कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

कृषि मेलामा १५ लाखको कारोबार

सन्जु पौडेल

तिलोत्तमा — प्रांगारिक खेती प्रणालीलाई जोड दिइ कृषिको प्रवर्द्धन गर्नुपर्छ भन्ने निष्कर्षसहित बुटवलमा संचालन भएको राष्ट्रिय प्रांगारिक कृषि मेला सकिएको छ । बुटवल उद्योग वाणिज्य संघ र कृषि तथा भुमि व्यवस्था मन्त्रालय लुम्बिनीले संयुक्त रुपमा आयोजना गरेको मेलामा १५ लाख रुपैयाँको आर्थिक कारोबार भएको छ ।

कृषि मेलामा १५ लाखको कारोबार

समापन कार्यक्रममा बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले कृषिमा व्यवसायिकता विकासको लागि उपमहानगरले यस्ता मेला र संस्थागत कार्यमा हातेमालो गरेर अघि बढ्ने बताए । उनले मेलामा राखिएका स्थानीय कृषकका उत्पादनले कृषक, नागरिक र बजारलाई संयुक्त सहयोग पुर्‍याएको बताए ।

उद्योग वाणिज्य संघले २०६२ सालदेखि नियमित रुपमा विशिष्टिकृत कृषि मेला गर्दै आएको अध्यक्ष हरिप्रसाद अर्यालले बताए । १२ औं संस्करणको मेलामा ८८ वटा स्टल सहभागी थिए भने १५ हजार उपभोक्ताले मेलाको अवलोकन गरेका छन् । मेलामा उपभोक्तालाई प्रांगारिक कृषि, पशुपंछी तथा मत्स्यजन्य पदार्थको बारेमा सचेतना प्रदान गर्दै घुम्ती प्रयोगशाला मार्फत किसानको कौसीखेती र जमिनको माटो निशुल्क परीक्षण गरिएको थियो ।

प्रांगारिक कृषि प्रणाली तथा असल कृषि अभ्यास पद्धतिको प्रवर्द्धन, कृषिको उत्पादन लागत घटाउन आधुनिक कृषि प्रविधि, कृषि औजार र मेशिनरी सम्बन्धी उपभोक्तालाई जानकारी समेत गराइएको थियो । मेलामा संघका निवर्तमान अध्यक्ष उज्ज्वलप्रसाद कसजूको संयोजकत्वमा गठित विज्ञ सहितको मुल्यांकन समितिले गरेको मुल्यांकनका आधारमा मेलामा राखिएका ८८ स्टलमध्ये कृषिजन्य कच्चा वस्तुको प्रयोगबाट धागो उत्पादन गर्ने दाङको प्रेमनिस अल्लो धागो तथा तयारी पोशाक उद्योगलाई प्रथम पुरस्कार प्रदान गरिएको छ ।

त्यस्तै, चितवनको गोर्खाली कृषि औजार पसल द्वितीय र मेघवर्षा कृषि सहकारी संस्थालाई तृतीय पुरस्कार प्रदान गरिएको हो ।

प्रकाशित : फाल्गुन १४, २०८० २०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×