कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दिल्लीका स्वास्थ्यमन्त्री थुनामा

नयाँदिल्ली — आर्थिक अपचलनको आरोपमा पक्राउ परेका भारतीय राज्य दिल्लीका स्वास्थ्यमन्त्री सत्येन्द्र जैनलाई अदालतले थुनामा पठाएको छ । राजस्वसम्बन्धी एक अदालतले उनलाई ९ जुनसम्म हिरासतमा राख्ने आदेश दिएको हो ।

दिल्लीका स्वास्थ्यमन्त्री थुनामा

केन्द्र सरकार मातहतको प्रवर्तन निर्देशनालय (ईडी) ले मन्त्री जैनलाई सोमबार पक्राउ गरेको थियो । उनीमाथि सन् २०१५ को फेब्रुअरीदेखि २०१७ सम्म गैरकानुनी रूपमा सम्पत्ति जोडेको आरोप छ । सीबीआईले सन् २०१८ मै उनीविरुद्ध मुद्दा पेस गरेको थियो । त्यही मुद्दामा कर र राजस्व छली वा अवधै सम्पत्तिलगायत विषयमा अनुसन्धान गर्ने प्रवर्तन निर्देशनालयले जैनलाई पक्राउ गरेको हो । निर्देशनालयले अनुसन्धानका लागि उनलाई १४ दिन थुनामा राख्नुपर्ने अदालतसँग माग राखेको थियो ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल र आम आदमी पार्टी (आप) का नेताहरूले भने आफ्ना मन्त्रीलाई भाजपाले राजनीतिक उद्देश्यले पक्राउ गराएको आरोप लगाएको छ । हिमाचल प्रदेशमा हुने चुनावका लागि पार्टीका तर्फबाट जैनले नेतृत्व गरेको र त्यहाँ आपको माहोल राम्रो हुँदै गएका बेला उनलाई षड्यन्त्रपूर्वक पक्राउ गरिएको उनीहरूको दाबी छ ।

उपमुख्यमन्त्री तथा आप नेता मनीष सिसोदियाले हिमाचलमा भारतीय जनता पार्टी नराम्ररी पराजय हुने वातावरण बनेपछि त्यसैको परिणामस्वरूप जैनलाई पक्राउ गरिएको प्रतिक्रिया दिएका छन् । मुख्यमन्त्री केजरीवालले आप सरकार आर्थिक रूपमा इमानदार रहेको र भ्रष्टाचारीप्रति शून्य सहनशीलता अपनाउने गरेको भन्दै मन्त्री पक्राउको विषय राजनीति प्रेरित भएको दाबी गरेका छन् ।


प्रकाशित : जेष्ठ १७, २०७९ २२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?