टेस्लाको जीवनी पढेर आँसु खसालेका ल्यारी पेजले १२ वर्षको उमेरमै अठोट गरेका थिए– ‘आविष्कार गरेर मात्रै पुग्दैन, त्यसलाई मानिसको हातसम्म पुर्याउन एउटा सफल कम्पनी खडा गर्नुपर्छ’
What you should know
काठमाडौँ — टेस्ला भन्नासाथ हामी सबैले स्वाभाविक रूपमा आकर्षक विद्युतीय गाडी सम्झन्छौं । महान् वैज्ञानिक निकोला टेस्लाबाट यो गाडीको नाम राखिएको हो । टेस्लाको कहानी दुःखद छ । उनले बिजुली र सञ्चार क्षेत्रमा संसार बदल्ने आविष्कार गरे । तर व्यावसायिक रूपमा असफल हुँदा उनले गरिबीमा जीवन गुजार्नुपर्यो ।
उनै टेस्लाको जीवनी पढेर आँसु खसालेका ल्यारी पेजले १२ वर्षको उमेरमै अठोट गरेका थिए, ‘आविष्कार गरेर मात्रै पुग्दैन, त्यसलाई मानिसको हातसम्म पुर्याउन एउटा सफल कम्पनी खडा गर्नुपर्छ ।’
गुगोलको स्पेलिङ झुक्किएर गुगल लेखिएको र ल्यारीले गलत स्पेलिङ नै मीठो सुनिएको भनेपछि यही नाममा डोमेन दर्ता गरिएको थियोसन् १९९८ मा २५ वर्षको उमेरमा ल्यारीले मित्र सर्गे ब्रिनसँग मिलेर गुगल इन्कर्पोरेसन स्थापना गरे । अहिले गुगल र यसका अन्य टुल विश्वभरका करोडौं मानिसले दैनिक प्रयोग गर्छन् । एआई च्याटबटहरू चर्चित बन्नुअघि इन्टरनेटमा केही खोज्नुपर्यो कि गुगल नै पहिलो विकल्प थियो । गणितीय शब्द ‘गुगोल’ बाट गुगल बनेको हो । गुगोलको अर्थ १ को पछाडि १०० वटा शून्य भन्ने हो । गुगोलको स्पेलिङ झुक्किएर गुगल लेखिएको र ल्यारीले गलत स्पेलिङ नै मीठो सुनिएको भनेपछि यही नाममा डोमेन दर्ता गरिएको स्ट्यान्डफोर्ड विश्वविद्यालयको ब्लगमा लेखिएको छ ।
ल्यारी पेज सन् २००४ देखि निरन्तर विश्वका अर्बपतिहरूको सूचीमा रहँदै आएका छन् । सन् २००४ मा गुगलको सेयर सर्वसाधारणका लागि खुला गरेपछि उनी ३१ वर्षको उमेरमै अर्बपति बनेका थिए । सन् २०२६ सम्म आइपुग्दा उनको सम्पत्ति ३ सय अर्ब डलर पुगेको छ । फोर्ब्स र ब्लुमबर्ग दुवैको अर्बपति सूचकांकमा हाल विश्वका दोस्रो धनी व्यक्तिका रूपमा उनी छन् । सर्वाधिक धनीको यो सूचीमा उनी हरेक वर्ष १० भित्रै पर्छन् । यति धेरै धनी भए पनि उनी खासै विलासी जीवन बाँच्दैनन् । गुगलमा काम गर्दा ल्यारी र सर्गे दुवैले वर्षको १ डलर तलब लिने गरेको प्रसंग प्रविधि क्षेत्रमा सधैं रोचक मानिन्छ ।
सन् १९७३ मा अमेरिकाको मिसिगनमा ल्यारी पेजको जन्म भएको थियो । उनका बुबा कार्ल भिक्टर पेज मिसिगन स्टेट युनिभर्सिटीमा कम्प्युटर विज्ञान र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का प्रोफेसर थिए । आमा ग्लोरिया पनि कम्प्युटर प्रोग्रामिङ सिकाउँथिन् । उनको घर जहिले पनि कम्प्युटर र विज्ञानका पत्रिकाहरूले भरिभराउ हुन्थ्यो । आफूले सन् १९७८ मा ६ वर्षकै उमेरमा पहिलो कम्प्युटर उपहार पाएको ल्यारीले आफ्ना अन्तर्वार्ताहरूमा बताएका छन् ।
मिसिगन विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातक गरेपछि उनी विद्यावारिधि गर्न स्ट्यानफोर्ड विश्वविद्यालय भर्ना भए । त्यहाँ उनको भेट सर्गेई ब्रिनसँग भयो । ब्रिन नै पछि गुगलको सहसंस्थापक बने । विश्वविद्यालयमा छँदा ल्यारीले इन्टरनेटमा रहेका सबै लिंक डाउनलोड गरेर तिनको सम्बन्ध केलाउने विचार गरेका थिए । गुगल सर्चकै प्रारम्भिक संस्करण मानिने त्यस परियोजनालाई उनले ‘ब्याकरब सर्च’ नाम दिएका थिए । त्यसलाई पछि गुगल नामकरण गरिएको हो । उनले गुगल जाइटगाइस्टमा भनेका छन्, ‘तपाईं अति महत्त्वाकांक्षी हुनुहुन्छ भने काम गर्न सजिलो हुन्छ । किनभने असम्भव मानिने कुरामा काम गर्न थोरै मात्र प्रतिस्पर्धी हुन्छन् ।’
ल्यारीको काम गर्ने शैली निकै कडा मानिन्छ । सुरुका दिनमा उनी म्यानेजरहरूले इन्जिनियरलाई आदेश दिएको पटक्कै मन पराउँदैनथे । सन् २००१ मा उनले एकै दिन गुगलका सबै प्रोजेक्ट म्यानेजरलाई जागिरबाट बर्खास्त गरेका थिए । उनलाई लागेछ– राम्रा इन्जिनियरहरूलाई काम गर्न कसैको निर्देशन चाहिँदैन । यद्यपि पछि उनले म्यानेजमेन्टको महत्त्व बुझेको र गुगललाई व्यावसायिक बनाउन एरिक स्मिटलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा भित्र्याएको प्रसंगबारे बिजिनेस इनसाइडरले सन् २०१४ अप्रिलमा ‘दी अनटोल्ड स्टोरी अफ ल्यारी पेज...’ शीर्षक समाचारमा विस्तृत विश्लेषण गरेको छ ।
सन् २०२६ सम्म ल्यारीको सम्पत्ति ३ सय अर्ब डलर छ, फोर्ब्स र ब्लुमबर्ग दुवैको अर्बपति सूचकांकमा उनी विश्वका दोस्रो धनी व्यक्तिका रूपमा छन्ल्यारीले सन् २०१५ मा गुगललाई पुनःसंरचना गरी ‘अल्फाबेट’ नामक छाता कम्पनी बनाए । अल्फाबेटभित्र अहिले गुगल सर्च, युट्युब, गुगल क्लाउड, डिपमाइन्ड, गुगल पिक्सेल, मुनसट फ्याक्ट्रीजस्ता दर्जनौं इकाइ र सेवा छन् । ‘हाम्रो लक्ष्य प्रविधिलाई मानिसले दिनमा दुई पटक प्रयोग गर्ने टुथब्रस जस्तै उपयोगी बनाउनु हो,’ ल्यारी भन्छन् । उनले एन्ड्रोइड, युट्युब र गुगल म्याप्सजस्ता सेवालाई सफल बनाए । ल्यारीले सन् २००५ मा एन्ड्रोइड किनेका थिए । आज यो विश्वको सबैभन्दा लोकप्रिय मोबाइल सफ्टवेयर हो ।
स्वभावले ल्यारी अन्तर्मुखी र शान्त मानिन्छन् । उनी धेरै सार्वजनिक कार्यक्रम र मिडियामा देखिन रुचाउँदैनन् । पछिल्लो एक दशकदेखि उनले कसैलाई कुनै अन्तर्वार्ता दिएका छैनन् । उनीबारे रोचक तथ्य खोजी गर्न उनकै गुगल च्याटबट, जेमिनाई प्रयोग गर्दा त्यसले भन्यो, ‘ल्यारीको आवाज अलि धोद्रो र मेसिनको जस्तो सुनिन्छ । यो उनलाई भएको भोकल कर्ड प्यारालाइसिस र हासिमोटो थाइरोइडाइटिस जस्ता स्वास्थ्य समस्याका कारण हो ।’ आफ्नो स्वर तन्तुको उपचारका लागि उनले लाखौं डलर अनुसन्धानमा दान गरेका रहेछन् ।
ल्यारीले सन् २००७ मा लुसी साउथवर्थसँग विवाह गरेका थिए । उनका दुई सन्तान छन् । उनले आफ्ना बुबा कार्ल भिक्टर पेजको नाममा एउटा प्रतिष्ठान खोलेका छन् । त्यसले जलवायु परिवर्तन र भोकमरी जस्ता समस्या समाधानसँगै पश्चिम अफ्रिकामा इबोला महामारीविरुद्ध लड्न अर्बौं डलर खर्च गरेको अमेरिकन एकेडेमी अफ अचिभमेन्टको वेबसाइटमा उल्लेख छ । सन् २०११ मा अल्फाबेटको प्रमुखबाट राजीनामा दिएयता उनी गुमनाम जीवन बिताउँछन् । तर अल्फाबेटको बोर्ड सदस्य र प्रमुख सेयरधनी हुन् । उनी र सर्गेई ब्रिन दुवैसँग कम्पनीको ५१ प्रतिशतभन्दा धेरै भोटिङ अधिकार छ ।
ल्यारीले हावामा उड्ने कार र चालकबिना चल्ने साना विमान बनाउने विभिन्न गोप्य स्टार्टअपहरूलाई आर्थिक सहयोग गर्ने गरेको कतिपय समाचारमा आउने गरेको छ । मानिसको उमेर बढाउने वा बुढ्यौली रोक्ने अत्याधुनिक बायोटेक क्षेत्रमा उनको लगानी रहेको बताइन्छ । उनी फिजी, न्युजिल्यान्डतिरका टापुहरूमा बस्ने गरेको भनिए पनि पछिल्लो समय फ्लोरिडामा बहुमूल्य पेन्टहाउस खरिद गरेका विवरण सार्वजनिक भएका छन् ।
निकोला टेस्लाको जीवनी पढेर ल्यारीले आफ्नो व्यावसायिक यात्रा सुरु गरेका थिए । आज उनले विश्वलाई प्रविधिको उज्यालो बाँडिरहेका छन् । उनीजस्ता मानिसकै कारण आज हाम्रो हात–हातमा इन्टरनेट र विश्वको सम्पूर्ण जानकारी छ ।
