कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

पाल्पाका दोभान र झुम्साका धान खेतमा खपटे हिस्पा

माधव अर्याल

पाल्पा — तिनाउ गाउँपालिकाका दोभान र झुम्सा क्षेत्रका धान खेतमा काँडादार खपटे हिस्पा रोग देखिएको छ । दोभानको झ्याङ्लाका किसान रुद्र जीसीले लगाएको धान खेतमा सेता धर्सा र सेतो धब्बा देखिएपछि तिनाउ गाउँपालिकाका कृषि प्राविधिकलाई जानकारी गराएका हुन् ।

पाल्पाका दोभान र झुम्साका धान खेतमा खपटे हिस्पा

झुम्साका विभिन्न टोलमा लगाएको धानमा पनि यस्तो रोग देखिएको छ । किसानहरुका अनुसार यस्तो समस्या यहाँका झ्याङ्ला, बगाहा, थानीडाँडा लगायतका किसानका धानखेतमा पनि देखिएको छ । गवारो र पातबेरुवाको समस्या पनि धान खेतमा देखिन थालेको छ ।

तिनाउ गाउँपालिका–३, झुम्साका वडा सदस्य टंकनाथ बस्यालका अनुसार खेतमा उस्तै प्रकृतिको रोग देखिएको छ । उनका अनुसार यहाँका २ र ३ वडाका अधिकांश धान खेतमा यो रोग देखिएको हो । कृषि प्राविधिकका अनुसार वयस्क खपटे किरा नीलो–कालो रङको काँडादार पखेटा भएको छ । यसले नोक्सान पुर्‍याएको पातमा सेता धर्सा र सेता धब्बा देखिने तिनाउ गाउँपालिका कृषि शाखा प्रमुख हेमन्त शर्माले जानकारी दिए । धेरै आक्रमण भएको खण्डमा पातको रङ हल्का सेतो देखिने उनले बताए ।

उनका अनुसार किसानले जानकारी दिएपछि गाउँपालिका कृषि शाखाका प्राविधिक, जनप्रतिनिधिले संयुक्त अनुगमन तथा निरीक्षण गरेका छन् । ‘किसानले जानकारी गराएपछि हामीले धान खेतको अनुगमन गरेका छौं,’ कृषि प्राविधिक वीरेन्द्रप्रसाद साह कानुले भने, ‘किसानका समस्यालाई लिएर स्थलगत अनुगमन तथा निरीक्षण गरिएको छ ।’ समस्या समाधानका लागि धानका पातको टुप्पोमा देखिएको फूललाई पातको टुप्पो चुँडेर नष्ट गर्नुपर्ने उनले बताए ।

कृषि प्राविधिकका अनुसार यो रोग समाधान गर्नका लागि धान खेतमा व्याडमा टम्म पानी जमाएर पानीमा उत्रेका खपटेलाई जम्मा गरी नष्ट गर्न सकिन्छ । प्रकोप बढी भएमा क्लोरपाइरिफस २० प्रति इमल्सन कन्सन्ट्रेट (इसी) १.२५ मिलिलिटर प्रतिलिटर वा मालाथियन ५० प्रतिशत इसी १.५ मिलि प्रतिलिटर पानीमा मिसाई छर्नुपर्ने उनले बताए ।

विषादी छर्दा हिस्पा देखिएका र वरपरका सबै खेतमा छर्नुपर्ने हुन्छ । नत्र किरा एक खेतबाट अर्को खेतमा सर्ने खतरा हुने कृषि शाखा प्रमुख शर्माले बताए । गोडमेल राम्रोसँग गरेर झारपात हटाउने, उचित मात्रामा नाइट्रोजनयुक्त मलको प्रयोग गर्ने, काँडेदार डोरी लिई दुवै छेउमा समातेर खेतवारीको दुई छेउमा बस्ने र धानलाई पानीमा छुवाएर विपरीत दिशातिर जाने लगायतका उपाय अपनाउन सकिने पनि उनले बताए । ‘यसले पातमा रहेका लार्भा पानीमा खसेर नष्ट हुन्छन्,’ उनले भने, ‘प्रकोप बढी भएमा अन्तिम विकल्पका रूपमा रासायनिक विषादी प्रयोग गर्न सकिन्छ ।’

प्रकाशित : श्रावण ११, २०८१ ११:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×