कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६

लुम्बिनीमा गाडीको यान्त्रिक परीक्षण र चालकलाई ड्रेस अनिवार्य 

वीरेन्द्र केसी

देउखुरी (दाङ) — लुम्बिनीबाट सञ्चालन भएका सार्वजनिक सवारीले गन्तव्यतर्फ हिड्नुअघि नै यान्त्रिक परीक्षण अनिवार्य गर्नुपर्ने भएको छ । लुम्बिनीको उद्योग तथा यातायात मन्त्रालयले सोमबार देउखुरीमा आयोजना गरेको सवारी दुर्घटना न्यूनीकरण र यातायात सुरक्षाको विषयमा भएको बैठकले यान्त्रिक गडबडीका कारण हुने दुर्घटना न्यूनीकरण गर्न यातायात व्यवसायीले सवारी सञ्चालन गर्नुअघि यान्त्रिक परीक्षण अनिवार्य गर्नुपर्ने निर्णय गरेको छ । 

लुम्बिनीमा गाडीको यान्त्रिक परीक्षण र चालकलाई ड्रेस अनिवार्य 

लुम्बिनी प्रदेशभित्र पछिल्लो समय दुर्घटना धेरै भएपछि यसको न्यूनीकरणको लागि यातायात मन्त्रालयले अन्तरक्रिया गरेको हो ।

सिटमा आरक्षण व्यवस्था पूर्ण रुपमा लागु गर्ने, चालक र सह-चालकको स्वास्थ्य परीक्षण, न्युनतम पारिश्रमिक पोशाकको व्यवस्था अनिवार्य गुर्नपर्ने निर्णय भएको यातायात मन्त्री सरोज थापाले बताए । यातायात क्षेत्रमा आबद्ध श्रमिकको जीवनलाई मर्यादित बनाउन सामाजिक सुरक्षामा आवद्ध गर्ने व्यवस्था गरिने उनले बताए ।

राजमार्गको सडकमा सिसिटिभी, ऐना जडान गर्ने निर्णय गरेको छ । चालकले मादक पदार्थ तथा लागुपदार्थ सेवा गरे नगरेको थाहा पाउने मेसिन उपलब्ध गराउन आगामी वर्ष बजेट छुट्याउने भएको छ ।

बैठकले सवारी साधनमा नयाँ प्राविधिक जिपिएस सिष्टम लगायतका प्राविधि जडान गर्ने, इम्बोस्ड नम्बर प्लेटको कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ । लामो दुरीमा दुई वटा सवारीचालक अनिर्वाय रुपमा रहने व्यवस्था अनिवार्य गराउनुपर्ने भएको छ ।

वित्तीय साक्षरता कक्षा, दुर्घटना सम्बन्धी प्रशिक्षण र प्राथमिक उपचार सामाग्री व्यवस्थापन जस्ता व्यवस्था यातायात सञ्चालक संस्थाले गर्ने र मानवीय त्रुटीका कारण हुने दुर्घटनालाई न्यूनीकरण गरिने मन्त्री थापाले बताए ।

लुम्बिनी प्रदेश भित्रका ठूला दुर्घटनाको अध्ययन गरि भविष्यमा यस्ता प्रकृतिका दुर्घटनाको पुनरावृत्ति नहोस् भन्ने उद्देश्यले मन्त्रालयले सुरक्षा निकाय, यातायात व्यवसायी, विज्ञ संलग्न कार्यदल बनाई अध्ययन गर्ने पनि निर्णय भएको छ ।

सडक पूर्वाधारको गुणस्तरीयता, राजमार्गको पायक पर्ने क्षेत्रमा ट्रमा सेन्टर स्थापना, भालुबाङमा प्रस्तावित अस्पतालको स्तरोन्नति तथा निर्माण भएका रिफ्रेस सेन्टरको सञ्चालन तथा स्तरोन्नतिलाई अगाडी बढाइने भएको छ ।

सवारी दुर्घटनाका घाइतेको उपचार खर्च वापत बीमा कम्पनीबाट पाउने तीन लाख रुपैयाँलाई बढाउन मन्त्रालयले बीमा प्राधिकरणमा समन्यव गरिने यातायात मन्त्रालयका सचिव उमेश ढुंगानाले बताए । विद्यार्थी ट्राफिक सचेतना कार्यक्रमलाई तीव्र बनाइने उनले बताए ।

लुम्बिनी प्रदेशका जिल्लामा र राजमार्गमा दुर्घटना भइरहेका छन् । पछिल्लो पाँच वर्षमा लुम्बिनीका १२ जिल्लामा २ हजार ८ सय ३७ नागरिकले दुर्घटनाबाट ज्यान गुमाएको प्रहरीको तथ्यांक छ । साना ठुला गरी पाँच वर्षको अवधिमा ५ हजार १० जनाभन्दा बढी सवारीसाधन दुर्घटना भए । ५ हजार ५ सय ५५ जना गम्भीर घाइते र ३ हजार ५ सय २ जना सामान्य घाइते भएको लुम्बिनी ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित : फाल्गुन १४, २०८० १९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×