कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६

दाङमा दुर्घटना न्यूनीकरणका लागि टाइमकार्ड

चालकलाई स्वास्थ्य परिक्षण कार्ड
दुर्गालाल केसी

दाङ — घोराही–तुलसीपुर सडक खण्डमा दुर्घटना न्यूनीकरणका लागि सोमबारदेखि टाइमकार्ड लागू गरिएको छ । घोराही-तुलसीपुर २३ किलोमिटरको दुरीमा ७० मिनेटको समय दिइएको छ । आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्बपक्षीय बैठकले पहिलो चरणमा घोराही–तुलसीपुर सडकमा टाइम कार्ड लागू गर्ने निर्णय गरेको हो ।

दाङमा दुर्घटना न्यूनीकरणका लागि टाइमकार्ड

घोराहीदेखि नारायणपुरसम्म ३० मिनेट र नारायणपुरदेखि तुलसीपुरसम्म ४० मिनेटको समय निर्धारण गरिएको छ । यसका साथै नियमितरुपमा सवारी साधनको गति र मेकानिकल परीक्षण गरिने भएको छ ।

बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्दै सडकलाई सुरक्षित, भरपर्दो र मर्यादित बनाउने उद्देश्यले बिभिन्न सुधारका योजनाहरु लागू गर्न थालिएको प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले बताए । ट्राफिक प्रहरी कार्यालयको नेतृत्वमा नियमित रुपमा सडकमा लेजर गन प्रयोग गरी सवारी साधनको गति परीक्षण गर्ने, यान्त्रिक कार्यालय र यातायात व्यवस्था कार्यालयको समन्वयमा सवारी साधनको मेकानिकल परीक्षण गरी कार्ड उपलब्ध गराउने तयारी पनि भएको उनले बताए ।

वार्षिकरुपमा सवारी चालकहरुले स्वास्थ्य परीक्षण गरी कार्ड प्राप्त गर्ने र यसको अनुगमन जिल्ला ट्राफिक प्रहरी कार्यालयले गर्ने निर्णय यसअघि नै भएको छ । चालकलाई ट्राफिक प्रहरी, यातायात कार्यालय, यातायात व्यवसायी महासंघ र स्थानीय तहको समन्वयमा सुरक्षित सवारी सञ्चालन सम्बन्धी प्रशिक्षण दिने निर्णय भएको छ ।

तुलसीपुर–घोराही–लमही–भालुबाङ सडक खण्डमा तिब्र गतिका कारण सवारी दुर्घटना हुने गरेकाले उक्त रुटमा सञ्चालन हुने सार्वजनिक यात्रुवाहक र ढुवानीका सवारी साधनहरुमा बिस्तारै पालो प्रतिस्थापन (क्यू) प्रणाली र टाइम कार्ड लागू गर्ने निर्णय भएको छ ।

यसैगरी सबै बिद्यालयमा सडक सुरक्षा सम्बन्धी चेतनामुलक कार्यक्रम सञ्चालन गर्ने र त्यसका लागि शिक्षा समन्वय इकाईले सबैलाई पत्राचार गर्ने निर्णय भएको छ । स्थानीय तहले नागरिकलाई सडक सुरक्षा सम्बन्धी सचेतना गर्ने तथा सडक डिभिजन कार्यालयले बिद्यालय, अस्पताल र मन्दिर क्षेत्रमा साइनबोर्ड र जेब्रा क्रसिङ राख्ने निर्णय भएको छ । यस्तै बिद्यालय, अस्पताल र मन्दिर क्षेत्रमा जरुरी बाहेक हर्न निषेध गर्ने निर्णय गरिएको छ ।

सार्वजनीक सवारी साधनलाई अपांगमैत्री, ज्येष्ठ नागरिकमैत्री, बालमैत्री र लैंगिकमैत्री बनाउन यातायात व्यवसायी महासंघले तत्काल काम थाल्ने र ट्राफिक प्रहरीले त्यसको अनुगमन गर्ने निर्णय भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख किरणप्रकाश मल्लले बताए ।

प्रकाशित : फाल्गुन १४, २०८० १७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×