कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

जीवन अन्तत: प्याज रहेछ

शंकर लामिछानेले जीवनका ज्ञात र अज्ञात, अन्तरंग र बिराना पाटाहरूको जञ्जाललाई प्याजका पत्रहरूसँग दााजेका छन् । जीवनको एक पत्र उक्कायो, अर्को पत्र आउँछ । 

आन्दोलन र क्रान्तिको संग्रामी शृंखलाबाट उदाएको गणतन्त्र नेपालमा अनपेक्षित उल्का भयो । जो न कुनै शक्तिकेन्द्रको निकट छ, न प्रिय छ, जो न कुनै शक्तिपीठको भक्त छ, न कृपार्थी छ, जो न कुनै जंगीको शीर्षस्थ हाकिम हो, न हो निजामतीको शीर्षस्थ पुरुष, जो न कुनै दीर्घायुयुक्त शतक पुरुष हो, न हो कुनै लाठेदलको अधिपति, जो न कुनै धनाढ्य कुबेरपति हो, न हो कुनै फिल्मी चटके अभिनयकर्मी, उल्का भयो !

जीवन अन्तत: प्याज रहेछ

यो कोही न कोहीको जीवनी लेखियो ! त्यो पनि केवल सतहत्तर लाग्दो अल्प उमेरमा, अझ त्यसमाथि जिउँदै छँदा ! सर्वत्र सनातनी वर्चस्वशाली वर्गको एकाधिकार व्याप्त जीवनमा यो साँच्ची नै उल्का भयो, अनपेक्षित उल्का ! यो उल्काका प्रायोजक हुन् दीपक भेटवाल, जसले खाडी जगत्को भावर बगरमा तर्तरी पसिना बगाउँदै केही पैसा कमाए र त्यसको एक अंश यो उल्कामा लगाए । यो उल्काका लेखक हुन् उज्ज्वल प्रसाईं, जसले पाँच वर्षको कष्टसाध्य यत्नद्वारा एक साधारण मनुवाका जीवनको शोधखोज र उत्खनन गरी यो उल्काको रचना गरे । र, यो उल्कालाई छापेर लोकछउ पुर्‍यायो बेलाबेला यसो केही छाप्ने ‘बेला प्रकाशन’ ले ।


मेरो जीवनी लेख्ने प्रसंग जब उठ्यो, त्यसमा मलाई खासै रुचि भएन । कारण, मलाई लाग्यो– आफ्ना बहुविध संस्मरणमा मैले आफूबारे यावत् कुरा लेखिसकेको छु । त्यसैले अब लेख्न बाँकी छ नै के ? जीवनी लेखनका नाउँमा उही बासी विषयलाई अलि भिन्न भाषा–शैलीमा दोहोर्‍याएर पाठकगणलाई ठग्नु किन ? तर प्रायोजक, केही अनन्य मित्र र प्रकाशकको अनुरागयुक्त जिद्दी मत्थर भएन । यो अथक जिद्दीले भनिरह्यो— लेख्ने हो । जीवनको अन्तरकुन्तरमा लेख्न छुटेका कुरा कतिकति होलान् । तिनलाई पहिल्याएर, जीवनका केस्राकेस्रा केलाएर लेख्ने हो । नयाँ कोणबाट, नवीन शैलीमा, नूतन बान्कीमा । यसरी नयाँ, नवीन र नूतनको मीठो कल्पना त गरियो, तर यो मनचिन्ते कल्पनाले यथार्थमा साकार रूप लेला कसरी ? मेरो चित्तमा सन्देह यथावत् रह्यो ।


बोलकबोल दुई वर्षमा लेख्ने थियो, गर्दै भन्दै जाँदा जीवनी लेखिसकियो पाँच वर्षमा । जीवनीको अन्तिम खेस्राको अधिकांश अंश जब किस्ताकिस्ता गरी लेखकको सस्वर वाचनमा सुनें, म चकित भएँ । त्यसो त सुन्ने अन्य जनहरू पनि मैझैं चकित भए । चकित, चमत्कृत र पुलकित । जीवनी लेखन प्रक्रियामा उज्ज्वल प्रसाईंले आफ्नै कौशलको पुन:आविष्कार गरेछन् । लेखन, पुनर्लेखन र पुन: पुनर्लेखनको झन्झटिलो प्रक्रियामा उनले यस्तो भाषा–शैलीको सिर्जना गरेछन्, जसले जीवनीभरि आख्यानको स्वाद भरेको छ । यो पढ्दा लाग्छ, सनातनी शैलीको जीवनी नाउँको एकालापयुक्त आत्मकथा होइन, जीवनीको औतारमा बडो सुरुचिकर आख्यान पढिँदै छ । यो आख्यानमय जीवनीमा मूलत: मेरो समयको कथा छ— न्यायमुखी सामाजिक घर्षण, गर्जन र उथलपुथलले भरिपूर्ण मेरो समयको कथा । र, समयको विराट् क्यानभासमा एउटा सानो मान्छेलाई स्थित गराइएको छ, कतै समयको मूल प्रवाहमा, कतै समयको किनारमा । त्यो सानो मान्छे मै हुँ ।


जीवनी विमोचनको दिन यो जीवनीमा उद्घाटित विषय, त्यसको अर्थ र महत्ताबारे विद्वान्–विदूषीका मुखारविन्दबाट सुन्दा मलाई लाग्यो— उज्ज्वल प्रसाईंले मलाई ढल्कँदो उमेरमा बस्ने एउटा खास्साको चौतारी बनाइदिएछन् । त्यस्तो चौतारी, जहाँबाट अतीततिर फर्केर हेर्दा इतिहासमा आफूले यात्रा गरेका नागबेली बाटाहरू देखिन्छन् । र, देखिन्छन् त्यो कतै टड्कारो र कतै किरिङमिरिङ बाटोमा अंकित आफ्ना पदचिह्नहरू, यात्राका आरोह र अवरोहहरू, जय र पराजयहरू, अडान र विलचनहरू, विचार र कर्मका संगति र असंगतिहरू, दृढता र पलायनहरू, साहस र कायरताहरू आदि । शंकर लामिछानेले जीवनका ज्ञात र अज्ञात, दृश्य र अदृश्य, अन्तरंग र बिराना पाटाहरूको जन्जाललाई प्याजका पत्रहरूसँग दाँजेका छन् । जीवनको एक पत्र उक्कायो, अर्को पत्र आउँछ । अर्को पत्र उक्कायो, झन् अर्को पत्र आउँछ । झन् अर्को पत्र उक्कायो, झन्झन् अर्को पत्र आउँछ । र लाग्छ, पत्रहरूको यो अन्तहीन क्रम कहींकतै टुंगिँदैन ।

यो जीवनीमा उज्ज्वलीय दृष्टिबाट उद्घाटित मेरो जीवनका पत्रपछिका पत्रहरू देख्दा मलाई लाग्यो— मेरो जीवन म आफैंले सोचेको, बुझेको र सुनाउँदै हिँडेको भन्दा कतिकति धेरै पत्रहरूको जटिल जन्जाल रहेछ । यो जञ्जालबीच मेरा आफ्नै आँखाबाट ओझेल परेका, मैले महत्त्वहीन ठानेका, बेवास्ता गरेका, समयको क्रममा विस्मृत भई मस्तिष्कको नेपथ्यमा थन्किएका वा आफूलाई ‘राम्रो म’ देखाउन शब्दहरूको मायावी आवरणभित्र ढाकछोप गरिएका जीवनका पत्रहरू मेरा आँखासामु जीवन्त एवं गतिमान् भए । र मलाई लग्यो, जीवन त असलमा रंगहरूको विछट्टको इन्द्रधनुषी संगम पो रहेछ ।

जीवनीमा चित्रित मेरो जीवनको जटिल जञ्जालमा जीवनका विविध पत्रहरू दृष्टिगोचर हुन्छन् । समयका पत्रहरू, प्रेमका पत्रहरू, नानाओली घटनाओलीका पत्रहरू, संलग्नताका पत्रहरू, भक्तिपथ र वागीपथबीचको संघर्षका पत्रहरू, बन्धित चिन्तन र निर्बन्ध चिन्तनबीचको द्वन्द्वका पत्रहरू, न्यायमुखी पक्षधरताका पत्रहरू, विवाद र प्रतिवादका पत्रहरू, घर्षण र ठोकठाकका पत्रहरू, संघसंस्थामा प्रवेश र परित्यागका पत्रहरू, एकपछि अर्को अभियानी यात्राका पत्रहरू आदि । उज्ज्वल प्रसाईंले मिहिन शोधद्वारा उजागर गरेका थरीथरीका यी पत्रहरूउपर गम खाँदा मलाई लाग्यो— गाँठ्ठे, जीवनीमा अरू थुप्रो पत्रहरू छुट्न गएछन् ! यहाँनेर बडो प्रसन्न मुद्रामा मैले आफैंलाई भनें— भाइ, जीवन बडो रोचक छ !


बर्बर सरकारले बासउट्ठा गर्न लागेका सुकुम्बासीजनको जुलुसमा हाजिर भई एउटा रेस्टुराँमा बसेका थियौँ हामी दुई भाइ— मित्र सविन निङलेखु र म । खासमा भावलोकमा हामी मेरो जीवनीरूपी चौतारीमा बसेका थियौं । अगाडि टेबुलमा बियरका गिलास थिए, हाम्रा आँखा फर्केका थिए दूर अतीततिर । बियरको चुस्की लिँदै सविनले जीवनीमा अंकित मेरो जीवनका दुईवटा पत्र कोट्याए । एउटा पत्र थियो– लिंगभेदी पितृसत्ताको र अर्को पत्र थियो– नस्लभेदी राष्ट्रवादको । सविनले सविनय सोधे— ‘दाइ, यी दुई विषयमा दुनियाँसामु यसरी बोल्न तपाईंलाई डर लागेन ?’ डरै त होइन, तर मलाई एकदमै असहज भने अवश्य लागिरह्यो । खासगरी लिंगभेदी पितृसत्तासँग गाँसिएको मेरो संस्कारगत रोगबारे बोल्न मलाई साँच्ची नै असहज लाग्यो । मेरो यो कुरूप भावनाको पोल खुल्दा छोरी डेजीलाई कस्तो लाग्ला ? तिनका दृष्टिमा म बाबुको अनुहार कस्तो देखिएला ? यो विषयमा मैले कतै छिसिक्क लेखेको थिएँ । घटनाको सप्रसंग व्याख्यासहित मैले पहिलो पटक सुनाएको जीवनीकार उज्ज्वल प्रसाईंलाई हो । यो त्यस्तो घटना हो, जसलाई सम्झँदा अझै फनि अवशादयुक्त क्लेसको करौंतीले मेरो हृदय र्‍याइँर्‍याइँ रेटिन्छ । हो, छोरीको मानवीय गरिमालाई त्रूरतम उपेक्षासाथ धूलोमा मिलाउने घटना हो यो ! घटना यस्तो छ । जीवन–संगिनी जमुनाको कोखमा गर्भ रह्यो । र, दुई हातले अड्कल्दै उनले सगर्व भनिन्— ‘म यत्रो छोरो पाउँछु ।’ उनको यो भनाइको गाढा छाप मेरो मनमा परेको हुँदो हो । तर, योभन्दा बढी कुरो पितृसत्ताले ठोकीठोकी, गाँजीगाँजी मेरो मथिंगलमा थोपरेको लिंगभेदी संस्कारको छाप थियो । कीर्तिपुरमा एकवर्षे सेवाकालीन बीएड पढ्दै थिएँ म । एक दिन भोटाहिटीमा बरालिँदै थिएँ, बन्दीपुरवासी मित्र चीजकुमार पिया भेट भए । हर्षमय स्वरमा तिनले सुनाए— ‘सर, जमुना दिदीले छोरी पाइन् ।’ छोरी रे ? हठात् मेरो मथिंगलमा मानौं हेमानको घन बज्रियो । हँ ! छोरी रे ? मेरो मनै अँध्यारो भयो । मेरो यो लिंगभेदी भाव मैले आजसम्म जमुनालाई भनेको छैन । छोरी डेजीलाई त झन् भन्ने कुरै भएन ।

२०३२ सालको कुरा हो यो । त्यो बेला म मार्क्सवादी लाल चिन्तनको विद्यार्थी भइसकेको थिएँ । सोभियत र चिनियाँ साहित्यमा महिला जागरण, महिला समानता र महिला मुक्तिबारे मैले थुप्रो कुरा पढिसकेको थिएँ । मेरो त्यो पठन केवल हाँसका पखेटामा पानीसरह भएछ । मेरो संस्कारमा गडेर बसेको विकार अझै जब्बर रहेछ । आखिर मेरो संस्कारमा यो विकार आयो कहाँबाट ? दस दाजुभाइमध्ये कान्छा थिए मेरा साना कान्छाउ । उनको छोरो मभन्दा दुई दिन जेठो थियो । त्यो मेरो दाज्यै सिंगल जाइफलवाले थियो । निजको सिंगल जाइफल थियो लोहोरोभन्दा ठूलो । साना कान्छाउको विशाल जाइफलधारी यो छोरो लठेब्रो थियो । त्यसैले साना कान्छाउलाई यो असार संसारमा जीवनको साररूपी छोरो चाहिएको थियो । साना कान्छाउलाई छोरो पाइदिने आसमा सानीकान्छी आमा छोरीपछि छोरी पाइरहिन् । सातौं छोरी जन्मेपछि सानाकान्छाउले भनेछन्— ‘छोरी पाउने नाथेलाई खान दिनु पर्दैन ।’ सानाकान्छाऊको त्यो त्रूर वचन एक कान दुई कान मैदान हुँदै गाउँका आइमाईहरूमाझ फैलियो । र, तिनले भनेको सुनियो— कत्रा दु:खले पेट बोक्नु, असह्य पीडा खपेर सन्तान जन्माइदिनु, अनि यसरी दुर्वचनको तारो बन्नु, अहो ! आइमाईको चोला ! लिंगभेदी फितृसत्ताको चरम् त्रूरताको एक जघन्य दृष्टान्त हो यो ।

रमरम चेत आएदेखि नै मैले घरमा पितृसत्ताले छोरीमाथि गर्ने विभेदका अनेक रूप देखेँ । छोरो घरभित्रको काममा सिन्को भाँच्दैन, छोरी हातखुट्टा लागेदेखि नै आमालाई कामधन्दा सघाउँछे । छोरो अँगेनाका डिलमा आगो तापेर बस्छ, छोरी स्युस्यु काम्दै गाग्रीमा पानी ओसार्छे, भुइँमा कुचो लाउँछे, लिपपोत गर्छे । छोरो भात खाएर थपक्क चुठ्छ, छोरी उसको जुठो थाल माझ्छे । छोरी लुगा धुन्छे, छोरो गुलेली बोकेर हल्लिँदै कतै झ्यासतिर लाग्छ । छोरी मल बोक्छे, छोरो खेप्पी खेल्छ । छोरी बाख्रा चराउन जान्छे, छोरो इस्कुल जान्छ । छोरो जनै र लगौँटी भिरेर टुप्पी हल्लाउँदै जातोत्थान भई माथि चोखो चुलोमा उक्लिन्छ, बिहा नभएकी सानो जातकी उसकी दिदी तल बिटुलो मझेरीमा ठेउलिन्छे । कथित कर्म चलेको छोरो दिदीका हातको भात खाँदैन । खाए उसको जनैधारी जात जान्छ । घरमा छोराको महात्म्य नित्य सुनिन्छ । छोरो भए बूढेसकालमा तातो पानी ख्वाउँछ । छोरो भए मर्ने बेलामा मुखमा सुनपानी चुहाउँछ । छोरो भए मृत्युपछि गौदान गरी वैतरणी तारिदिन्छ । अनि छोरी ? छोरीको त कुनै वस्तु दान गरेझैं कन्यादान गरिन्छ । छोरो पैत्रिक सम्पत्तिको उत्तराधिकारी बन्छ, बाबुका चित्तमा दया जागे छोरीले केवल आनासुकी दाइजो पाउँछे । यी सब विभेदकारी व्यवहारको अर्थ हो— छोरो श्रेष्ठ हो, छोरी तुच्छ । छोरो मूल्यवान् हो, छोरी मूल्यहीन । छोरो सम्पत्तिको मालिक हो, छोरी हो सदा आश्रित । बिहाअघि बाबुको घरमा आश्रित, बिहापछि लोग्नेको घरमा आश्रित । छोरो गृहस्वामी हो, छोरी हो गृहदासी । बिहाअघि बाबुको घरकी दासी, बिहापछि लोग्नेको घरकी दासी । यही विभेदकारी संस्कृतिको परम्परा, रीतिथिति र कर्मकाण्डका कोर्राले मस्तिष्कमा ठोकीठोकी, गाँजीगाँजी थोपरेको पितृसत्ताको मनोरोगको सिकार भएको थिएँ म । मबाट भएको अबोध छोरीको अस्तित्वको तिरष्कार र अस्मिताको अस्वीकृति यही विभेदकारी पितृसत्तात्मक संस्कृतिको विकारयुक्त डकार थियो । थोरै जान्नेसुन्ने भएदेखि नै पितृसत्ताले थोपरेको यो मनोविकारविरुद्ध म जिन्दगीभरि लडिरहेको छु । तैपनि नसानसामा, रगतका कणकणमा गडेर बसेको यो रूढिगत संस्कारको डकार अन्जानमै अझै आइरहन्छ । उज्ज्वल प्रसाईं निर्मित मेरो अतीतको ऐनामा यो कुरूप संस्कारको प्रेतको झल्को यदाकदा अझै दृष्टिगोचर भइरहन्छ ।


सविन निङलेखुको अर्को जिज्ञासा छ— के राष्ट्रवाद सहदेशवासीद्वेषी मनोविकार हो भनी प्वाक्क भन्न मलाई डर लाग्यो ? के राष्ट्रवाद भावनात्मक विखण्डनको कारक हो भन्न मलाई डर लाग्यो ? अर्को शब्दमा, के म राष्ट्रवादी होइन भन्न मलाई डर लागेन ? डरै त उतिसाह्रो लागेन, तर यो सत्यको सार्वजनिक स्वीकारोक्ति मेरा लागि सहज भने निश्चय नै भएन । जीवनमा निकै समय राष्ट्रवाद मेरो पहिचान र प्रतिष्ठाको प्रतीक बन्यो । मेरो आत्मसम्मान र आत्मगौरवको द्योतक बन्यो यो । मानौं राष्ट्रवादी हुनु अस्सली र गौरवशाली नेपाली हुनु हो । मानौं राष्ट्रवादी हुनु पौरखी पुर्खाको अस्सली उत्तराधिकारी हुनु हो । मानौं राष्ट्रवादी कहलिनु जीवनको एक सान हो, एक गौरव हो, एक शोभा हो, एक आभूषण हो । पहिचान बनाइदिने र प्रतिष्ठा बढाइदिने यस्तो गुनिलो चीजलाई मनोविकार भनी ठोकुवा गर्नु सजिलो कुरा कहाँ हो र ? मलाई जगत्ले सुन्ने गरी यो भन्न जति गाह्रो भयो, यो कटु सत्यबोध गर्न त्योभन्दा धेरै नै गाह्रो भयो । निर्मम आत्म–मन्थन, आत्म–समीक्षा र कठोर आत्म–संघर्षपछि जब मलाई यो सत्यबोध भयो, त्यही बोधको शक्तिले मलाई यो भन्न साहस दियो ।


छोरीको अस्तित्व र गरिमालाई पूरापूर नकार्ने मनोराग रूपी मेरो भावना जगत्छेउ उजागर गर्न मलाई जति सकस भयो, राष्ट्रवादमा अन्तर्निहित मनोरोगको भन्डाफोर गर्न मलाई त्यति सकस भने भएन । यसो हुनाका कारण छन् । यो राष्ट्रवाद बन्धुद्वेषी हो भनी स्वीकार गर्दा मेरो कुनै अवसर गुम्ने कुरा थिएन । कारण कसैले प्रदान गर्ने कुनै अवसरको आकांक्षी वा याचक म थिइनँ । राष्ट्रवाद भावनात्मक विखण्डनको हानिकारक कारक हो भन्दा ममाथि ओइरिने फत्तुरहरूको मलाई कुनै चिन्ता थिएन । कारण मैले सत्य बोल्दा राष्ट्रवादीले मलाई राष्ट्रघाती भनोस्, मलाई के फरक पर्छ ? राष्ट्रवाद अहंकार र संकीर्णताको द्योतक हो भन्दा राष्ट्रवादीले मलाई तँ कतैका कसैको दलाल होस् भनोस्, मलाई के फरक पर्छ ? राष्ट्रवाद ‘राम्रो म’, ‘नराम्रो तँ’, ‘चोखो म’, ‘बिटुलो तँ’, ‘रैथाने मौलिक म’, ‘आयातीत भतुवा तँ’, तसर्थ ‘म दाता’, ‘तँ याचक’, ‘म अधीनकारी’, ‘तँ अधीनस्थ’ आदि रटहरूको बर्बराहट हो । यो अमानवीय बर्बराहटलाई अस्वीकार गर्न म आँट गर्छु भन्दा कोही मसँग रिसाओस्, आक्रोशित होओस् र उसले ममाथि भर्त्सनाको ओइरो लगाओस्, मलाई के फरक पर्छ ? मैले कसैका अगाडि पद, पैसा, प्रतिष्ठा, पगरी, पुरस्कार, प्रशंसा आदिको याचना गर्नु छैन भने सत्य बोल्दा कोही मसँग क्षुव्ध होओस्, मुर्म‘रियोस्, दाह्रा किटोस् उसले मउपर विष वमन गरोस्, मलाई के फरक पर्छ ?


हामी दुई भाइ अझै उही रेस्टुराँमा बियरको चुस्की लिँदै बसेका थियौं— मित्र सविन निङलेखु र म । अतीतमा आफूले हिँडेका बाटा हेर्दै, ती बाटामा अंकित आफ्ना पदचिह्नहरू नियाल्दै । र, तिनका अर्थहरू उपर गम खाँदै । सविनले कुरैकुरामा लिंगभेदी पितृसत्ताले आफ्नो मानसमा थोपरेको सढाउ संस्कारको प्रसंग कोट्याए । सविनकी छोरीको जन्म भएछ । कोही आफन्तले छोरी जन्मिँदा तिमीलाई कस्तो लाग्यो भनी जिज्ञासा प्रकट गरिछन् । प्रत्युत्तरमा सविनले भनेछन्— ‘मलाई पनि खुसी त लाग्यो तर.....!’ आफ्नै मुखबाट निस्केको यो ‘तर’ देखि तर्सिंदै सविनले आफ्नो वचन–प्रवाहमा झ्याप्प ब्रेक लगाएछन् । ‘तर’ पछि भन्न बाँकी रहेको आफ्ना मनको भेदभावकारी भाव सम्झेर उनलाई त्यसैत्यसै डर लागेछ । आखिर के थियो ‘तर’ पछिको त्यो अप्रकट भाव ? त्यो थियो, ‘तर, मलाई बुढसकालको सहारा... !’ मतलब सविनलाई कसैको घर जाने छोरी होइन, सधैं आफ्नो घरमा, आफूसँगै बस्ने छोरो चाहिएको थियो । छोरो अर्थात् ‘बुढेसकालको सहारा !’ सविनको यो लिंगभेदी मनसाय आजसम्म कसैका कानमा परेको रहेनछ । किन ? उनकै शब्दमा, ‘डरले !’ डर आखिर केको ? छोरीका चित्तमा बाबुको यो कुरूफ र त्रूर लिंगभेदी मनसायबाट हुने बज्राघातको डर । लोकदृष्टिमा आफ्नो छवि कलंकित होला र आफ्नो नैतिक नाक काटिएला भन्ने डर । म नारीवादी हुँ भन्न रुचाउने सविनको भन्डाफोर होला भन्ने डर । सायद पितृसत्तात्मक रूढ परम्पराद्वारा बलात् थोपरिने लिंगभेदी मनोरोगबाट आक्रान्त हरेक पुरुष मनको पन्तुरोमा यस्ता थुप्रै डर लिएर हिँडिरहेका हुँदा हुन् । मलाई लाग्छ, लोकछेउ यी डरका कारणहरूको हाक्काहाक्की पोल खोल्ने आँट गर्नुमा नै भयमक्तिको आशा निहित छ ।

मेरो ओछ्यान नजिकको टेबुलमा उज्ज्वल प्रसाईं लिखित मेरो जीवनी छ । यो जीवनीमा उज्ज्वलनिर्मित असल चौतारी छ, जसमा बसेर आफ्नो अतीतलाई नियाल्दै लोकलाई मैले सुनाउन बाँकी यस्ता कष्टमय पुन:संस्कारका अनुभवहरू अरू पनि छन् । हेरूँ, समय र जाँगरले के भन्छन् ।

प्रकाशित : वैशाख १५, २०८१ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?