५ जनाले हुन्छ भन्ने आवाज उठाए । तर २८ सदस्य रहेको गाउँसभामा २७ जनाबाट दुई तिहाईले निर्णय गर्नुपर्ने हुन्छ ।

कतै पनि दुई तिहाई मत नपुगेपछि संघीय सरकारले तोकी आएको ठाउँको ५ सय वरपर जग्गा खोजी भवन निर्माण कार्य अघि बढाउनु भनेअनुसार नै अघि बढेको अध्यक्ष भण्डारीले बताए । पहिलो पटक संघीय सरकारले रम्भा गाउँपालिका–३, पिपलडाँडाको खोकखोलालाई केन्द्र तोकेको हो । त्यसपछि केन्द्र परिर्वतन गर्न चाहेमा ६ महिनाभित्र बहुमतले र त्यसपछि गाउँसभाको दुई तिहाई मतबाट गर्न सक्ने व्यवस्था गरेको छ ।

सोहीअनुसार प्रक्रिया अगाडि बढाउँदा प्रस्तावित ठाउँले स्थानीय सरकार सञ्चालन ऐन २०७४ र गाउँपालिकाले तयार गरेको कार्यविधि अनुसार आवश्यक मत प्राप्त गर्न नसकेको प्रमुख प्रशासकीय अधिकृत ठाकुरप्रसाद अर्यालले बताए ।

दुई तिहाई मत प्राप्त गर्न नसक्दा केन्द्र सार्ने प्रस्ताव अस्वीकृत भएकोले खोकखोला नै केन्द्रका रूपमा स्थापित गर्ने निर्णय गरिएको उनले बताए । स्थायी केन्द्रको टुंगो नलाग्दा पालिकाको प्रशासनिक भवन निर्माणमा ढिलाइ भएको छ । सेवा प्रवाहमा समेत समस्या भएको छ । केन्द्रको टुंगो लागेसँगै भवन निर्माणको कामलाई तीव्रता दिइने अध्यक्ष भण्डारीले बताए ।

खोकखोला नजिक पिपलडाँडा स्वास्थ्य चौकीको दक्षिणतर्फ ७ रोपनी १ आना जग्गा चार जना दाताले दिएका छन् । पालिकाले भवन निर्माणका लागि यस वर्ष ५० लाख बजेट विनियोजन गरेको छ । अर्को वर्षका लागि संघीय सरकारसँग समपुरकमा २ करोड माग गरेको छ ।

नेपाल सरकारको नाममा जग्गा पास गरेपछि बहुवर्षीय ठेक्का लगाइने उनले बताए । नापीले नापजाँच गरेको र जग्गा पालिकाको नाममा आइसकेपछि डीपीआर बनाएर अघि बढ्ने उनले बताए । यसवर्ष घडेरी सम्याउने, तारबार गर्ने, डीपीआर बनाउनेलगायतका काम अघि बढ्नेछ ।

प्रकाशित : फाल्गुन १०, २०८० १२:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×