कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फ्रान्सका राष्ट्रपतिको जर्मनी भ्रमण रद्द

एजेन्सी

पेरिस — फ्रान्समा किशोर हत्याको विरोधमा प्रदर्शन बढेपछि राष्ट्रपति इमानुएल म्याक्रोंले आफ्नो जर्मनी भ्रमण रद्द गरेका छन् । उनी मंगलबार भ्रमणमा जाने तालिका थियो । फ्रेन्च राष्ट्रपतिको २३ वर्षयताकै यो पहिलो स्टेट भ्रमण हुन लागेको थियो ।

फ्रान्सका राष्ट्रपतिको जर्मनी भ्रमण रद्द

मंगलबार फ्रान्सको राजधानी पेरिसको उपनगरमा १७ वर्षीय किशोर नाहिल एमको प्रहरीद्वारा हत्या भएपछि फ्रान्समा हिंसात्मक विरोध प्रदर्शनले देशव्यापी रूप लिएको हो । शनिबारसम्म प्रदर्शनमा सहभागी १ हजार ३ सय जनालाई प्रहरीले पक्राउ गरेको छ । सरकारले विभिन्न सहरमा हजारौं सुरक्षाकर्मीलाई तैनाथ गरेको छ । प्रदर्शनीका क्रममा पेरिस, लिल, लियोन, दिजों, नातेयर, मासेई, क्लामालगायतका सहरमा सयौं भवन तथा सवारीसाधनमा आगजनी गरिएको छ ।

लियोन सहरका मेयरले रातको समयमा प्रदर्शन र लुटपाट बढेको भन्दै थप सुरक्षाकर्मी माग गरेका छन् । लियोनमा शुक्रबार राति व्यक्तिगत भवन, प्रहरी कार्यालयमा आक्रमण भएको थियो, जसमा ३५ जना सुरक्षाकर्मी घाइते भएका थिए । उक्त किशोरलाई मंगलबार बिहान पेरिस उपनगर नातेयरमा एक प्रहरी अधिकारीले ट्राफिक नियम उल्लंघन गरेको आरोपमा गोली हानेका थिए ।

प्रहरीले सुरुमा नाहिलले प्रहरीलाई कार चलाउँदै आएर गोली हानेको रिपोर्ट गरेको थियो । तर घटनाको सत्यतथ्य नियाल्न जाँच गरिएको भिडियोले त्यसलाई गलत साबित गरिदिएको थियो । सुस्त गतिमा गाडी हाँकेर रोकिन लागेका पीडितले रोकिनुअघि गाडी कुदाएपछि प्रहरी अफिसरले फायर गरेको भिडियोमा देखिएको बताइएको छ । शुक्रबार मन्त्रिपरिषद्को आकस्मिक बैठकपछि देशव्यापी प्रदर्शनलाई नियन्त्रण गर्न थप सुरक्षा बलहरू तैनाथ गरिने म्याक्रोंले बताएका थिए ।

प्रकाशित : असार १७, २०८० ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?