कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५४

२७ महिला गन्जा-ला चुली आरोहणमा

सुरज कुँवर

काठमाडौँ — आरोही माया गुरुङ आरोहण टोलीसहित सोमबार सिन्धुपाल्चोक र रसुवाको उत्तरी भेग धुपु पुगेकी छन् । उनको टोलीमा छन्, बेचबिखनमा परेका, अनाथ र गरिबीको चपेटामा परेर विद्यालय छाडेका २६ महिला । ‘मसहित २७ महिला लाङटाङ हिमशृंखलाअन्तर्गत पर्ने गन्जा–ला चुली आरोहण गर्दै छौं । अबको २ साता हिमालतिरै हुनेछौं,’ गुरुङले ह्वाट्सएपमार्फत कान्तिपुरलाई भनिन् । 

२७ महिला गन्जा-ला चुली आरोहणमा

रसुवाको क्यान्जिन गुम्बाबाट दक्षिणतर्फ रहेको हिम चुचुरो हो, गन्जा–ला । लाङटाङ पदयात्रामा जाने जोकोही ५ हजार ८ सय ४४ मिटर उचाइको यो हिमाल देखेर मोहित भइहाल्छन् । त्यही गन्जा–ला चुलीमा २७ जनालाई आरोहण गराउन भान्से, शेर्पा, सरदार, भरियासहित ७० जनाको टोली शनिबार काठमाडौंबाट मेलम्ची हुँदै त्यसतर्फ लागेको हो ।

‘सामाजिक रूपमा पिँधमा रहेका महिलालाई पर्यटन क्षेत्रमा ल्याउन यो अभियान थालेका हौं,’ अभियानकी संयोजक गुरुङले भनिन्, ‘२ वर्षदेखि उनीहरूलाई सिन्धुपाल्चोकमा पदयात्रा गाइड, नेतृत्व विकास, कम्प्युटर, भाषा लगायतको तालिम दिइएको थियो । अब फिल्डमा उतारेकी छु ।’

आरोहणमा झन्डै १ करोड खर्च हुनेछ । यसका लागि विभिन्न व्यक्ति, महिलाका लागि काम गर्ने सामाजिक संस्थाबाट चन्दा संकलन गरिएको छ । गन्जा–ला हिमालको आरोहण दस्तुर नेपाल पर्वतारोहण संघले संकलन गर्छ । वसन्तकालीन याममा यो हिमाल आरोहण गर्न नेपालीले ४ हजार रुपैयाँ तिर्नुपर्छ । अहिले बर्खायाममा भने संघलाई १ हजार रुपैयाँ तिरेर टोलीले आरोहण गर्न लागेको हो ।

‘हिमाल आरोहणपछि यी दिदीबहिनीहरू आफैं स्वावलम्बी हुनेछन्,’ १६ वर्षअघि सगरमाथा आरोहण गरेकी गुरुङले भनिन्, ‘हाम्रो उद्देश्य ६ हजार मिटरसम्मका हिमालमा अबका दिन यी महिलाले गाइड गरून् भन्ने हो ।’

आरोहण टोलीमा अधिकांश सिन्धुपाल्चोक जिल्लाका छन्, जसमा अञ्जना आचार्य, अनिशा श्रेष्ठ, दीपा लामिछाने, प्रतिमा सापकोटा, रञ्जिता लामा, सृष्टि तामाङ, पुनम लामा, नमुना तामाङ, वर्षा विक, रविता थापा, संगीता विक, सरस्वती तामाङ, संगीता तामाङ, शान्ति थिङ, निमा याड्छेन, कमला सिग्देल, कृति लामा, मनमाया तामाङ, रविना खड्का, साधना बन्जारा, पम्फा गुरुङ, गौरी मालाकार, अलिशा माझी, सकिना माझी, नविना माझी र रमादेवी न्यौपाने छन् । आरोहण अभियानका केही युवती स्नातक तहमा अध्ययनरत छन् ।

‘यो हिमालमा यस पटक हामी दक्षिणी मोहडाबाट आरोहण गर्ने योजनामा छौं,’ सात महादेशका ७ अग्ला हिमाल पनि आरोहण गरेकी गुरुङले भनिन्, ‘सफल भए यो हिमालमा नयाँ रुटबाट आरोहण गर्ने हामी पहिलो टोली हुनेछौं ।’ मायाले यसअघि १ सय ३५ महिलालाई जुगल हिमालको आधार शिविरसम्म पुर्‍याएकी थिइन् । यसको उद्देश्य महिलाहरूलाई घरबाहिर ल्याएर पर्यटन क्षेत्रमा आबद्ध गराउनु थियो ।

यस पटक छानिएका २६ जना त्यही समूहका हुन् । उनीहरूलाई शुक्रबार नेपाल पर्वतारोहण संघका पदाधिकारीहरूले राजधानीमा बिदाइ समारोह आयोजना गरी शुभकामना दिएका थिए । संघका वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डेले वर्षायाममा हिमाल आरोहण पर्वतारोहण क्षेत्रका लागि निकै महत्त्वपूर्ण रहेको बताउँदै संसारभर यसले सकारात्मक सन्देश जाने बताए ।

प्रकाशित : असार १८, २०८१ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×