गत साता द्वन्द्व अन्त्य गर्ने उद्देश्यले अमेरिका र इरानबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो
एजेन्सी — खाडी क्षेत्रमा फसेका झन्डै ११ हजारभन्दा बढी जहाज कर्मचारीलाई संयुक्त राष्ट्रसंघअन्तर्गतको अन्तर्राष्ट्रिय समुद्री संगठन (आईएमओ) ले उद्धार गर्ने भएको छ।
आईएमओका महासचिव आर्सेनियो डोमिनगुएजका अनुसार, अमेरिका–इरानबीचको द्वन्द्वका कारण खाडी क्षेत्रमा अलपत्र परेका ती कर्मचारीहरूको उद्धारका लागि ठूलो स्तरको अपरेशन सञ्चालन गरिनेछ। यसका लागि इरान, ओमान, अमेरिका तथा अन्य तटीय देशहरूसँग समन्वय भइरहेको छ।
'हामीले आवश्यक सुरक्षा ग्यारेन्टी सुनिश्चित गरेका छौं र सुरक्षित आवागमनका लागि आवश्यक सबै अवस्था तयार पारेका छौं,' उनले भने।
गत साता द्वन्द्व अन्त्य गर्ने उद्देश्यले अमेरिका र इरानबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो। अमेरिकाले उक्त सम्झौताअनुसार इरानको आणविक कार्यक्रम अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) को निरीक्षणमा रहने दाबी गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, 'दीर्घकालसम्म उच्चस्तरीय आणविक निरीक्षण गर्न इरानले पूर्ण सहमति जनाएको छ । यसले आणविक इमानदारिता सुनिश्चित गर्नेछ ।'
ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गरेको छोटो समयमै इरानले यसबारे प्रतिक्रिया दिएको छ । गत वर्ष अमेरिका र इजरायलले आक्रमण गरेका आणविक केन्द्रहरूमा आईएईएलाई निरीक्षण गर्न अनुमति नदिइने इरानले जनाएको छ।
