कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

लुम्बिनी प्रदेशमा १८ प्रतिशत मात्र रोपाइँ

सन्जु पौडेल

तिलोत्तमा — मध्य असारसम्म लुम्बिनी प्रदेशमा १८.५ प्रतिशत मात्रै रोपाइँ भएको छ । कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय लुम्बिनीका कृषि अर्थ विज्ञ डिल्लीराज पौडेलका अनुसार असार १४ गतेसम्म यहाँ १८.५ प्रतिशत मात्र रोपाइँ सकिएको छ ।

लुम्बिनी प्रदेशमा १८ प्रतिशत मात्र रोपाइँ

‘यस वर्ष पनि समयमै वर्षा नहुँदा प्रदेशमा धान रोपाई कम मात्रामा भएको छ, उनले भने, समयमै वर्षा भएको भए अहिले ५० प्रतिशतको हाराहारीमा रोपाइँ हुन्थ्यो ।’ उनले यो वर्ष गत वर्षको तुलनामा ७.४१ प्रतिशत बढी धान रोपाइँ भएको बताए । गत वर्ष लुम्बिनी प्रदेशमा असार १४ गतेसम्म ११.०९ प्रतिशत धान रोपाइँ भएको थियो ।

धान रोपाइँ हुने कुल ३ लाख ११ हजार ६४३ हेक्टर क्षेत्रफल मध्ये अहिलेसम्म ६७ हजार ६६७ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ । पौडेलका अनुसार प्रदेशमा सबैभन्दा धेरै धान रोपाइँ प्यूठानमा भएको छ । प्यूठानमा कुल ५ हजार २२० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ ।

जसमध्ये प्यूठानमा ६ हजार ५२५ हेक्टर क्षेत्रफल अर्थात धान रोपाइँ हुने क्षेत्रको ८० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । त्यस्तै, तराईका जिल्लामध्ये पश्चिम नवलपरासीमा धान रोपाइँ हुने २० हजार ४८० हेक्टर क्षेत्रमध्ये ११ हजार ८७८ हेक्टर अर्थात ५८ प्रतिशत रोपाइँ भइसकेको पौडेलले बताए । गत वर्ष यस अवधिमा सबैभन्दा बढी धान रोपाई भएको कपिलवस्तुमा हाल सबैभन्दा कम रोपाइँ भएको तथ्यांकमा उल्लेख छ । कपिलवस्तुमा ६९ हजार ४९७ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ । यस वर्ष रोपाइँ हुने क्षेत्रफलको ४ प्रतिशत मात्र रोपाइँ भएको छ ।

त्यस्तै रुपन्देहीमा २३ प्रतिशत रोपाइँ सकिएको छ । रुपन्देहीमा धान उत्पादन हुने ६३ हजार ४९७ हेक्टर क्षेत्रफलमध्ये १४ हजार ६०४ हेक्टरमा रोपाइँ भएको छ । पौडेलले दिएको जानकारीअनुसार धान उत्पादन हुने मुख्य जिल्ला दाङमा १० प्रतिशत र बर्दियामा २३.८ प्रतिशत रोपाईइँसकिएको छ ।

दाङ जिल्लामा धान रोपाइँ हुने कुल ३७ हजार २२५ हेक्टर क्षेत्रफलमध्ये ३ हजार ७२३ हेक्टर क्षेत्रफलमा रोपाइँ भइसकेको छ भने बर्दियामा ५० हजार १०० हेक्टर क्षेत्रफलमध्ये ११ हजार ८९९ हेक्टरमा क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । बाँकेमा धान उत्पादन हुने ३४ हजार ८५० हेक्टर क्षेत्रफल मध्ये ६९७ हेक्टर क्षेत्रफलमा रोपाई भएको छ । लुम्बिनी प्रदेशको पहाडी जिल्लामा सबैभन्दा धेरै धान उत्पादन हुने जिल्ला गुल्मीमा ११ प्रतिशत रोपाइँ सकिएको छ । गुल्मीमा ७ हजार ९८८ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ भने अहिलेसम्म ८७९ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ सकिएको हो ।

पाल्पामा कुल ८ हजार २ सय ४० हेक्टरमध्ये ७ सय ४२ हेक्टर क्षेत्रफल अर्थात ९ प्रतिशतमा रोपाइँ सकिएको छ । अर्घाखाँचीमा २२ प्रतिशत रोपाइँ भएको छ । रोल्पामा ३ हजार ४४६ हेक्टर (७५) प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ । रोल्पामा ४ हजार ५९५ हेक्टर र अर्घाखाँचीमा ७ हजार ७०१ हेक्टर क्षेत्रफलमा धानखेती हुन्छ । रुकुम पूर्वमा धानखेती हुने ९६२ हेक्टर क्षेत्रफलमध्ये १०६ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ । जुन कुल धानखेती हुने क्षेत्रफलको ११ प्रतिशत हो ।

सिँचाइको अभाव र आकाशको पानीमा निर्भर हुँदा कम मात्रामा धान रोपाइँ भएको मन्त्रालयका सूचना अधिकारी युवराज ढकालले बताए । 'सिँचाइको क्षेत्र बढाउन नसक्दा र आकाशे पानीमा नै निर्भर हुनुपर्ने अवस्था छ , त्यसैमाथि यो वर्ष पानी पर्न केही ढिला भयो,' उनले भने, 'यसको असर रोपाइँमा पर्‍यो ।'

प्रकाशित : असार १६, २०८१ १३:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×