कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खोपप्रति देखिएन उत्साह

भारतसित सीमा जोडिएका स्थानीय तहमा चिनियाँ खोपबारे ‘अफवाह’ फैलाइएकाले कम रुचि देखिएको स्वास्थ्यकर्मीको भनाइ

कपिलवस्तु, रुपन्देही, बाँके, नवलपरासी, अर्घाखाँची, — कपिलवस्तुको यशोधरा गाउँपालिका–८, खोरियाका ६२ वर्षीय पुरुषलाई खोप लगाउन बुधबार र बिहीबार स्थानीय केन्द्रमा बोलाइएको थियो । उनी गएनन् । ‘म सिमानामा बस्छु,’ उनले भने, ‘चीनको हावापानीका लागि बनाइएको खोप हो, मैले लगाइनँ ।’

खोपप्रति देखिएन उत्साह

पहिलो मात्रा लगाएका व्यक्तिको अनुभव सुनेर मात्र लगाउने उनले जवाफ दिए । यहाँका सीमावर्ती पालिकामा खोपको प्रभावकारिताबारे जानकारी छैन । डर र भ्रम छ । जसले गर्दा खोप केन्द्रमा भीड छैन । फाट्टफुट्ट लगाउन खोप केन्द्रमा पुग्ने गरेका छन् । कोरोनाको पहिलो र दोस्रो लहरमा हटस्पट बनेको जिल्लामा अहिले पनि संक्रमित छन् । दोस्रो लहर सुरु भएपछि १ सय ७० जनाको मृत्यु भइसकेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीले रोहिणी गाउँपालिकालाई प्रतिदिन ४ सय ७९ जनालाई लगाउने लक्ष्यअनुसार खोप उपलब्ध गराएको थियो । बुधबार खोप लक्ष्य पूरा भएन । ‘सूचना दिँदा पनि लक्षित उमेर समूहका व्यक्ति आएनन्,’ गाउँपालिका प्रमुख सनोजकुमार यादवले भने, ‘बिरामी नपर्दासम्म खोपको महत्त्व नबुझ्ने देखियो ।’ बुधबार बचेको १ सय ६९ खोपको मात्रा बिहीबार लगाएको उनले बताए । लुम्बिनी सांस्कृतिक नगरपालिकामा पाँचवटा खोप केन्द्र बनाइएको थियो । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुवराज घिमिरेले बुधबार २ सय ४६ र बिहीबार ८ सय ३२ जनाले खोप लगाएको जानकारी दिए । ‘हामीले ३ सय १३ खोपको मात्रा फिर्ता गर्‍यौं,’ उनले भने, ‘नगरपालिकामा लक्षित उमेरका व्यक्ति बाँकी रहे पनि खोप लगाउन आएनन् ।’ अनुगमनमा चीनबाट आएको खोपले अन्य रोग सिर्जना गर्ने हल्ला चलेको पाइएको घिमिरेले बताए ।

बाँकेको नरैनापुरमा लक्ष्यभन्दा निकै कमले कोरोनाविरुद्धको खोप लगाए । उक्त पालिकामा ५ सय ३८ जनालाई खोप लगाउने लक्ष्य थियो । बुधबार ४५ जनाले मात्र लगाएको स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले बताए । ‘बिहीबार पनि कमले मात्र खोप लगाएका छन्,’ उनले भने, ‘लक्षित उमेरकाले खोप नलगाएपछि फिर्ता पठायौं ।’ तोकिएको उमेर समूहले नलगाउने तर अन्य उमेर समूहलाई खोप दिन निर्देशन नभएकाले बचेको फिर्ता गरेको उनले जनाए । उक्त गाउँपालिका भारतको सीमासँग जोडिएको छ । खोपको महत्त्व नबुझेका कारण लगाउन नआएको हुन सक्ने उनले बताए । जिल्लाको जानकी गाउँपालिकाले पाएको ५ सय ३८ थान खोप बुधबार सकिएको प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले जानकारी दिए । नेपालगन्ज उपमहानगरपालिकाले २ हजार ५० जनालाई खोप लगाएको स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताए ।

कपिलवस्तुका सीमावर्ती पालिकामा लक्ष्यअनुसार खोप लगाउन सम्भव भएन । ‘पहिलो र दोस्रो दिन दयनीय अवस्था थियो,’ जिल्ला स्वास्थ्य कार्यालयका कोरोना नियन्त्रण फोकल पर्सन उमेश घिमिरेले भने, ‘त्यही भएर बिहीबार थप गरेपछि सुधार भयो ।’ तर, लक्ष्य भेट्टाउन नसकिएको उनले बताए । उनका अनुसार मंगलबार र बुधबार ३० प्रतिशतले पनि लगाएनन् । कृष्णनगर नगरपालिकामा १ हजार मात्रा खोप उपलब्ध गराइएको थियो । ‘दुई दिनमा २ सय ७० डोज मात्र खोप लगाइयो,’ स्वास्थ्य शाखाका प्राविधिक विष्णु पौडेलले भने, ‘बिहीबार थप ३ सयले लगाए ।’ शुद्धोदन गाउँपालिकामा ७ सय ३० मात्रा आएकामा ३ दिनमा ५ सयले मात्र लगाए । मंगलबार र बुधबार २ सय १५ ले मात्र खोप लगाए । यशोधरामा ६ सय ६५ डोज खोप आएकामा ३ दिनमा ४० प्रतिशतले मात्र लगाए । महाराजगन्ज नगरपालिकामा १ हजार डोज खोप आएको थियो । सबै खपत नभएपछि जिल्ला स्वास्थ्य कार्यालयले ५ सय भाइल फिर्ता लगेको थियो ।

भारतसित सीमा जोडिएका स्थानीय तहमा चिनियाँ खोपबारे ‘अफवाह’ फैलाइएकाले कम रुचि देखिएको स्वास्थ्यकर्मीले बताए । विभिन्न अफवाह सुनेर समस्या भएको यशोधरा गाउँपालिका स्वास्थ्य शाखा संयोजक वीरेन्द्र मिश्राले बताए । जिल्लामा ९ हजार ५ सय ५० भाइल खोप आएको थियो । रूपन्देहीमा ६२ देखि ६४ वर्ष उमेर समूहका १४ हजार ५५ जनालाई खोप लगाउने लक्ष्य छ । जिल्लाका १६ स्थानीय तहमा रहेका ६९ वटा खोप केन्द्रमा खोप कार्यक्रम सञ्चालन भइरहेको छ । स्वास्थ्य कार्यालय प्रमुख डा. राजेन्द्र गिरीले बिहीबारसम्म ११ हजार ५ सय मात्रा प्रयोग भएको जानकारी दिए । उनले भने, ‘बचेको खोप स्वास्थ्यकर्मीलाई लगाइनेछ ।’ प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले कुनै पालिकामा धेरै र कुनैमा थोरै मात्र खोप लगाउन आएको बताए ।

पश्चिम नवलपरासीमा एउटा स्थानीय तहमा दुईवटा खोप केन्द्र छन् । तर, जिल्लाभर ५ हजार ७ सय ४५ जनाले खोप लगाउनुपर्नेमा तीन दिनमा मुस्किलले ४० प्रतिशतले मात्रै लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । ग्रामीण भेगमा मुस्किलले ३० प्रतिशतले खोप लगाएका छन् । सीमावर्ती गाउँपालिकामा कम चासो छ । पाल्हीनन्दन गाउँपालिकामा ६ सय २० जनाले खोप लगाउनुपर्नेमा तीन दिनमा जम्मा २ सय जनाले मात्र खोप लगाएका छन् ।

उक्त गाउँपालिकाका अहेव धर्मजित पटेलका अनुसार खोप केन्द्र सीमित हुनु र खोपप्रति आममानिसमा रहेको गलत धारणा हटाउन नसक्दा सहभागी भएका छैनन् । सुस्ता, प्रतापपुर र सरावल गाउँपालिकामा पनि खोप लगाउनेको संख्या कम छ । बर्दघाट नगरपालिकामा १ हजार १ सय जनाका लागि खोप आए पनि अभियान सुरु भएको तीन दिनमा ६ सय ज्येष्ठ नागरिकले खोप लगाएका छन् । बर्दघाट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले अब एक दुई दिनभित्रमा अभियान सकिने बताए । ज्येष्ठ नागरिकका लागि भनेर आएको खोप केही स्थानमा जनप्रतिनिधि र कर्मचारीका आफन्तले लगाएको गुनासो आए पनि स्वास्थ्य कार्यालयले भने सीमित मात्रामा खोप आएकाले त्यस्तो नभएको दाबी गर्दै आएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँची स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई खोप लगाउने तयारीमा थियो । तर, दिउँसो पहुँचवाल र केही युवा समूहले आफ्ना परिवार र आफन्तलाई लाइनमा लगाए । सर्वसाधारणको भीड बढेपछि १ सयलाई पहिलो चरणको डोज दिइएको जनस्वास्थ्य अधिकृत राजाराम आचार्यले बताए । आचार्यका अनुसार २ सय जना स्वास्थ्य र सुरक्षाकर्मीलाई दोस्रो चरणको खोप लगाइएको उनले बताए ।

प्रकाशित : जेष्ठ २८, २०७८ १२:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?