कोशीमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन सत्ता गठबन्धनको माग

वैशाख २६, २०८१

पर्वत पोर्तेल

The demand of the ruling coalition to start the process of forming a new government in Koshi

विराटनगर — कोशी प्रदेशमा सत्ता गठबन्धनमा रहेका दलहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नयाँ सरकार गठनको प्रक्रिया सुरू गर्न माग गरेका छन् । 

बुधबार प्रदेश प्रमुखलाई भेटेर अहिले प्रदेश सरकार विहीनताको अवस्था सिर्जना भएको दाबी गर्दै उनीहरुले नयाँ सरकार गठनको प्रक्रिया थाल्न आग्रह गरेका हुन्।

संविधानको व्यवस्थाबमोजिम मुख्यमन्त्रीले अल्पमतमा परेको ३० दिनसम्म पनि विश्वासको मत नलिएकाले सरकार विहीनताको अवस्था सिर्जना भएको उनीहरुको दाबी छ । उनीहरुले बुधबारै प्रमुख सभा सचिवालयलाई निवेदन लेख्दै वैशाख ६ र ७ गते बसेको प्रदेशसभाको विशेष अधिवेशनको निर्णयहरु कार्यान्वयनको अवस्थाबारे प्रदेश प्रमुखलाई जानकारी गराउन र कार्यान्वयन भए/नभएकोबारे आफूहरुलाई समेत जानकारी दिन माग गरेका थिए । 

त्यसलगत्तै उनीहरुले प्रदेश प्रमुख पर्शुराम खापुङलाई भेटेर नयाँ सरकार गठनका लागि प्रक्रिया थाल्न माग गरेका हुन् । 

पत्र बुझ्दै प्रदेश प्रमुख खापुङले आफू संविधान, ऐन र कानुन अनुसार अघि बढ्ने बताए । एमाले र माओवादीले चैत २६ गते मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएका थिए । 

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully