अस्ट्रेलियाली बलरले सटिक बलिङको नमुना पेस गरेपछि वर्ल्ड टेस्ट च्याम्पियनसिप फाइनलको दोस्रो दिन बिहीबार भारत संघर्षरत रहेको छ । दिनको खेल समाप्त हुँदा भारतले पाँच विकेट गुमाएर १ सय ५१ रन बनाएको छ ।
भारतमा आन्दोलनरत कुस्ती खेलाडीको प्रदर्शन स्थगित भएको छ । गत अप्रिल २३ देखि आन्दोलन गर्दै आएका खेलाडीहरूले खेलमन्त्रीसँग भेट गरेपछि केही दिनका लागि प्रदर्शन रोक्ने निर्णय गरेका हुन् ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की खेरसोन सहरस्थित बाँध भत्किएको क्षेत्रको भ्रमणमा पुगेका छन् । बाँध भत्किएपछि आएको बाढीमा शवहरू तैरिरहेको उनले बताएका छन् । उनले युक्रेनी उद्धारकर्तालाई रुसी सैन्य बलले गोली हानेको पनि आरोप लगाएका छन् ।
केही दिनयता क्यानडाका जंगलमा डढेलो लाग्दा उक्त देशसहित अमेरिकाका विभिन्न सहरमा वायु प्रदूषण बढेको छ । क्यानडाको पूर्वी राज्य क्यबुेकमा डढेलो लाग्दा दुवै देशका लाखौं मानिसहरू प्रभावित भएका हुन् । डढेलो लागेको क्षेत्रका हजारौं स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ ।
भारतीय रिजर्भ बैंक (आरबीआई)को मोनिटरी पोलिसी कमिटीले ब्याजदर स्थिर राख्ने लक्ष्यस्वरुप रिपो दरलाई यथावत कायम गरेको छ । आरबीआई गभर्नर शक्तिकान्त दासले हाललाई ६.५ प्रतिशतको रिपो दरलाई यथावत राख्ने घोषणा गरे ।
इरानले सात वर्षपछि साउदी अरबमा आफ्नो दूतावास खुला गरेको छ । लामो समयदेखि बिग्रिएको कूटनीतिक सम्बन्धमा सुधार आएपछि इरानले मंगलबार रियादमा दूतावास सञ्चालन गरेको हो ।
कमजोर आर्थिक अवस्था भएका देशबाट उच्च आय भएका राष्ट्रमा नर्सहरूको पलायन नियन्त्रण बाहिर हुँदै गएको नर्सहरूको अन्तर्राष्ट्रिय संगठन आईसीएनले जनाएको छ । आईसीएनले अफ्रिकी देश घानाको उदाहरण दिँदै आर्थिक अवस्था कमजोर भएका देशबाट ठूलो संख्यामा नर्सहरू विकसित देशहरूमा गइरहेको बताएको हो ।
दक्षिणी युक्रेनस्थित रुसी नियन्त्रित खेरसोन क्षेत्रमा रहेको नोभा काखोभ्का बाँधलाई ध्वस्त पारेको भन्दै रुस र युक्रेनले एक आपसमा आरोप प्रत्यारोप गरेका छन् । बाँध भत्किएपछि युक्रेनी सेनाले भने द्निप्रो नदीमा बाढी आउनसक्ने भन्दै त्यस आसपासका बस्तीका मानिसहरूलाई अन्यत्र जानका लागि सुझाव दिएको छ ।
कुपर्तिनो, क्यालिफोर्नियास्थित आफ्नो मुख्यालय एप्पल पार्कमा आयोजित वार्षिक वर्ल्डवाइड डेभलपर्स कन्फेरेन्समा एप्पलले ३ हजार ४९९ अमेरिकी डलर पर्ने मिक्स्ड-रियलिटी हेडसेटसहित आईओएस १७, म्याकबुक कम्प्युटरका पछिल्ला भर्सनलगायत प्रविधि सार्वजनिक गरेको छ ।