१२ वर्षपछि सार्वजनिक हुन लागेको ग्रान्ड थेफ्ट अटो-६ को मूल्य ७९.९९ देखि ९९.९९ डलरसम्म तय गरिएको छ, यसपटक डिजिटल डाउनलोड उपलब्ध हुनेछ । जीटीए-६ मा महिला मुख्य पात्र लुसिया, भाइस सिटीमा देखिनेछिन् ।
What you should know
काठमाडौँ — विश्वकै सबैभन्दा चर्चित र धेरै प्रतीक्षा गरिएको भिडियो गेममध्ये एक, ग्रान्ड थेफ्ट अटो-६ (जीटीए-६) आगामी नोभेम्बर १९ मा सार्वजनिक हुने भएको छ । गेमको अघिल्लो संस्करण आएको १२ वर्षभन्दा बढी समयपछि नयाँ संस्करण ल्याउने घोषणा गरिएको हो ।
जीटीए-६ को स्ट्यान्डर्ड संस्करणको मूल्य ७९.९९ अमेरिकी डलर (करिब ११ हजार ८४० रुपैयाँ) र अल्टिमेट संस्करणको मूल्य ९९.९९ अमेरिकी डलर (करिब १४ हजार ८०० रुपैयाँ) तोकिएको छ । यसपटक अघिल्ला पटकजस्तो गेमको डिस्क भने नहुने भएको छ । त्यसमा डिजिटल डाउनलोड कोड मात्र हुनेछ ।
गेमको नया संस्करण विकास गर्न र अनुभव सुधार गर्न थप समय आवश्यक परेको भन्दै गेम सार्वजनिक मिति कैयौँपटक सारिएको थियो । सन् २०१३ मा सार्वजनिक भएको जीटीए-५ को व्यापक सफलतापछि यसको नयाँ संस्करण आउन लागेको हो । जीटीए-५ हालसम्म करिब २३ करोड प्रति बिक्री भइसकेका छन् । यसलाई विश्वकै सबैभन्दा धेरै बिक्री हुने भिडियो गेम मानिन्छ ।
ग्रान्ड थेफ्ट अटो शृंखलाका कुल ४७ करोडभन्दा बढी प्रति बिक्री भइसकेका छन् । आधिकारिक बिक्रीसँगै जीटीए सिरिजका गेमहरूलाई टेक टाइम्स र इन्फर्मेटिक्स जर्नलले विश्वकै सबैभन्दा बढी पाइरेसी हुने गेमसमेत मान्ने गरेका छन् । टोरेन्ट प्लाट्फर्महरूमा यस गेमको अत्यधिक माग हुने भएकाले अनाधिकृत डाउनलोड पनि करोडौंमा हुने अनुमान गरिन्छ ।
फ्लोरिडाबाट प्रेरित काल्पनिक अमेरिकी राज्य ‘लियोनिडा’मा आधारित जीटीए-६ ले उत्साहित गेमरहरूलाई फेरि भाइस सिटीमा फर्काउनेछ। खेलका मुख्य पात्र जेसन र लुसिया हुन् । फाइनान्सियल टाइम्सका बजार विश्लेषकहरूले पहिलो वर्षमै जीटीए-६ का ३ करोड ८० लाखदेखि ४ करोड प्रति बिक्री हुने र ३ अर्ब अमेरिकी डलरसम्म आम्दानी हुन सक्ने अनुमान गरेका छन् ।
जीटीए शृंखलाको मुख्य संस्करणमा पहिलोपटक लुसिया महिला प्रमुख पात्रका रूपमा देखिनेछिन्। सुरुआती चरणमा यो खेल प्लेस्टेसन–५ र एक्सबक्स सिरिज एक्स/एस मा मात्रै उपलब्ध हुनेछ। अनलाइन मल्टिप्लेयर संस्करण र अन्य विकल्पबारे भने तत्काल कुनै घोषणा गरिएको छैन। डिस्कको सट्टा डाउनलोड कोड दिने रकस्टारको निर्णयले प्रिमियम भिडियो गेमसमेत डिजिटल वितरणतर्फ तीव्र रूपमा अघि बढिरहेको प्रवृत्तिलाई देखाएको छ ।
विश्वव्यापी रूपमा भिडियो गेम उद्योगले अहिले नै वार्षिक १८० अर्ब अमेरिकी डलरभन्दा बढीको आम्दानी गरिरहेको बीबीसीको अनुमान छ। यस्तो अवस्थामा जीटीए–६ टेक–टु इन्टरएक्टिभका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो व्यावसायिक लन्च बन्ने अपेक्षा गरिएको छ। स्नुप डग, ट्रभिस स्कट, नेयमर जुनियर, लुइस ह्यामिल्टन, टी पेनजस्ता ठूला सेलेब्रिटीले यो गेम खेल्ने गरेको सार्वजनिक रूपमै बताएका छन् । यस गेममा डक्टर ड्रेजस्ता र्यापरको आवाज जीटए-५ मा संलग्न गरिएको थियो ।
