कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रासायनिक मलको विकल्पमा ‘ढैंचा’

माधव अर्याल

पाल्पा — माथागढी गाउँपालिका–२ पाल्पाका किसान चेतबहादुर सारुले ढैंचा लगाएको खेतका गरा जोतेर धान रोपाइँ गरेका छन् । उनले रासायनिक मलको विकल्पमा केही वर्षयता हरियो मल अर्थात् ढैंचा उमारेर मलको रूपमा प्रयोग गर्दै आएको बताए ।

रासायनिक मलको विकल्पमा ‘ढैंचा’

यसबाट माटोको गुणस्तर सुध्रिन्छ भन्ने थाहा पाएपछि अन्नबाली लगाएका स्थानमा रासायनिक मल नछरेको उनले सुनाए । ‘रासायनिक मलको विकल्पमा माटोका लागि ढैंचा लगाउँदै आएको छु,’ उनले भने, ‘धान उत्पादनका लागि माटोमा चाहिने सम्पूर्ण शक्ति ढैंचाबाट पूरा हुँदो रहेछ ।’

कृषि ज्ञान केन्द्रले सञ्चालन गरेको तालिमबाट हरियो मलका फाइदाबारेमा सुनेका माथागढी–३, कसेनीका खुम राना पनि रासायनिक मलको विकल्पमा अन्नबालीमा ढैंचाको प्रयोग गर्दै आएको बताउँछन् । उनका अनुसार माडी फाँटका लागि यो कुनै नयाँ प्रयोग भने होइन । ‘खेतमा आफैं उम्रिने ढैंचा त्यहीं छिटो कुहिने पहिल्यै जानेको हो,’ उनले भने, ‘ढैंचा मलका विषयमा तालिमपछि धेरै कुरा जानकारी पाए पनि बाबुबाजेले नै थोरै मात्रामा ढैंचा मल प्रयोग गरेर अन्नपात उब्जाएका हुन् ।’

रासायनिक मलको अधिक प्रयोग भएपछि ढैंचा मल हराएको हो । किसानले प्राविधिक ज्ञान पाएपछि भने अहिले यसको प्रयोग बढेको छ । रासायनिक मल र अत्यधिक विषादी प्रयोगले माटोको अवस्था बिग्रँदै गएको छ । जिल्लाका १० वटै स्थानीय तहमा परीक्षण गर्दा अधिकांश स्थानका माटो बिग्रँदै गएको पाइएको कृषि ज्ञान केन्द्रको माटो परीक्षणबाट पत्ता लागेको हो । उत्पादन बढाउन माटो राम्रो हुन अम्लीयपन, क्षारीयपन, नाइट्रोजन, फस्फोरस, पोटास र प्रांगारिक पदार्थ उपयुक्त मात्रामा राख्नुपर्छ । जथाभावी रासायनिक मलको प्रयोगले माटोको अवस्था बिग्रँदै गएको छ । गोबर मलको प्रयोग बढाउने, कृषि चुन छर्ने, घरेलु उपचार गर्न कृषि ज्ञान केन्द्रले सुझाव दिँदै आएको छ ।

माटोको गुणस्तर सुधार्न पनि रासायनिक मलको विकल्पमा ढैंचाको प्रयोग बढाउन थालिएको किसानहरु बताउँछन् । हरियो मल ढैंचाका डाँठ र हाँगा सबै नरम हुने विरुवा हो । कृषि ज्ञान केन्द्रकी प्रमुख कामना अधिकारी भट्टराईका अनुसार धान रोप्नुअघि हिल्याउँदा जोतिने भएकाले माटोमा पल्टाएपछि केही दिनमै सजिलैसँग ढैंचा कुहिन्छ । ‘रासायनिक मलको विकल्पमा काम गर्ने भएकाले यसलाई हरियो मल भनिएको हो,’ उनले भनिन्, ‘पाल्पाको माडीफाँटमा गर्दै आएको गिर्खे ढैंचा हो ।’

ढैंचा कोसेवाली वर्गमा पर्छ । कोसेवालीको जरामा जस्तै यसमा पनि वायुमण्डलको नाइट्रोजन सोस्ने गिर्खा हुन्छन् । केन्द्रका सूचना अधिकारी मिलन गैरेका अनुसार माडी फाँट क्षेत्रमा ढैंचा हरियो मलका रूपमा धेरै पहिलेदेखि नै प्रयोग हुँदै आएको हो । उनका अनुसार यसको प्रयोगबाट धानबालीको उत्पादनमा कम्तीमा २५ प्रतिशत वृद्धि हुन्छ । ढैंचाको बीउ वैशाख अन्तिमदेखि असारको पहिलो सातासम्म छरेको पाइन्छ,’ उनले भने, ‘बीउ छर्दा खेतमा हल्का चिस्यान भयो भने राम्रो हुन्छ ।’

माडी फाँट क्षेत्रमा पर्ने केसेनी, रुप्से, माडीपोखराथोक, मदनपोखरा, तिनाउ गाउँपालिकाको दोभान र झुम्साका किसानले रासायनिक मलको विकल्पमा हरियो मल ढैंचाको प्रयोग बढाएका हुन् । रासायनिक मलको धेरै प्रयोगले उत्पादनमा कमी र माटोको उत्पादनशील क्षमता घटाउँदै लग्छ भन्ने जानकारी पाएपछि किसानहरु यो मलतर्फ आकर्षित भएको उनले बताए ।

पछिल्लो समयमा बस्तुभाउ पालनमा कमी हुँदै गएको छ । गोबर मलको अभाव भएकाले पनि हरियो मल उत्पादन गर्नु परेको माथागढी–३, कसेनीका किसान टीकाराम रानाले बताए । ‘बस्तुभाउ पाल्न छाडियो अनि गोबर कम भएको छ,’ उनले भने, ‘अनि हरियो मल उत्पादन गर्न थालियो ।’ यो जातको घाँस धान रोप्नु २५ दिनअघि मात्रै छर्ने गरेको उनले बताए । हरियो घाँस खेती गरेर मल बनाउने र खेतका आलीमा लगाएर बीउ निकाल्ने गरेको कसेनी सराईकी किसान दिना रानाले बताइन् । हरियो मलले माटोमा उत्पादन शक्ति र उर्वरा बढाएको उनको अनुभव छ । पहिलादेखि फाट्टफुट्ट प्रयोग गरे पनि केही वर्षयता यसको प्रयोगको फाइदा बुझेपछि व्यावसायिक खेतीसमेत गरिरहेको उनले बताइन् । यहाँबाट बीउ बिक्रीसमेत हुँदै आएको छ । किसानले ३५ देखि ५० रुपैयाँ किलोमा ढैंचाको बीउ बिक्री गर्दै आएका छन् ।

धान रोप्ने बेलामा हरियो मल जोत्ने र त्यसकै साना बिरुवा खेतको आलीमा लगाउने गरिन्छ । ढैंचाले माटो खुकुलो र मलिलो गराउने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ पाल्पाका प्रमुख टुकबहादुर थापाले बताए । ‘खेतमा धेरै राम्रो मानिने ढैंचा पछिल्लो समयमा बारीमा पनि लगाउन थालेको पाइन्छ,’ उनले भने, ‘ढैंचाको बोटले हावामा नाइट्रोजन खिचेर त्यसैबाट जरामा पठाउने गर्छ ।’ माटोको पीएच, नाइट्रोजन, फस्फोरस र पोटासको मात्रालाई ठिक ठाउँमा ल्याउनसमेत यसले मद्दत गर्ने उनले बताए ।

कृषि प्राविधिकका अनुसार माटोको पीएच ६ दशमलव ५ भन्दा कम भएका अम्लीय, ६ दशमलव ५ देखि ७ दशमलव ५ सम्म भएका मध्यम र ७ दशमलव ५ भन्दामाथि भएमा क्षारीय हुन्छ । जिल्लाका कृषकमा अझै पनि माटोको परीक्षण गरी अपुग पदार्थ हालेर खेती गर्नुपर्छ भन्ने चेतना छैन । माटो परीक्षणका लागि कृषि ज्ञान केन्द्र र जोन एकाइले समन्वय गरेर खजुराबाट समेत प्राविधिक झिकाएका थिए । कतिपयलाई चेतना नभएका कारण समय–समयमा माटो परीक्षण गराउँदैनन् । ‘बढ्दो रासायनिक मल र विषादीको प्रयोगका कारण माटोमा उर्वराशक्ति कम भए पनि कृषकले परीक्षण गराएर माटोको उपचार गरेको पाइँदैन,’ थापाले भने । गुणस्तरीय माटोमा ६.६ देखि ७.५ पीएच, प्रांगारिक पदार्थ दुईदेखि ५ प्रतिशत, नाइट्रोजन ०.१ देखि ०.२२ प्रतिशत, फस्फोरस ३५ देखि ५५ किलो प्रतिहेक्टर र पोटास १ सय ११ देखि २ सय ८१ किलो प्रतिहेक्टर हुनुपर्छ ।

किसानले रासायनिक मल र अत्यधिक विषादी प्रयोग गर्दा उब्जनी हुने माटो बिग्रँदै गएको छ । खेतीलाई चाहिने आवश्यक तत्व दिनप्रतिदिन माटोमा मर्दै गएका कारण माटोमा क्षारीयपन बढ्दै गएको छ । जसले गर्दा अन्न उत्पादनमा समेत असर पुगेको छ । पाल्पाको रामपुर नगरपालिका–७ की किसान टुकादेवी भट्टराईका अनुसार युरिया, डीएपी, फस्फोरसको मात्रा नमिलाई खेतबारीमा राख्ने गर्दा पनि माटो बिग्रेर बाली सप्रिन नसकेको कृषिविद्हरुले सुझाव दिँदै आएको बताइन् ।

प्रकाशित : असार १८, २०८० २०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?