कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धरान र इटहरी उपमहानगरबीच पुन: सीमा विवाद

अर्जुन सुवेदी

सुनसरी — सुनसरीका दुई उपमहानगरपालिका धरान र इटहरीको सीमा विवाद पुनः उत्कर्षमा पुगेको छ । सोमबार धरानका नगरप्रमुख हर्क साम्पाङले इटहरीको तरहरास्थित पानीपियामा सीमा बोर्ड राखेपछि विवाद पुन: बल्झिएको हो ।

धरान र इटहरी उपमहानगरबीच पुन: सीमा विवाद

धरान उपमहानगरपालिकाका नगरप्रमुख साम्पाङले इटहरीको तरहरास्थित पानिपियामा सोमबार अपराह्न सीमा बोर्ड राखेका थिए । 'धरान उपमहानगरपालिका सीमा प्रारम्भ' लेखिएको उक्त बोर्ड इटहरीका नगर प्रहरीले केहीबेरमै हटाए ।

यसअघि पनि सोही स्थानमा साम्पाङले बोर्ड राखेका थिए । उनले राखेको बोर्ड त्यसबेला पनि युवा संघ इटहरीले उखेलेको थियो । यसपटक भने धरानका नगर प्रहरीहरूले बिजुलीको पोलमा बोर्ड टाँसेका थिए ।

यसपटक पनि धरानको बोर्ड हटाएको इटहरी उपमहानगरले सेउती पुल नजिकै ‘इटहरीमा स्वागत छ’ भन्ने बोर्ड राख्ने जनाएको छ । यसअघि पनि धरानका स्थानीय नेताहरूले इटहरीको पानीपिया सम्म आफ्नो क्षेत्राधिकार रहेको भन्दै बोर्ड राख्दै आएका थिए ।

इटहरी उपमहानगरपालिकाले भने सेउती खोलाको सिमानामा बोर्ड राख्ने गरेको छ । धरानको सीमा क्षेत्र पानीपिया भएको भन्दै बोर्ड राखिएको धरान उपमहानगरका प्रमुख साम्पाङको दाबी छ । इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले भने समन्वय र संवाद मार्फत समस्याको हल गर्नुपर्ने बताउँदै आएका छन् ।

वार्ता मार्फत हल गर्न सकिने विषयलाई धरानका नगरप्रमुखले जनस्तरमा मान्छे भिडाउने काम गरेको पौडेलले बताए ।

धरान र इटहरी उपमहानगरको सिमाना चारकोसे झाडीस्थित सेउती खेलाको पुललाई मानिँदै आएको छ । प्रहरी प्रशासन र स्थानीय तहले पनि लामो समयदेखि सोही पुललाई सिमाना मानेर काम गर्दै आएको अवस्थामा धरान उपमहानगरका प्रमुख साम्पाङले ५ किलोमिटर दक्षिण इटहरी क्षेत्रको पानीपियामा सीमा बोर्ड गाडेपछि पुन: विवाद सुरु भएको हो ।

बारम्बार दुई उपमहानगरपालिकाबीच विवाद बढ्दै गएपछि जिल्ला समन्वय समिति सुनसरीले दुई पालिकाका प्रमुख तथा प्रतिनिधिसँग मंगलबार छलफल गर्ने भएको छ । समन्वय प्रमुख राजन मेहेताले कानुन र प्रमाणसहित छलफल गरी समस्या समाधानको पहल गर्ने तयारी गरेको समन्वय प्रमुख मेहेताले बताए ।

समन्वय समितिको बैठक बसी नापी तथा मालपोतका अधिकारीसहित अनुगमन गरिने उनले जानकारी दिए । छलफल र वार्ता मार्फत समस्या समाधान गर्नुपर्ने भन्दै मेहताले विवाद चर्काउन नहुने बताए ।

प्रकाशित : असार १८, २०८० २०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?