पेन्टागनले इरानमाथि मिसाइल आक्रमण गर्न ग्रोक एआईबाट लक्ष्य पहिचान गरेको तथ्य सार्वजनिक भएको छ ।
What you should know
काठमाडौँ — विश्वका विभिन्न स्थानमा भइरहेका युद्धमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग हुन थालेको छ । हालै मात्र अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानसँगको युद्धमा मिसाइल प्रहार गर्न ग्रोक एआई प्रयोग गरेको खुलासा गरेको छ ।
अमेरिका र इजरायलले इरानमाथि गरेको संयुक्त सैन्य कारबाहीका क्रममा दुई हजारभन्दा बढी लक्ष्य पहिचान तथा विश्लेषण प्रक्रियामा ट्रम्पका विशेष मित्रसमेत रहेका विश्वकै धनाढ्य इलन मस्कको एआई प्लाटफर्म ‘ग्रोक’ प्रयोग गरेको तथ्य सार्वजनिक भएको छ ।
अमेरिकी सैन्य स्रोतलाइ उदृ्त गर्दै द इन्डिपेन्डेन्टले जनाएअनुसार पेन्टागनको ‘माभेन स्मार्ट सिस्टम’ मा ग्रोकलाई समावेश गरिएको थियो । उक्त प्रणालीले निगरानी, गुप्तचर सूचना र युद्ध क्षेत्रबाट प्राप्त ठूलो परिमाणको तथ्यांक विश्लेषण गरी सम्भावित लक्ष्यहरूको सूची तयार गर्न सहयोग गरेको थियो । हालसम्मका एआई प्रयोगमा अन्तिम निर्णय भने मानव सैन्य अधिकारीहरूले नै लिएको पेन्टागनको दाबी छ ।
अमेरिकी सरकारले निजी क्षेत्रका एआई कम्पनीहरूसँगको सहकार्य तीव्र बनाउँदै अर्बौं अमेरिकी डलर रक्षासम्बन्धी एआई प्रविधिमा खर्चिने घोषणा गरिसकेको छ । मस्कको कम्पनी एक्सएआईले केही महिनाअघि ‘ग्रोक फर गभर्मेन्ट’ नामक सेवा सार्वजनिक गरेको थियो । त्यसलाई रक्षा, सुरक्षा र संघीय निकायका लागि तयार गरिएको बताइएको छ ।
अमेरिकी सञ्चार माध्यमहरूका अनुसार एक्सएआई अहिले अमेरिकी र अन्य देशको रक्षा क्षेत्रका सम्भावित करोडौँ अमेरिकी डलर बराबरका सम्झौताका लागि प्रतिस्पर्धामा छ । सक्रिय युद्धका क्रममा सैन्य गतिविधिमै ग्रोकको प्रयोगबारे सार्वजनिक रूपमा जानकारी आएको यो पहिलो प्रमुख घटना मानिएको छ ।
सैन्य क्षेत्रमा एआईको प्रयोग भने ग्रोकमा मात्रै सिमित छैन । यसअघि अमेरिकी सेनाले भेनेजुएलाका तत्कालीन राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नीलाई पक्राउ गर्न चलाएको विशेष सैन्य कारबाहीमा एन्थ्रोपिकको क्लड प्रयोग गरेको स्वीकारिसकेको छ ।
यस्तै माइक्रोसफ्ट, ओपनएआई, गुगल तथा अन्य प्रमुख ८ भन्दा बढी एआई कम्पनीहरूले पनि अमेरिकी सुरक्षा निकायहरूसँग सहकार्य गर्न सम्झौता गरिसकेका छन् । यस वर्ष पेन्टागनले एआई क्षमता विस्तारका लागि ओपनएआई, गुगल, एनभिडिया लगायत विभिन्न कम्पनीलाई प्रतिवटा २० करोड डलरसम्मका सम्भावित सम्झौता उपलब्ध गराउने योजना सार्वजनिक गरेको थियो ।
‘अमेरिकी सेनाले एआईलाई घातक आक्रमणको अन्तिम निर्णय लिन भने दिएको छैन,’ अमेरिकी युद्धमन्त्री पिट हेगसेथले अप्रिल ३० मा संसदीय सुनुवाइका क्रममा भनेका थिए, ‘अन्तिम निर्णय मानव कमान्डरकै हातमा रहन्छ ।’ उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)ले संस्थागत रूपमै र यसअन्तर्गतका देशहरूले आफ्नै हिसाबले प्यालेन्टियरजस्ता एआई कम्पनीलाई सैन्य कार्यमा लगाउने तयारी शुरू गरिसकेका छन् ।
चीन, युक्रेन, इजरायल, रूसले पनि घोषित रूपमै सैन्य गतिविधिका विभिन्न भागमा एआईको प्रयोग बढाउने रणनीति अघि सारिसकेका छन् ।
