कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

गुल्मीमा अनिसा विकले प्राप्त गरिन् जिल्लाकै सर्वाधिक जीपीए

गुल्मी — सामुदायिक विद्यालयमा अध्ययन गरेकी दलित समुदायकी छात्रा अनिसा विकले हालै प्रकाशित एसईईको नतिजामा जिल्लाकै सर्वाधिक जीपीए ल्याएकी छन् । सदरमुकाम तम्घासको सिद्धबाबा उच्च माविकी छात्रा अनिसाले ३.९५ जीपीए ल्याएर एसईई उत्तीर्ण गरेकी हुन् । 

गुल्मीमा अनिसा विकले प्राप्त गरिन् जिल्लाकै सर्वाधिक जीपीए

सदरमुकाम रेसुङ्गा नगरपालिका-८, खानीगाउँ निवासी १७ वर्षिया अनिसा विकले पारिवारिक वातावरण र विद्यालयको वातावरण राम्रो भएको कारण आफूले अपेक्षा गरे अनुसारको सफलता प्राप्त गर्न सफल भएको बताइन् ।

‘धेरै समय त विद्यालयमा नै बित्यो, त्यहाँ निकै मेहनेत गराउनुभयो’, उनले भनिन्, ‘घरमा पनि पढ्नका लागि राम्रो वातावरण भयो र साोचे अनुसार सफलता पाएँ, निकै खुसी छु ।’ उनी आफूलाई मेडिकल क्षेत्रमा निकै रुची रहेको र बाबुआमाले खर्च पुर्‍याउन सकेमा डक्टर बन्ने सपना रहेको बताइन् ।

घर बनाउने मिस्त्रीको काम गरेर जीवन निर्वाह गरेका उनका बुबा यमबहादुर छोरीको सफलताले निकै खुसी लागेको बताए । अहिले रेसुङ्गा नगरपालिकाको कार्यपालिका सदस्य रहेका यमबहादुर छोराछोरीलाई अध्ययनको वातावरण बनाउनको लागि देशपरदेश नगएको र यो नतिजाले निकै खुसी लागेको बताए ।

‘म जहिले सुकै नानीबाबुहरुको साथी भएँ, उनीहरुकै पढाइका लागि कारण देशपरदेश गइनँ, ऋणधन गरेर पनि पढाएँ, पढ्ने वातावरण दिएँ’, उनले भने, ‘अहिले कान्छी छोरी जिल्ला प्रथम भईन्, खुसी छु ।’

उनका ४ सन्तान मध्ये जेठो छोराले सिद्धबाबा उच्च माविमै व्यवस्थापन संकायतर्फ प्सस टु टप गरेका थिए। उनी भारतीय सेनामा कार्यरत छन् । जेठी छोरी व्यवस्थापनमै स्नातक पूरा गरेकी छन् भने माइली छोरी जापानमा छन् । उनी अध्ययनका लागि आफू एकपटक छोराछोरीका सामु आफू उठबस गरेका सम्झन्छन् ।

‘१२ कक्षा पढ्दा जेठी छोरीको विवाहको प्रस्ताव आयो । छोरीले बाबा, पहिला त म कर्मीकाम गरेर तिमीहरुलाई पढाएको छु, राम्रोसाग पढ, गरिबको सम्पत्ति शिक्षा हो भन्नुहुन्थ्यो अहिले किन बिबाहको कुरा गर्नुहुन्छ भनिन्’, उनले भने, ‘त्यसपछि म अव विवाहको कुरा कहिल्यै गर्दिन भनेर कान समाएर उठबस गरो, छोराछोरीले पनि भनेजस्तै गरेका छन् ।’

सदरमुकामकै अर्को विद्यालय महेन्द्र माविका कल्याण मरासिनीले ३.९० जीपीए ल्याएर जिल्लामा दोस्रो भएका छन् । गुल्मीमा यसवर्ष जम्मा ३४.४६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । जिल्लाबाट ४ हजार ७१ जना विद्यार्थी एसईईमा सहभागी भएकोमा १ हजार ४ सय ३ जना मात्र उत्तीर्ण भएका छन् ।

साधारण धारतर्फ ३४ प्रतिशत र प्राविधिक धारतर्फ ४२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय ईकाई गुल्मीले जनाएको छ ।

प्रकाशित : असार १६, २०८१ १५:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×