कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

मगर एकता दिवसमा पाल्पामा स्थानीय विदा

माधव अर्याल

पाल्पा — ४२ औं मगर एकता दिवसका अवसरमा पाल्पाका दुई नगरपालिका र आठ स्थानीय तहले मंगलबार स्थानीय बिदा दिएका छन् । तानसेन र रामपुर नगपालिका मगर समुदायको बहुल्यता रहेका नगरपालिका हुन् । मगर समुदायले फागुन १५ गतेलाई मगर एकता दिवस तथा उत्सवको रुपमा मनाउने भएकाले स्थानीय विदा दिइएको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बताए । 

मगर एकता दिवसमा पाल्पामा स्थानीय विदा

दिवसका अवसरमा रामपुर नगरपालिकाको विभिन्न स्थानमा मगरी संस्कृतिमा आधारित झाँकी प्रदर्शनसहितका कार्यक्रमहरु हुने जनाइएको छ । रामपुरको बेझाँडमा एकीकृत मगर उत्थान समाज र नेपाल मगर संघले संयुक्त रुपमा कार्यक्रम गर्ने तयारी छ ।

त्यस्तै, जिल्लाका निस्दी, माथागढी, तिनाउ, बगनासकाली, रैनादेवी छहरा, रम्भा, रिब्दीकोट, पूर्वखोला गाउँपालिकाले एक दिन स्थानीय बिदा दिएका छन्। सार्वजनिक बिदाका दिन पालिकाभित्रका सार्वजनिक निकाय, संघसंस्था, शिक्षक संस्था बन्द रहने पालिकाले जनाएका छन् । दिवसको अवसरमा जिल्ला भरका पालिकाले पालिकास्तरीय भव्य कार्यक्रमको तयारी गरेको जनाएका छन् ।

कतिपय स्थानीय तहले बजेट नै विनियोजन गरेर मगर एकता दिवस मनाउने गर्छन् । दिवसको अवसरमा माथागढी–३, सराईमा मगर एकता दिवस तथा सांस्कृतिक महोत्सवको तयारी गरेको मगर युवा नेता राजन बलालले बताए । स्थानीय कला संस्कृतिको जर्गेना, मगरी खाना, मगरी भेषभूषा आदिको प्रदर्शन हुने नेपाल मगर संघ माथागढीका अध्यक्ष भेगराज थापा मगरले बताए ।

लुम्बिनी प्रदेशको एतिहासिक, धार्मिक, पर्यटकीय दृष्टिले रमणीय ठाउँ कसेनीको फूलबारीको लखन पार्कमा कार्यक्रम हुनेछ । भाषिक–साँस्कृतिक विविधतावियको सद्भावपूर्ण ऐक्यवद्धताका साथ दिवस मनाइने उनले बताए । सम्बन्ध विस्तार, हार्दिकता, एकतालाई थप मजबुत गर्दै मगरहरुको गुमेको राजनैतिक अधिकारहरु स्थापना गर्न यो दिवसले सहयोग पुग्ने जिल्ला मगर संघ पाल्पाली अध्यक्ष शान्ति झेंडीले बताइन् ।

गुमेको मगरात भूमि पुनःस्थापना गराउन, भाषिक सांस्कृतिक अधिकारहरु निश्चित गराउन, जातीय आधारमा राज्यको सबै तह र तप्कामा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चितताका लागि भएका आन्दोललाई थप ऊर्जा पुग्ने मगर संघका पूर्वअध्यक्ष तेजबहादुर घर्तीले बताए ।

मगर संस्कृतिमा आधारित कला, भाषा, भेषभूषाको संरक्षण एवं सम्बर्द्धन गर्ने उद्देश्यले दिवस मनाइने उनले बताए । मगर समुदायमा प्रचलित झ्याउरे, सालैजो, कृष्ण चरित्र ठुलो नाच, ठाडो भाका, यानीमाया लगाएतका विभिन्न झाँकीको प्रस्तुति गर्ने कार्यक्रम रहेको छ । अधिकांश दिवस मनाउने स्थलमा मगरी खानाका परिकार बिक्री तथा प्रर्दशनी गरिनेछ ।

प्रकाशित : फाल्गुन १४, २०८० १६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×