कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

इलाम-२ मा निर्वाचन सुरु, मतदाताको उत्साहजनक उपस्थिति

इलाम — पूर्व सभामुख तथा संविधानसभा अध्यक्ष सुवास चन्द्र नेम्वाङको गत भदौ २७ मा निधन भएपछि रिक्त रहेको प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ मा शनिबार बिहान ७ बजेदेखि मतदान सुरु भएको छ ।

इलाम-२ मा निर्वाचन सुरु, मतदाताको उत्साहजनक उपस्थिति

उपनिर्वाचनमा १२ वटा राजनीतिक दल र सात स्वतन्त्रसहित १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । २०७९ मंसिर ४ को निर्वाचनमा नेम्वाङले कांग्रेसका डम्बर खड्कालाई १ सय १४ मतको झिनो अन्तरले हराएका थिए । पहिलो पटक निर्वाचन भएको करिब १८ महिना ११ दिनपछि हुन लागेको उपनिर्वाचनलाई महत्त्वका साथ हेरिएको छ । एमाले, कांग्रेस जस्ता ठूला र अनुभवी दलसँगै राष्ट्रिय स्वतन्त्र जस्ता भर्खरै जन्मिएको दलका उम्मेदवार पनि प्रतिस्पर्धामा छन् ।

यो क्षेत्रमा पहिचानवादी मुद्दा पेचिलो छ । पहिचानवादी पक्षका उम्मेदवार समेतको प्रतिस्पर्धाले चुनाव थप रोचक बनेको छ । इलामको उपनिर्वाचनलाई नेपाली राजनीतिका शीर्ष नेतृत्वले समेत प्रत्यक्ष चासो दिएका छन् ।

प्रमुख निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले इलाम २ का १ सय ४९ मतदान केन्द्रमा एकैपटक मतदान सुरु भएको जानकारी दिए । घिमिरेले भने,‘मतदाताको उत्साहजनक उपस्थिति देखिएको छ ।’

घिमिरेका अनुसार मतदान केन्द्रमा सियोदेखि सलाईसम्म ४२ प्रकारका सामग्री प्रयोग गरिएको छ ।

इलाम २ मा इलाम नगरपालिकाको वडा १० बाहेक सबै वडा, माई नगरपालिकाका ६, ७ र ८ वडा, देउमाई नगरपालिका, चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिकाका सबै वडा गरी ६ वटा पालिकाका ४२ वटा वडा पर्छन् ।

जिल्ला निर्वाचन कार्यालय इलामका अनुसार इलाम नगरपालिकामा (वडा नम्वर १० बाहेक) सबैभन्दा बढी ३४ हजार ४५, देउमाई नगरपालिकामा २६ हजार ३ सय ६५ र माई नगरपालिकाका ६, ७ र ८ वडामा ८ हजार ९६ मतदाता छन् । त्यस्तै चुलाचुली गाउँपालिकामा १८ हजार ५ सय ४५, माङसेबुङ गाउँपालिकामा १२ हजार ५ सय ३६, फाकफोकथुम गाउँपालिकामा १६ हजार ३ सय २ गरी कुल १ लाख १५ हजार ८ सय ८९ मतदाता छन् । ‘कुल मतदातामध्ये पुरुष ५९ हजार १८ जना, महिला ५६ हजार ८६९ जना र अन्य २ जना रहेका छन्,' जिल्ला निर्वाचन अधिकारी देवीचरण फुयालले भने,‘ प्रत्येक पालिकामा पुरुष मतदाताकै बाहुल्यता छ ।’

जिल्ला प्रशासन कार्यालयका अनुसार ७९ मतदानस्थलका एक सय ४९ मतदान केन्द्रमा १ हजार तीन सय ६३ प्रहरी परिचालन गरिएको छ ।

अति संवेदनशील केन्द्रमा निगरानी उच्च

प्रमुख जिल्ला अधिकारी इन्ददेव यादवका अनुसार ३९ सामान्य, २१ संवेदनशील र १९ अति संवेदनशीलको रुपमा राख्दै त्यहाँ निगरानी बढाइएको छ । मूलतः भौगोलिक दुरी, घुसपैठ हुन सक्ने सीमा नाका लगायतका आधारमा १९ केन्द्रलाई अति संवेदनशील सूचीमा राखिएको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए । उनका अनुसार संवेदनशीलता वर्गीकरण अनुसार फाकफोकथुम, माङसेबुङ, चुलाचुलीलगायत पालिकाका मतदान केन्द्रहरु अति संवेदनशील सूचीमा छन् ।

त्यसैले यहाँ एउटा केन्द्रमा १२ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । देउमाइ र माइका केन्द्रहरुलाई संवेदनशील मानिएको । जहाँ प्रति केन्द्र ९ जनाका दरले सुरक्षाकर्मी खटाइएको छ । इलाम नगरपालिका र आसपासका केन्द्रहरुलाई सामान्यको सूचीमा राखिएको छ । जहाँ ८ जनाका दरले सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

सम्भावित गतिविधिको आकलनसहित गृहमन्त्रालयले ‘विशेष निगरानी’ गरिरहेको जनाइएको छ । गृहले झापासँग सीमा जोडिएको दक्षिणी इलामको चुलाचुली र माङसेबुङ क्षेत्रलाई अलि विशेष निगरानी गरिहेको जनाएको छ ।

सवारी आवागमन ठप्प, नाका सिल

चुनावका दिन शनिबार मेची राजमार्गमा चल्ने सवारीसाधनलाई निषेध गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जसका कारण इलामसहित पाँचथर, ताप्लेजुङ र झापामा समेत प्रभाव पर्ने छ ।

निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै शनिबार बिहान ५ देखि साँझ ६ बजेसम्म अनुमति लिएका र अत्यावश्यकबाहेकका सवारीसाधनलाई निषेध गरिएको प्रजिअ इन्द्रदेव यादवले जनाए ।

बृद्ध, असक्त, अपाङ जस्ता मतदाताका लागि भने मतदान अधिकृतबाटको सिफारिसमा सवारी अनुमति दिइने जनाइएको छ ।

यसैबीच शनिबार एक दिन दार्जिलिङसँग जोडिएको पशुपतिनगरको सीमानाका सिल गरिएको छ । दार्जिलिङको लोकसभा निर्वाचनका कारण तीन दिनदेखि जारी सिल भारतले शनिबार बिहानैबाट खोले पनि इलामको चुनावका कारण एक दिन थप नाका सिल हुने प्रशासनले जनाएको छ ।

प्रकाशित : वैशाख १५, २०८१ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?