कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महानिर्देशक अधिकारीले मन्त्रीलाई बुझाएनन् स्पष्टीकरण

काठमाडौँ — आर्थिक नोक्सानी, गैरजिम्मेवार अभिव्यक्ति तथा क्रियाकलाप र जिम्मेवारी निर्वाहमा असफलताको आरोप लगाउँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सोधेको स्पष्टीकरणमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जवाफ दिएनन् । 

महानिर्देशक अधिकारीले मन्त्रीलाई बुझाएनन् स्पष्टीकरण

मन्त्री किरातीले असार ११ गते महानिर्देशक अधिकारीलाई एक साताभित्र जवाफ पेस गर्न भन्दै गत मंगलबार ९ बुँदे स्पष्टीकरण सोधेका थिए । प्राधिकरणका महानिर्देशकले स्पष्टीकरण बुझाउने समयसीमा सोमबारसम्म भएको तर साँझसम्म पनि मन्त्रालयमा स्पष्टीकरण विधिवत् दर्ता नभएको पर्यटन मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए ।

महानिर्देशक अधिकारीले आफ्नो ट्विटर पेजमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन‚ २०५३ को दफा ४ अनुसार प्राधिकरण एक स्वायत्त निकाय रहेको’ लेख्दै प्रस्टीकरण बुझाउन नमिल्ने संकेत दिएका छन् ।

उनले यसअघि स्पष्टीकरण सोधिएकै दिन प्राधिकरणको महानिर्देशकलाई मन्त्रिपरिषद्ले नियुक्त गर्ने भएकाले मन्त्रीस्तरीय निर्णयबाट स्पष्टीकरण सोध्ने अधिकार मन्त्रीमा नरहेको,’ प्रतिक्रिया दिएका थिए ।

मन्त्री किरातीले महानिर्देशक अधिकारीलाई प्राधिकरणलाई नियामक निकाय र सेवा प्रदायक निकायको रुपमा छुट्याउने नीतिको प्रतिकूल हुनेगरी चुनौती दिएको, नेपालमा हवाई उडान सुरक्षाको प्रत्याभूति गर्ने प्रमुख जिम्मेवार अधिकारी भए पनि महानिर्देशक भएपछि नेपाली दर्ताका २ वटा यात्रु विमानहरू र ३ वटा हेलिकप्टरहरू दुर्घटना भई धनजनको क्षति भएको, वायुयान घटना, दुर्घटना रोकथामका लागि अपनाउनुपर्ने निरोधात्मक उपायभन्दा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को सिद्धान्तविपरीत दुर्घटनापछि प्रतिक्रियामा जाने गरेको, अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले अप्रिल १३ देखि २५, २०२२ मा गरेको नेपालको उड्डयन सुरक्षा परीक्षणमा भएको सिफारिसविपरित कार्यात्मक विभाजन नै पर्याप्त छ भन्ने अभिव्यक्ति दिएको लगायत आरोप लगाउँदै स्पष्टीकरण सोधिएको थियो ।

त्यस्तै विमानस्थलहरूको उडान सुरक्षा नियमन गर्न स्थापित एरोड्रम सेफ्टी स्ट्यान्डर्ड विभागको प्रमुख र राष्ट्रिय गौरवका आयोजनाको प्रमुखको जिम्मेवारी एउटै व्यक्तिलाई बनाई निजकै नेतृत्वमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रमाणीकरण गरेको, फ्लाइट क्यालिब्रेसनको अन्तिम प्रतिवेदन प्राप्त नभई तथा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि उडान सुरक्षा मूल्यांकन लगायत गर्नुपर्ने सम्पूर्ण पूर्वतयारी सम्पन्न नगरी विमानस्थल सञ्चालनमा ल्याएको, परीक्षण उडान गराई सोको प्रतिवेदन प्राप्त नगरी पोखरा विमानस्थलमा एयरबस ३२० विमानलाई उडान गर्न दिई उडान सुरक्षामा चरम लापरबाही गराएको लगायत विषय पनि स्पष्टीकरणमा समेटिएका थिए ।

सम्बन्धित समाचार

प्राधिकरणका महानिर्देशकमाथि आर्थिक नोक्सानीको आरोप

प्रकाशित : असार १८, २०८० २०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?