पाँच दिनमै इलन मस्कले गुमाए ३५० अर्ब डलर, तर अझै विश्वकै सबैभन्दा धनी

विश्वका अधिकांश अर्बपतिले जीवनभर कमाउन नसक्ने सम्पत्ति इलन मस्कले केही दिनमै गुमाएका छन् ।

असार १०, २०८३

एजेन्सी

Elon Musk lost $350 billion in five days, but is still the richest man in the world

What you should know

काठमाडौँ — स्पेसएक्सको सेयर मूल्य तीव्र रूपमा घटेपछि इलन मस्कको व्यक्तिगत सम्पत्ति झन्डै ३५० अर्ब अमेरिकी डलर (नेपाली मूल्य अनुसार करिब ५३१ खर्ब रुपैयाँ)ले घटेको प्रमुख अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । स्पेसएक्सको बजार मूल्यबाट करिब १० खर्ब अमेरिकी डलर घटेको छ । कम्पनीको शेयर मूल्य आईपीओ जारी गरिएको १५० अमेरिकी डलरभन्दा तल झर्दा यसको प्रत्यक्ष असर मस्कको सम्पत्तिमा परेको हो ।

ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सअनुसार मंगलबार बजार बन्द हुँदासम्म मस्कको सम्पत्ति करिब ९५७ अर्ब डलर (नेपाली मूल्य अनुसार करिब १ हजार ४५२ खर्ब रूपैयाँ) मा झरेको छ । यससँगै केही दिनअघि प्राप्त गरेको ‘ट्रिलिनियर’ अर्थात दस खर्ब डलरभन्दा बढी सम्पत्ति भएको व्यक्तिको हैसियत उनले गुमाएका छन् । यद्यपि, फोर्ब्सले भने उनको सम्पत्ति अझै दस खर्ब डलरभन्दा माथि नै रहेको अनुमान गरेको छ । 

मस्कले केही दिनको कारोबारमा गुमाएको ३५० अर्ब डलर विश्वका दोस्रो धनी व्यक्ति ल्यारी पेजको कुल सम्पत्तिभन्दा पनि बढी हो । केही दिनअघि स्पेसएक्सको ऐतिहासिक आईपीओपछि मस्कको सम्पत्ति १.३ देखि १.४ खर्ब डलर अर्थात नेपाली मूल्य अनुसार १९ सय खर्बदेखि २१ सय खर्ब रुपैयाँभन्दा माथि पुगेको अनुमान गरिएको थियो । त्यसबेला उनी दोस्रो धनी व्यक्तिभन्दा दस खर्ब डलरभन्दा बढीले अगाडि थिए भने विश्वका १७० भन्दा बढी देशको कूल गार्हस्थ्य उत्पादनभन्दा ठूलो उनको व्यक्तिगत कूल सम्पत्ती थियो । अहिलेकै अवस्थामा पनि मस्कको कूल सम्पत्ति विश्वका लगभग १६५ देशको कूल गार्हस्थ्य उत्पादनभन्दा माथि रहेको बताइन्छ ।

मस्कको सम्पत्तिको मुख्य स्रोत स्पेसएक्स हो । टेस्ला, एक्सएआई, न्युरालिंक, द बोरिङ कम्पनी र सामाजिक सञ्जाल एक्समा रहेको स्वामित्वले पनि उनको सम्पत्तिमा योगदान पुर्‍याएका छन् । सन् १९८९ मा १७ वर्षको उमेरमा अनिवार्य सैन्य सेवाको प्रावधान छल्न क्यानडा छिरेका मस्क सन् १९९२ मा पहिलोपटक पेन्सलभेनिया विश्वविद्यालयमा पढ्न अमेरिका पुगेका थिए । सन् १९९५ मा स्टान्फोर्ड विश्वविद्यालयमा विद्यावारिधी प्रयास गरे पनि बीचमै छोडेका थिए । उनी लगभग ३० वर्षको अवधिमै विश्वकै धनाढ्य बन्न सकेका हुन् ।

सन् १९९९ मा जिप टु नामक कम्पनीबाट मस्कले पहिलो व्यावसायिक सफलता हासिल गरेका थिए । सन् २००२ मा पेपाल बिक्री गरेपछि उनी द्रुत गतिमा धनाढ्यको सूचिमा उकालो लागेका थिए । सन् २०१२ मा पहिलोपटक फोर्ब्सको अर्बपतिहरूको सूचिमा अटाएका उनी सन् २०२१ यता निरन्तर विश्वकै धनाढ्य रहँदै आएका छन् । गत साता स्पेसएक्सको आईपीओका कारण आकासिएको उनको व्यक्तिगत सम्पत्ति त्यो बेला विश्वका दोस्रो, तेस्रो, चौथो र पाँचौँ धनाढ्यको कूल सम्पत्ति जोड्दाभन्दा पनि बढी पुगेको थियो ।

ब्लुमबर्ग विश्लेषकहरूका अनुसार स्पेसएक्सको अधिक मूल्यांकन, प्रविधि कम्पनीका सेयरमा देखिएको बिक्री दबाब तथा उच्च वृद्धिदरका अपेक्षाप्रति बढ्दो शंकाले गर्दा कम्पनीको सेयरमा गिरावट आएको हो । तर  यो गिरावटपछि पनि मस्कको सम्पत्ति विश्वका अधिकांश अर्बपतिहरूको पहुँचभन्दा निकै टाढा रहेको छ ।

एजेन्सी

Link copied successfully