राष्ट्रपति भण्डारीद्वारा कांक्रेविहारको अवलोकन

रासस

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले सुर्खेतको प्रमुख पर्यटकीयस्थल कांक्रेविहारको अवलोकन गरेकी छन् । अनौपचारिक भ्रमणको सिलसिलामा सुर्खेतमा रहेकी उनले मंगलबार अपराह्न वीरेन्द्रनगर ९ स्थित कांक्रेविहारको अवलोकन गरेकी हुन् । 

राष्ट्रपति भण्डारीले कर्णाली प्रदेशमा पर्यटनको अथाह सम्भावना रहेको र कांक्रेविहारजस्ता ऐतिहासिक सम्पदाको प्रवर्द्धन गर्न जरुरी रहेको धारणा राखिन् । साथै उनले कांक्रेविहारको ऐतिहासिकता, निर्माण प्रक्रिया, व्यवस्थापनबारे जिज्ञासा राखेकी थिइन् । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले राष्ट्रपतिको सुर्खेत बसाइँका क्रममा आफूहरूले कांक्रेविहार अवलोकन गराएर स्वागत गरेको बताइन् । अवलोकनपश्चात् राष्ट्रपतिलाई नगरपालिकाको तर्फबाट प्रमुख ढकालले सुर्खेतका पर्यटकीयस्थलहरू समेटिएको मायाको चिनो हस्तान्तरण गरिन् । राष्ट्रपति भण्डारीलाई कांक्रेविहार परिसरमा कर्णाली प्रदेशसभाका सदस्य, वीरेन्द्रनगर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूले स्वागत गरेका थिए ।

राष्ट्रपतिका स्वकीय प्रेस सचिव सोम राईले कांक्रेविहारको सांस्कृतिक, ऐतिहासिक, पुरातात्विकपक्षको प्रवर्द्धन गर्ने उद्देश्यले अवलोकन भ्रमण गरेको बताउँदै भने, 'यस्ता ठाउँहरूको प्रवर्द्धन गर्न, स्वच्छता कायम राख्न र वातावरण संरक्षणलाई प्राथमिकतामा राख्न राष्ट्रपतिले विशेष चासो राख्दै आउनुभएको छ ।'

राष्ट्रपति भण्डारी बुधबार बिहान सुदूरपश्चिमको प्रसिद्ध धार्मिकस्थल बडिमालिका जाने कार्यक्रम रहेको छ । उनी मंगलबार सुर्खेतस्थित नेपाली सेनाको पश्चिम कमाण्ड हेडक्वाटर निमारेमा बस्नेछिन् ।

प्रकाशित : जेष्ठ १७, २०७९ १९:५९
प्रतिक्रिया
पठाउनुहोस्

परिवारले बुझे सुन्दर हरिजनको शव

रूपा गहतराज

नेपालगन्ज — रोल्पा कारागारमा मृत भेटिएका नेपालगन्ज उपमहानगर– २ घरवारी टोलका सुन्दर हरिजनको शव परिवारले बुझेका छन् ।

घटनाबारे छानबिन गर्न गठित समितिले कारागार विभागलाई प्रतिवेदन बुझाएको भोलिपल्ट मंगलबार परिवारजनले शव बुझेका हुन् । कारागार विभागले जेठ ६ मंगलबार विभागका निर्देशक झरेन्द्र प्रसाद चापागाईंको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो।

हरिजनको आत्महत्या सम्बन्धमा छानबिन गर्न बनाइएको कारागार विभागका निर्देशक झरेन्द्रप्रसाद चापागाईं नेतृत्वको समितिले सोमबार प्रतिवेदन बुझाएका थिए । प्रतिवेदनमा रोल्पा कारागारका अधिकारीको कुनै संलग्नता नरहेको भनिएको थियो ।

नाबालक रहेकै अवस्थामा नेपालगन्जका सुन्दर हरिजनलाई कारागार पठाइएको र जघन्य अपराधमा मुछिएका सुर्खेतका विजयविक्रम शाहलाई छुटाएर हरिजनलाई शाहको सजाय भुक्तान गर्न लगाइएको परिवारको आरोप छ ।

समिति संयोजक चापागाईंले हरिजनको मृत्यु आत्महत्याबाटै भएको देखिएको, शाह जेलबाट हरिजनको नाममा भागेको तर उनको सजाय हरिजनले नै भोग्दै गरेको पाइएको बताए ।

‘जेलमा रहनुपर्ने शाह भागेको र उनको सट्टामा हरिजन जेलमा रहेको पाइयो,’ उनले भने, ‘यो एउटा प्रारम्भीक अनुसन्धान हो । यो कसरी हुन गयो भन्नेबारे शाह पक्राउ परेपछि धेरै कुरा खुल्ने छ ।’

बाँकेको नेपालगन्ज–२ स्थित घरवारीटोलका सुन्दर हरिजनको रोल्पा कारागारमा शंकास्पद मृत्यु भएको भन्दै परिवारले दाहसंस्कार गर्न मानेका थिएनन् ।

हरिजनको शव नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा राखिएको थियो । घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही नहुँदासम्म शवको अन्त्येष्टि नगर्ने मृतकका परिवार तथा आफन्तले अडान राख्दै आएका थिए ।

विजय विक्रमको नाममा सजाय काटिरहेका सुन्दर जेठ ४ गते रोल्पा कारागारको शौचालयभित्र झुण्डिएको अवस्थामा फेला परेपछि घटनाले रहस्यमय बन्दै गएको हो ।

सुन्दर हरिजन मृत्यु प्रकरण : भरतपुरमा विरोध प्रदर्शन

सुन्दर हरिजन मृत्यु प्रकरण : संसदीय छानबिन समिति गठन गर्न माग

सुन्दर हरिजन मृत्यु प्रकरण : गृहमन्त्रीद्वारा छानबिन समिति गठन

प्रकाशित : जेष्ठ १७, २०७९ १९:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×