कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

पाल्पा जीप दुर्घटना : खुसीयाली मनाउने दिन सिंगो गाउँ शोकमा

माधव अर्याल

पाल्पा — बसन्त पञ्चमीका दिन बुधबार तिनाउ गाउँपालिका–६ चिदिस र सिखरडाँडामा आफन्त जुटेर गाउँमा खानपिन, रमाईलो गर्ने योजनामा थिए । छिमेकी टोलसहितका भेला हुने, आफन्त बोलाएर मिठोमसिनो खुवाउने र नाचगान गर्ने योजना थियो । मंगलबार बसन्त पञ्चमी मनाउन आइरहेका आफन्तसहितको जीप दुर्घटनाले सिंगो गाउँ शोकमा डुबेको छ ।

पाल्पा जीप दुर्घटना : खुसीयाली मनाउने दिन सिंगो गाउँ शोकमा

‘हामी जीपमा धेरै दिदीबहिनी रमाईला गफ गर्दै थियौं,’ तिनाउ–६ की ४२ वर्षीया सविता परियारले भनिन्, ‘हामीभित्र गफिदै गर्दा घुम्तीमा गाडीमा के आवाज मात्र आएको थियो, त्यसपछि होसनै भएन, एकैपटक अस्पतालमा भएको थाहा पाएकी हुँ ।’

सिखरडाँडा र चिदिस वल्लोपल्लो टोल हो । यहाँ बसन्त पञ्चमीमा आफन्त भेटघाट गर्ने, रमाईलो गर्ने, खानपिन गर्ने चलन छ । स्थानीय लक्ष्मी आधारभूत विद्यालयका प्रधानाध्यापक प्रेम रानाले चाडपर्व मनाउन आएका आफन्तनै दुर्घटना पर्दा सिंगो गाउैँ शोकमा डुबेको बताए ।

‘दुर्घटनामा परेको जीपमा सबै चाड मनाउन आइरहेका आफन्त थिए,’ उनले भने, ‘रमाइलो गरेर खानपिन गर्ने दिनमा गाउँभरी सन्नाटा छाएको छ । कोही एक अर्कालाई हेरेर बोल्न सक्ने अवस्थामा छैनन् ।’ घाइतेको उपचार भइरहेको लुम्बिनी मेडिकल कलेज र पाल्पा अस्पतालमा आफन्तको भीड छ ।

सिद्धार्थ राजमार्गको डुम्रेबाट सिखरडाँडा जाँदै गरेको लु १ ज २३७१ नम्बरको मुस्ताङ जीप मंगलबार बेलुकी लुम्पेकडाँडा घुम्तीमा दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो । दुर्घटनामा १६ जना घाइते छन् ।

‘चाडपर्वमा आफन्त जम्मा भएर रमाइलो गर्ने चलन हुन्छ,’ स्थानीय रामबहादुर सुनारले भने, ‘दैवको लीला मेरो छोरी लग्यो ३६ दिनको नातिनी अस्पतालमा छ । गाउँमा बसिसक्नु छैन । सबैका आँखामा आँशु मात्र छ ।’ उनका अनुसार अधिकांश गाउँलेका आफन्त दुर्घटनामा परेका छन् ।

दुर्घटनामा ज्यान गुमेकी ६० वर्षीया यनकुमारी पन्थ मगरको परिवारका तीन जना घाइते छन् । जेठो छोराको छोरा कृष्ण, छोरी भूमि पुन र उनका छोरा सौरभ पुन घाइते छन् । वल्लो पल्लो घरभएका छिमेकी रामबहादुर, कृष्णबहादुर र उर्मिला अस्लामीको मृत्यु भयो । वडाध्यक्ष टोमबहादुर पुनका अनुसार मृत्यु हुने तीन जना वल्लोपल्लो घरका हुन् । कच्ची सडक, उकालो र घुम्ती सडकमा क्षमता भन्दा दोब्बर यात्रु राखेर गएको जीप दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार दुर्घटनाग्रस्त जीप सडकबाट झण्डै ३ सय मिटर तल्लो सडकमा पुगेको छ । घाइतेको खुट्टा, ढाड, टाउकोमा चोटपटक लागेको लुम्बिनी मेडिकल कलेजले जनाएको छ । चिदिसमा १ सय ३० र सिखरडाँडामा ४० घरपरिवारको बस्ती छ । यहाँ मगर र दलितको बसोवास छ । घाइते भएका तुलबहादुर नेपालीका फुपुपुसाजु चुना र चन्द्र रणपालको मृत्यु नै भयो । बुटवल उपमहानगरपालिका १४ तामनगर बस्ने उनीहरु पर्व मनाउन आइरहेका थिए ।

२० वर्षकी गीता सुनार तिनाउ २ खुर्सानेबाट पन्चमी मनाउन माइती आइरहेकी थिइन् । उनकी तीन वर्षीया छोरी स्वस्तिका अस्पतालमा छन् । घाइते सविता परियार पनि आफन्त हुन् । गीताकै भाउजु कमला सुनार गम्भीर घाइते छन् । उनलाई उपचारका लागि चितवन भरतपुर लगिएको छ । २९ वर्षीय दिलमाया जीसीको निधन भयो भने उनका ६ वर्षका अस्मित र ९ वर्षको विवेक जीसी घाइते छन् ।

उनीहरु पनि रुपन्देहीको देवदह नगरपालिका ५ देखि माइती आएका हुन् । तिनाउ गाउँपालिका–६,वर्षीय अमृता गहतराज पनि गम्भीर छन् । स्थानीयका अनुसार जीपमा सवार अधिकांश पर्व मनाउन गाउँ हिडेका परेका छन् ।

‘पहिलेदेखि नै बसन्त पन्चमीलाई अक्षराम्भ, गोरु दाउने, नारा लगाउने भन्ने चलन थियो,’ वडाध्यक्ष पुनले भने, ‘हरेक वर्ष जस्तै यसवर्ष पनि पर्व मनाउन गाउँघर फर्केकाहरु दुर्घटनामा परे । खुसीयाली मनाउने दिन गाउँ शोकमग्न बनेको छ ।'

दुर्घटनाको शोकमा तिनाउ गाउँपालिका बुधबार सार्वजनिक विदा दिएको छ । पालिकाभित्रका मृतकका परिवारलाई जनही ३५ हजार रुपैंयाँका दरले राहत दिने र घाइतेको उपचारका लागि सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरेको अध्यक्ष प्रेम श्रेष्ठले बताए ।

प्रकाशित : फाल्गुन २, २०८० १९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×